
कतार फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई गृहनगर रोसारियोमा बन्दुकधारीहरूले धम्की दिएका छन् । मेसी जन्मिएको सहर रोसारियोको एक सुपरमार्केटमा बन्दुकधारीहरूले निसाना बनाएका थिए । उनीहरूले १४ राउन्ड फायरिङ पनि गरे । सुपरमार्केटमा मेसीका ससुराका साथ परिवार रहेको बताइएको छ । बन्दुकधारीले हमलापछि सुपरमार्केटमा मेसीको नाममा धम्की नोट छाडेका थिए । यस विषयलाई रोसारियो पुलिस अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, केही मानवीय क्षति नभएको बताइएको छ ।
तर, स्टोरका धेरै सामानमा नोक्सान पुगेको छ । बन्दुकधारीले मेसीको ससुरालाई सुपरमार्केटमा किन हमला गरे, त्यो भने खुलेको छैन । यद्यपि, धम्की नोट छाडेका छन् । उनीहरूले रोसारियोका मेयर पाब्लो जावकिनले मेसीको ख्याल नगरेको आरोप लगाएका छन् । ‘लियोनल मेसी हामी तिम्रो पर्खाइमा छौँ, जावकिन ड्रग्स डिलर हुन् । उनी तिम्रो हेरचाह गर्दैनन्,’ नोटमा लेखिएको छ । जावकिन अर्जेन्टिनाको तेस्रो सर्वाधिक ठूलो सहर रोसारियोका मेयर हुन् ।
घटनापछि मेयर जावकिनले सहरमा बढेको हिंसाको विषयमा प्रहरी र पत्रकारसँग कुरा गरेका थिए । उनले हमलाको एक दिन पहिला ट्विट गरेका थिए, ‘रोसारियो ब्युनर्स आयर्सबाट तीन सय किलोमिटर पर छ । हामी अपराधीबाट टाढा रहन चाहन्छौँ । अर्जेन्टिनाको हामीले रेखदेख गर्नुछ ।’ यद्यपि, यो घटनाप्रति मेसी र उनकी श्रीमती एन्टोनेला रोकुजोले कुनै प्रतिक्रिया जनाएका छैनन् । मेसी हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् । त्यसअघि स्पेनिस क्लब बार्सिलोनामा थिए ।
मेसीले व्यावसायिक फुटबल घरबाहिर नै खेलेका छन् । केही समयका लागि मात्रै गृहनगर रोसारियो पुग्छन् । विश्वकप जितेपछि भने मेसी लामै समय रोसारियोमा रहे । हाल रोसारियो पुलिसले घटनाको विषयमा सिसिटिभी फुटेज हेरिरहेको छ । यसअघि मेसी र उनको परिवारलाई यस्तो धम्की आएको थिएन । ३५ वर्षीय मेसीले पहिलोपटक फिफा विश्वकप उपाधि जित्दा सात गोल र तीन असिस्ट दिएका थिए ।