मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १३ शनिबार २१:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १३ शनिबार २१:३९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक संकट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ,’ उनले भने, ‘देशका अगाडि जे–जस्ता समस्या र चुनौती छन्, ती समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यक छ ।’ 
प्रधानमन्त्री प्रचण्डले देशका अगाडि विद्यमान समस्या, भ्रष्टाचार र बेथिति, विसंगतिविरुद्धको लडाइँ सबै मिलेर मात्रै जित्न सकिने बताए । 

मुलुकमा देखिएका तमाम बेथितिमा सरकारको ध्यान गएको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयलाई पनि सरकारले गम्भीरताका साथ लिएको बताए । 

‘राजस्वलगायत अन्य क्षेत्रमा देखिएका बेथितिमाथि सरकारको ध्यान छ, कदम–कदम गरेर ती सबै सच्याउनुपर्छ, त्यसका निम्ति सबै राजनीतिक दल र सदनको सहयोगको आवश्यक छ,’ प्रधानमन्त्रीले भने ।

तेस्रो कार्यकाललाई आफूले चुनौती र अवसरका रूपमा लिएको जनाउँदै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तन नै धराशयी हुने छटपटीको अन्त्य गर्न आत्मसमीक्षा गर्न जरुरी रहेको बताए ।

‘आफैँलाई ‘करेक्सन’ नगरी जनतामा पैदा भएको मनस्थितिलाई बदल्न सकिँदैन, मैले आफूलाई ठूलो अग्नि परीक्षामा रहेको महसुस गरेको छु, सम्पूर्ण रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आफूलाई समर्पित गर्ने संकल्प लिएको छु,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले समृद्धिको अभियानको थालनीमा सबैको सहयोग आवश्यक रहेको बताए । अहिले सरकार र जनता एक ठाउँमा जोडिन थालेको आफूलाई अनुभूति भएको उल्लेख गर्दै उनले सरकारले चाल्न थालेका कदम र जनताको भावनामा सम्बन्ध जोडिँदै गएको धारणा राखे ।