१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०८० जेठ १० बुधबार ०६:११:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

केही छैन भन्नु हुँदैन

Read Time : < 1 मिनेट
२०८० जेठ १० बुधबार ०६:११:००

धेरै पहिले एक सन्त आफ्ना शिष्यका साथमा कुनै गाउँमा भिक्षाटन गर्दै थिए । उनीहरू यो घरबाट त्यो घर, त्यो घरबाट यो घर गर्दै घरघर डुलेर भिक्षा मागिरहेका थिए । यसै क्रममा उनीहरू एउटा घरमा पुगे र भिक्षाका लागि याचना गरे । उनीहरूको आवाज सुनेर एक सानी बालिका बाहिर आइन् । बालिकाले सन्तसित भनिन्– माफ गर्नुहोला, हामीसित तपाईंहरूलाई दिनयोग्य केही पनि छैन । 

बालिकाको भनाइ सुनेपछि सन्तले भने– त्यसो नभन छोरी, हामीसित केही पनि छैन भन्नु हुँदैन । ठिकै छ, केही छैन त के भयो ? तिम्रो आँगनमा माटो त छ नि ! हो, त्यही एक मुठी माटो देऊ । बालिकाले तुरुन्तै आँगनको एक मुठी माटो उठाएर भिक्षापात्रमा हालिदिइन् । सन्त उनलाई आशीर्वाद दिएर बिदा भए । बाटामा उनका एक शिष्यले सोधे– गुरुदेव, हजुरले भिक्षामा किन यो माटो स्विकार्नुभयो ? यो त हामीलाई कुनै काम लाग्दैन । 

सन्तले शिष्यतिर हेर्दै भने– हो, तिमीले भनेजस्तै यो माटो हामीलाई कुनै काम लाग्दैन । तर हेर, ती बालिका आज निकै सानी छिन् । उनले आजैदेखि ‘छैन’ भन्न सिकिन् र कसैलाई कुनै कुरा दिनबाट पछि हट्न थालिन् भने उनले भविष्यमा पनि कसैलाई केही दिनेछैनन् । तर, आज हामीलाई यसरी थोरै माटो दान गरेपछि उनमा दानको भावना जाग्नेछ । र, भविष्यमा आफू समर्थ भएपछि पनि अरूलाई सहयोग गर्न, दान दिन पछि हट्नेछैनन् । आजको यस घटनाले उनमा अरूलाई केही न केही सहयोग गर्नुपर्छ भन्ने संस्कारको विकास हुनेछ । किनकि, व्यक्तिले संस्कार सिक्ने सही उमेर बाल्यावस्था नै त हो ।