मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०६:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तीन क्लब ‘ए’ डिभिजन लिगको उपाधि दौडमा

मनाङसँग शीर्ष स्थानको चर्च ब्वाइज रोकिँदा दोस्रो स्थानको मच्छिन्द्र र जावलाखेल युथसमेत उपाधि दौडमा फर्किएका छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १२ शुक्रबार ०६:२७:००

शीर्ष स्थानको चर्च ब्वाइज क्लब कीर्तिमानी आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । मनाङ र चर्च ब्वाइजबीचको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौड फेरि एकपटक खुला रहेको छ । डबल लिगको २१औँ चरण चलिरहँदा तीन क्लब उपाधि दौडमा छन् ।

च्यासल मैदानमा मनाङले चर्च ब्वाइजलाई रोक्दा दोस्रो स्थानको मच्छिन्द्र र तेस्रो स्थानको जावलाखेल युथको उपाधि जित्ने सम्भावना जीवितै रह्यो । शीर्ष स्थानको चर्च ब्वाइजले तेस्रो स्थानको जावलाखेलसँग चार अंकको अग्रता लिएको छ । समान २१ खेलबाट चर्च ब्वाइजले ३८, मच्छिन्द्रले ३५ र जावलाखेलले ३४ अंक जोडेका छन् । चर्च ब्वाइज र मच्छिन्द्रबीच तीन अंक मात्र फरक छ । चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र शीर्ष स्थानबीच ९ अंकको फरक छ । 

मनाङविरुद्ध चर्च ब्वाइजले जित निकालेको खण्डमा अग्रता बढ्ने थियो । चर्च ब्वाइजले पहिलोपटक माथिल्लो डिभिजनमा उक्लेको वर्षमै उपाधि जित्ने सम्भावना बलियो हुने थियो । चर्च ब्वाइजले आफ्नो स्वाभाविक खेल खेल्न नसक्दा अंक बाँड्यो । मनाङका प्रशिक्षक विष्णु गुरुङले उपाधिको सम्भावना तीन क्लबबीच भएको बताए । ‘अहिलेको अवस्थामा चर्च ब्वाइज, मच्छिन्द्र र जावलाखेल नै लिग उपाधि दाबेदार हुन्,’ सातौँ बराबरीपछि गुरुङले भने । 

मनाङलाई रेलिगेसनको डर
उपाधि दौडमा तीन क्लबको सम्भावना रहँदा रेलिगेसन क्षेत्र पनि निकै पेचिलो बनेको छ । छैटौँ स्थानबाट १४औँ स्थानसम्म रहेका ९ क्लबमाथि रेलिगेसनको डर छ । न्युरोड टिम (एनआरटी)देखि हिमालयन शेर्पा, नेपाल एपिएफ, थ्री स्टार, मनाङ, फ्रेन्ड्स, संकटा र खुमलटार १४औँ स्थानसम्म छन् । मनाङ ११औँ स्थानमा छ । प्रशिक्षक गुरुङ मनाङलाई समेत रेलिगेसन डर भएको मान्छन् । ‘सात खेलयता तीन अंक आएको छैन । रेलिगेसनको पनि समस्या छ ।

हामी रेलिगेसनमा जोनमा छौँ,’ गुरुङले भने, ‘तर, प्रदर्शनअनुसार हामी रेलिगेसनमा पर्दैनौँ ।’ चर्च ब्वाइजले पहिलो लेगमा मनाङलाई ३–० ले हराएको थियो । लगातार ६ खेलमा मनाङ पराजित भएपछि मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिए । यसपछि गुरुङले श्रेष्ठको स्थान लिए । गुरुङ प्राविधिक क्षेत्रमा रहेपछि मनाङले चर्चसँगै एपिएफ, संकटा, जावलाखेल, हिमालयन शेर्पा, नेपाल पुलिस र सातदोबाटोसँग अंक बाँडेको छ । त्यसअघि, आर्मीलाई १–० ले हराएको थियो । 

बालगोपाललाई चोटको चिन्ता
पूर्वक्लब मनाङविरुद्ध खेलेका चर्च ब्वाइजका अञ्जन विष्ट अन्तिम समयमा समस्यामा देखिए । अञ्जन अघिल्लो महिना मात्रै चोटमुक्त भएपछि मैदान फर्किएका थिए । पूर्वक्लबविरुद्ध अञ्जन समस्यामा भए पनि मैदान छाडेनन् । अञ्जन आगामी खेलमा संकटाविरुद्ध उत्रनेमा प्रशिक्षक महर्जन विश्वस्त रहेनन् । ‘संकटाविरुद्ध के हुन्छ, हामी हेर्छौं । फिजियोलाई देखाउँछौँ,’ महर्जनले भने, ‘लगातार खेल्दा धेरै खेलाडी घाइते छन्, खेलाडी घाइते हुँदा समस्या छ ।’ प्रशिक्षक महर्जनले मनाङविरुद्ध अग्रपंक्ति बलियो नहुँदा अंक बाँड्न बाध्य भएको सुनाए । उनले उपाधि सम्भावना अत्यधिक रहेकाले मनोबल उच्च बनाउँदै खेल्ने बताए । 

फ्रेन्ड्सको प्रभावशाली जित
रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्सले सातदोबाटो युथ क्लबमाथि ४–० को प्रभावशाली जित निकालेको छ । फ्रेन्ड्सले सातदोबाटोसँग पहिलो लेगमा बेहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो १–० ले विजयी भएको थियो । जितपछि २३ अंक जोडेको फ्रेन्ड्स रेलिगेसन क्षेत्र छाड्दै १२औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सलाई अझै रेलिगेसनको डर छ । सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा कायम छ । फ्रेन्ड्सलाई जित दिलाउन विदेशी खेलाडी नायक बनेका थिए । टोरिक जेब्रिनले दुई गोल गरे । कप्तान प्रकाश बुढाथोकी र राफिक अमिनुले समान एक गोल गरेका हुन् ।