१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

काभा महिला भलिबल च्यालेन्ज कप : नेपाल समूह ‘ए’ को उपविजेता

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo

घरेलु टोली नेपाल काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको समूह ‘ए’को अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दशरथ रंगशालाको कभर्डहलमा लगातार दुई सेट २५–१२ र २६–२४ ले पछि परेको नेपालले भारतलाई तेस्रो सेट २५–२१ ले हराएको थियो । यस जितसँगै नेपालले कडा प्रतिस्पर्धी भारतविरुद्ध पुनरागमनको संकेत ग¥यो । तर, चौथो सेटमा भारतले २५–२१ ले बाजी मार्दा नेपाल उपविजेता बन्यो । 

सन् २०१९ को १३औँ साग खेलअन्तर्गत भलिबल फाइनलमा नेपाल भारतसँगै ३–२ ले पराजित भएको थियो । सागको स्वर्ण भिडन्तमा नेपालले लगातार दुई सेट हात पारेको थियो । तर, भारतले त्यसपछि लगातार तीन सेटमा नेपाललाई हरायो । 

नेपाली टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको खेल प्रतिस्पर्धात्मक भएको बताइन् । नेपाली टोलीमा ब्लक र डिफेन्स कमजोर भएको कप्तान शाहीले प्रतिक्रिया दिएकी छिन् । ‘भारतविरुद्ध रणनीति सफल र केही गल्ती भए,’ अरुणाले भनिन् । उनले प्रतियोगिताअगाडि बलियो टोलीसँग मैत्रीपूर्ण खेल खेल्न पाउँदा भारतविरुद्ध नतिजा आफ्नो पक्षमा निकाल्न सक्ने जनाइन् । ‘हारबाट हामीले धेरै पक्ष सिक्यौँ । अभ्यासमा यस्तो खेल खेल्न पाएको भए सहज हुन्थ्यो,’ उनले भनिन्, ‘भारतको ब्लक रोक्न नसकेपछि डिफेन्ससमेत गर्न सकेनौँ ।’

 नेपालका प्रशिक्षक जान डी ब्रान्टले भारत बलियो रहँदा पनि खेलाडीले राम्रो खेलेकोमा सन्तुष्टि जनाए । ‘मलाई लाग्छ, यो राम्रो दिन हो । हामीले सुरुवातको सेट बिगार्‍यौँ । पछिल्ला दुई सेटमा राम्रो प्रदर्शन गरेका छौँ,’ बेल्जियम नागरिक जानले भने । 

 सेमिफाइनलमा कजाकिस्तानसँग खेल्ने 
नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’को विजेता कजाकिस्तानविरुद्ध शुक्रबार खेल्नेछ । समूह ‘ए’मा भारतले तीन खेलमै अपराजित रही सर्वाधिक नौ अंकजोड्यो । घरेलु टोली नेपालको ६ अंक छ । किर्गिस्तानको तीन र बंगलादेश अंकविहीन रह्यो । एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० को सोझो सेटमा हराएको थियो । भारतले शुक्रबारै उज्वेकिस्तानसँग सेमिफाइनलमा भिड्नेछ । किर्गिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स भने उपाधि दौडबाट बाहिरिएका छन् । 

 सर्भिस, ब्लक र डिफेन्समा  नेपाल चुक्यो
तीन वर्षअघिको भेटमा समेत भारतको कप्तानी गरेकी निर्मलले नेपालले धेरै सुधार गरेको बताइन् । उनले सर्भिस राम्रो भएको प्रतिक्रिया दिइन् । तेस्रो र चौथो सेटमा नेपालले भारतलाई लगातार दबाबमा राखेको थियो । सुरुवातका दुई सेट गुमाउँदा नेपाल पूर्ण रूपमा दबाबमा रह्यो । प्रशिक्षक ब्रान्टको योजनाअनुसार नेपाली टोली खेल्न सकेन । सर्भिस, ब्लक र डिफेन्समा गल्ती गरिरह्यो । ब्रान्टले निरुता ठगुन्ना र उषा भण्डारीलाई स्पाइकरको जिम्मेवारी दिँदा पुनम चन्दलाई अलराउन्ड भूमिका दिएका थिए । संगम महतो मिड ब्लकमा रहिन् । कप्तान अरुणा सेटर र सलिना श्रेष्ठ लिबेरो रहे । ब्रान्टले साफिया पुनसहित सरस्वती चौधरी, रिमा कुँवर र सेटर प्रगति नाथलाई समेत भारतविरुद्ध प्रयोग गर्दै दबाब सिर्जना गरेका हुन् । 

 भावुक बनिन् कप्तान अरुणा
भारतको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान अरुणा शाही निकै भावुक बनिन् । आफ्नै गल्तीका कारण पनि नेपाल पराजित भएको उनले दाबी गरिन् । प्रशिक्षणका दौरान घाइते भएपछि ओपन स्पाइकर प्रतिभा मालीले प्रतियोगिता गुमाइन् । प्रतिभाको कमी कत्तिको भयो ? भन्ने प्रश्न आएपछि कप्तान अरुणाले आफूलाई नियन्त्रणमा राख्न सकिनन् । उनले केही बोल्न खोजिन्, तर आफूलाई नियन्त्रणमा राख्न नसकेपछि उठेर हिँडेकी थिइन् । ‘स्पाइकमा पनि खेल्न सकेनौँ । मैले पनि खेल्न सकिनँ । घाइते हुँदा सरस्वतीमा समस्या भयो,’ भावुक हुँदै उनले बताइन् । यसअघि सन् २०१९ र २०२१ को सेन्ट्रल जोन उपाधि र १३औँ सागमा रजत पदक जित्दा अरुणासहित प्रतिभा टोलीका मुख्य खेलाडी थिए । 

 भारत बलियो टोली हो
जान डी ब्रान्ट, प्रशिक्षक नेपाल

हामीले सुरुमा दुई सेट खेल्न सकेनौँ । बलियो भारतविरुद्ध खेलाडी नर्भस देखिए । दोस्रो र तेस्रो सेट धेरै राम्रो भयो । उनीहरूको ब्लक राम्रो रह्यो भने हामीले त्यसैमा गल्ती गरेका छौँ । दुई महिनाको अभ्यासमा मैत्रीपूर्ण खेल थिएन । यस्तो अवस्थामा खेलाडीले राम्रो खेलेका हुन् । हामीले हार मानेनौँ । भारत राम्रो थियो । बधाई छ ! 

 रणनीतिअनुसार सफल भयौँ 
प्रितम सिंह, प्रशिक्षक भारत

नेपालविरुद्ध हाम्रो ब्लक राम्रो हुँदा सफल भएका छौँ । आफ्नो रणनीतिअनुसार खेल्यौँ । ब्लक राम्रो हुँदा खेल हारिँदैन भन्ने थियो । नेपालका दुई खेल हेरेका थियौँ । त्यसैमा कमजोर थियो । नेपाली टोली धेरै राम्रो भएको छ । सर्भिसमा सुधार छ । तालमेल राम्रो छ । 

ad
ad