१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०८० जेठ १४ आइतबार ०६:२४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री बुधबार भारत भ्रमणमा जाँदै, बिहीबार मोदीसँग वार्ता

Read Time : > 3 मिनेट
२०८० जेठ १४ आइतबार ०६:२४:००

ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्ग लगायतका एजेन्डा 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि (१७ देखि २० जेठ सम्म) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार एकैपटक प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तालिका सार्वजनिक गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा जान लागेका हुन् । १० पुसमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । तर, द्विपक्षीय औपचारिक भ्रमण भने तेस्रो हो । भ्रमणले नेपाल र भारतबीचको सदिऔँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा छ ।

भारतीय विदेश मन्त्रालयले पछिल्ला वर्षयता दुई देशबीच सहकार्यमा उल्लेखनीय प्रगति भएको भन्दै यो भ्रमणले सहकार्य थप सुदृढ हुने बताएको छ । ‘दुई देशबीच द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको छ । यो भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महŒवलाई थप जोड दिनेछ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीसँग नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका विषयमा विस्तृत छलफल हुने जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत मन्त्री एवं परराष्ट्र, ऊर्जा, उद्योगसचिवसहितको प्रतिनिधिमण्डल दिल्ली जानेछ । 

प्रधानमन्त्री प्रचण्डले बिहीबार (१८ जेठ) भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । ‘प्रधानमन्त्रीले सुरुमा प्रतिनिधिमण्डलस्तरीय, त्यसपछि सानो समूहमा छलफल गर्ने र त्यसपछि दुवै प्रधानमन्त्रीबीच एकान्त वार्ता गर्ने गरी तयारी भएको छ,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । 

वार्तामा यसपटक ऊर्जा, व्यापार, नेपाल–भारत नयाँ हवाई रुट, सीमापार रेलमार्गलगायतका विषयले प्रमुखता पाउने गरी तयारी भइरहेको छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

प्रधानमन्त्रीले मध्य प्रदेशको उज्जैन तथा इन्दोरको भ्रमण गर्ने कार्यक्रम छ । उज्जैन भारतको धार्मिक पर्यटन र स्वच्छताको अनुपम उदाहरण हो । उज्जैनमा भारत सरकारले महाकालेश्वर मन्दिरको नयाँ करिडोर निर्माण गरेको छ । धार्मिक पर्यटनमा उज्जैनले गरेको विकासको प्रधानमन्त्री प्रचण्डले अवलोकन गर्ने कार्यक्रम छ । 

एक दशकमा नेपाल–भारत भ्रमण तालिका 
दश वर्षको बीचमा भारतीय प्रधानमन्त्री मोदीले तीनपटक नेपालको राजकीय भ्रमण गरेका छन् भने दुईपटक उनी बहुपक्षीय सम्मेलन (एकपटक सार्क शिखर सम्मेलन र अर्कोपटक बिमस्टेक शिखर सम्मेलन)मा सहभागी हुन काठमाडौं आएका थिए । 

एक दशकयता प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दुई–दुईपटक भारतको औपचारिक÷राजकीय भ्रमण गरेका छन् । प्रचण्डले पनि दुईपटक भारत भ्रमण गरेका छन्, तर औपचारिक भ्रमण एकपटक र एकपटक बिमस्टेक–ब्रिक्स नेताहरूको आउटरिच सम्मेलनमा गोआ भ्रमण गरेका छन् । 

भारतबाट मोदीले २०१४ अगस्ट ३ र ४, २०१८ मे ११–१२ र २०२२ मे १६ मा नेपालको औपचारिक÷राजकीय भ्रमण गरे । मोदी २०१४ नोभेम्बर २६–२७ मा सार्क शिखर सम्मेलन तथा २०१८ अगस्ट ३०–३१ मा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । भ्रमणहरूकै बीचमा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा तीर्थयात्रा गरिसकेका छन् । नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला मोदीको शपथग्रहणमा गएका थिए ।

ओलीले २०१६ फेब्रुअरी १९–२२ र २०१८ अप्रिल ६–८ मा भारतको राजकीय भ्रमण गरेका थिए । देउवाले २०१७ अगस्ट २३–२७ तथा २०२२ अप्रिल १–३ मा भारतको औपचारिक÷राजकीय भ्रमण गरेका थिए । प्रचण्डले २०१६ सेप्टेम्बर १५–१८ मा भारतको राजकीय भ्रमण तथा २०१८ अगस्ट ३०–३१ मा बिमस्टेक ब्रिक्स आउटरिच सम्मेलनमा गोआ भ्रमण गरेका थिए ।

दश वर्षयता भारतीय राष्ट्रपतिको तहमा एउटा र नेपालको राष्ट्रपतिको तहमा दुईवटा औपचारिक भ्रमण भएका छन् । भारतबाट तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गरेका छन् भने नेपालबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादव र विद्यादेवी भण्डारीले भारत भ्रमण गरेका छन् । 

प्रधानमन्त्रीले दिए भ्रमणका एजेन्डाबारे संसद्लाई जानकारी
प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणका एजेन्डाबारे सदनलाई जानकारी गराएका छन् । सांसदको सवालमा जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘१९५० को सन्धि र सिमानाको विषय संवादको माध्यमबाट समाधान गर्ने ढंगले उठ्छ । इपिजीमा छलफल हुन्छ । पञ्चेश्वरबारे सकारात्मक छलफल चलिराखेकाले अगाडि बढाउनेबारे नयाँ समझदारी हुन्छ । एयर रुट लिनेबारे गम्भीर छलफल चलेको र नयाँ रुट पाउने प्रबल सम्भावना छ । ट्रेड ट्रान्जिटबारे समझदारी हुन्छ । मल कारखाना स्थापना गर्नेबारेमा ठोस कुरा हुन्छ ।’ 

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने सरकार प्रस्ट रहेको भन्दै थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य–प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

यसअघिका दुई भ्रमण 
प्रचण्डले पहिलोपटक प्रधानमन्त्रीका रूपमा २०६५ भदौ २९ देखि असोज २ सम्म (२००८ सेप्टेम्बर १४ देखि १८ ) भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसबेला दिल्लीबाहेक उनी बेंग्लोरको भ्रमणमा गएका थिए । पहिलोपटक प्रचण्ड भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा भारत गएका  थिए । 

प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७३ भदौ ३० देखि असोज २ (२०१६ सेप्टेम्बर १५ देखि १८ सम्म भारतको राजकीय भ्रमण गरेका थिए । त्यसवेला उनले हिमाचल प्रदेश र उत्तराखण्डको हरिद्वार भ्रमण गरेका थिए । प्रचण्ड र मोदीबीचको भेटमा द्विपक्षीय संयन्त्रको बैठक नियमित रूपमा राख्न सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको थियो । 

प्रधानमन्त्री प्रचण्ड ०७३ असोज २९ देखि कात्तिक १ सम्म ब्रिक्स तथा बिमस्टेक नेताहरूको आउटरिच सम्मेलनमा सहभागी हुन भारतको गोआ गएका थिए । प्रधानमन्त्रीका रूपमा उनको तेस्रो भ्रमण भए पनि भारतको द्विपक्षीय औपचारिक भ्रमण थिएन । त्यही वेला प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको त्रिपक्षीय अनौपचारिक भेटघाटले चर्चा कमाएको थियो । 

उच्च चिनियाँ नेता आउँदै
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता आगामी साता नेपाल आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टी सिचुआन प्रदेशका सेक्रेटरी वाङ सियाहुई नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आउनेछ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा केही मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राजदूतावास स्रोतले भ्रमणका लागि सम्बद्ध निकायबीच समन्वय भइरहेको र एउटा प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।