
संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सुरु भएको छ । आज बसेको संघीय संसद्को संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदामाथिको छलफल सुरु भएको हो ।
संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो ।
नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ जना सदस्य रहेका थिए । त्यस्तै, जेठ ५ गतेको राष्ट्रिय सभाको बैठकले तीनजना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।
संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।