प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय संसदमा नेपाललाई झस्काउने नक्सा

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको पाइएको छ । यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो ।

अहिले आधुनिक संसद् भवन बनाएको भारतले अखण्ड भारतको नक्सामा सिद्धार्थ गौतम (बुद्ध) जन्मे, हुर्केको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतको नक्सामा समावेश गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको छ ।

यसलाई लिएर परराष्ट्र मन्त्रालयका अधिकारी नै आश्चर्यमा परेका छन् । अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि प्रतिक्रिया दिने परराष्ट्र अधिकारीको तयारी छ । 

अखण्ड भारत नक्सामा पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ । भारतका केन्द्रीय संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले अखण्ड भारतको संकल्प स्पष्ट रहेको उल्लेख गरेका छन् ।

भाजपा लोकसभा सांसद मनोज कोटकले नयाँ संसद्मा अखण्ड भारतको नक्साले शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमले भने प्राचीन समयका महत्वपूर्ण साम्राज्यका सहर देखाइएको अखण्ड भारत विभाजन पहिलेको नक्सा भएको उल्लेख गरेका छन् । 

See More On

सुझावित समाचार