१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ ९ मंगलबार ०६:०६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बचतकर्ताको डेढ अर्ब फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटनका मेयर फरार

Read Time : > 2 मिनेट
२०८० जेठ ९ मंगलबार ०६:०६:००

बचतकर्ता र सेयर सदस्यको करिब डेढ अर्ब फिर्ता गर्न नसकेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । भाग्न सक्ने आशंकामा अध्यागमन विभागले नेपालीसहित सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी तथा सदस्यद्वय रूपा विक र झगबहादुर शाहीलाई विदेश जान रोक लगाएको छ ।

‘सहकारीले बचतकर्ता र सेयर सदस्यको रकम फिर्ता गर्न नसकेको रहेछ, विदेश भाग्न सक्ने भनेर जिल्ला प्रशासनबाट सोमबार पत्र प्राप्त भएसँगै विदेश जान रोक लगाएका छौँ,’ अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले भने ।

सहकारीका सञ्चालक नै फरार भएपछि बचतकर्ता र सेयर सदस्यले संघर्ष समिति बनाएका रकम फिर्ताका लागि पहल गरिरहेका छन् । ६ सयभन्दा बढी सेयर सदस्य जम्मा भएर बचतकर्ता डिलबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘बचतकर्ता र सेयर सदस्यहरूको गरी सहकारीले करिब डेढ अर्ब फिर्ता गर्नुपर्नेछ । तर, सञ्चालक नै फरार भएपछि हाम्रो विचल्ली भएको छ,’ कार्कीले भने, ‘सहकारीमा सेयर सदस्यभन्दा गैरसेयर सदस्यको कारोबार बढी देखिएको छ । हामीले प्रशासनमा उजुरी दिएका छौँ । हेरौँ के हुन्छ ?’

मेयर नेपालीले सहकारीको रकम घरजग्गामा लगानी गरेका थिए । तर, घरजग्गा व्यवसायमा गिरावट आएपछि रकम फिर्ता गर्न नसकेपछि उनी फरार भएका हुन् । उनले पछिल्ला वर्षमा मात्र पोखरा, बाग्लुङ बजार र ढोरपाटको बुर्तिवाङमा घर किनेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाग्लुङका इन्सपेक्टर योगेन्द्र खड्काका अनुसार मेयर नेपाली ५ जेठदेखि परिवारसहित सम्पर्कविहीन छन्, उनको मोबाइल पनि स्विचअफ छ । सहकारीका अन्य सञ्चालकले पनि मोबाइल अफ गरेका छन् । १ जेठमा बाग्लुङ बजारबाट बुर्तिबाङ हिँडेका नेपाली ५ जेठमा सपरिवार बुर्तिबाङ बजारबाट सम्पर्कविहीन भएका हुन् । 

बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सहकारीले तरलता अभाव रहेको भन्दै गत ६ वैशाखमै कारोबार बन्द गरेको थियो । मेयर नेपालीले १ जेठमा सेयर सदस्य र बचतकर्तालाई बाग्लुङ बजारमा भेला गराएर ‘आफ्नो सम्पत्ति बेचेर भए पनि पैसा फिर्ता गर्ने’ भन्दै ६ महिनाको समय मागेका थिए । तर, आफू सुरक्षित नरहेको र स्वास्थ्यमा पनि समस्या आएको भन्दै उनले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । त्यसपछि बचतकर्ता उजुरीसहित प्रशासन र प्रहरीमा पुगेका थिए ।

सहकारीको पछिल्लो बचत र सम्पत्तिबारे यकिन विवरण खुलेको छैन । तर, आर्थिक वर्ष ०७८/७९ मा सहकारीको कुल सम्पत्ति एक अर्ब १४ करोड ५८ लाख थियो । त्यतिखेर आठ सय २० सेयर सदस्य रहेको र तीन करोड ३३ लाख सेयर पुँजी तथा ९५ करोड २४ लाख बचत संकलन थियो । जसमा ७१ करोड ऋण लगानी थियो ।

तर, सहकारीले पछिल्लोपटक बचतमा १८ प्रतिशत ब्याजको स्किम ल्याएपछि गैरसदस्यले धमाधम बचत गरेका थिए । कतिपयले बैंकबाट निक्षेप झिकेर सहकारीमा जम्मा गरेका थिए । 

बाग्लुङका सहायक सिडिओ चित्रांगत बरालका अनुसार उजुरी गर्नेको तथ्यांक यकिन नभए पनि सहकारीमा झन्डै दुई हजार पाँच सय सेयर सदस्य र बचतकर्ता रहेका थिए । मेयर नेपालीलाई समात्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि प्रहरी संयन्त्र परिचालन गरिएको उनले बताए ।

भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रूपमा प्रतिव्यक्ति पाँच हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौँ रुपैयाँ बचत संकलन गरेको छ । 

०६९ देखि बाग्लुङ सदरमुकाममा सञ्चालनमा आएको सहकारीले पछिल्लोपटक बुर्तिबाङ र पोखराबाट पनि कारोबार गर्दै आएको थियो । सञ्चालक समितिका सदस्य रहेका चित्रबहादुर भण्डारीले भने सोमबार साँझ विज्ञप्ति जारी गर्दै आफू सहकारीमा संलग्न नरहेको दाबी गरेका छन् । तर, बचतकर्ताका अनुसार सञ्चालक समितिको बैठक पुस्तिकामा भण्डारीको नाम छ ।

उपमेयरलाई कार्यवाहक
मेयर नेपाली फरार हुनुअघि उपमेयर धनबहादुर कायतलाई कार्यवाहकको पत्र थमाएका थिए । कायतका अनुसार कार्यवाहक तोकिएको पत्र पनि कार्यकक्षको टेबुलमा भेटिएको हो ।