१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ४ बिहीबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रणमा लागौँ : टंकमणि शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १o:४७:oo

महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्ति पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए । नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले राज्यका निकायबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको पनि औँल्याए । 

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुपर्छ । सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू उत्तिकै जिम्मेवार हुनुपर्छ । नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ।’

सुशासन बढाउँदै लगे भ्रष्टाचार निवारण हुँदै जाने उनको भनाइ छ । गाउँगाउँसम्म भ्रष्टाचार विस्तार भएको भन्दै उनले नागरिकले निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिए ।

पूर्वमुख्यसचिव लीलामणि पौडेलले भ्रष्टाचारविरुद्धको अभियान नागरिकस्तरबाटै सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले राम्रा कामको पनि प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सबै कर्मचारीलाई एउटै नजरले नहेरौँ, अँध्यारोमा जुनकिरी छन्, त्यसलाई निभ्नबाट बचाऔँ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले शासकहरू त्याग र सेवाका लागि जानुपर्ने भए पनि निहित लाभमा लाग्दा भ्रष्टाचार बढिरहेको बताए ।  

पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले सीमित व्यक्तिले देश चलाएको र तिनीहरूकै कारण सुशासन कायम हुन नसकेको बताए । नेपालमा विदेशी हस्तक्षेप बढ्दा मुलुकमा भ्रष्टाचारलगायतका विकृत्तिहरू बढिरहेको दाबी गरे। 

‘शिक्षानीति विदेशी, अर्थनीति विदेशी, न्यायाधीश नियुक्तिमा विदेशी प्रभाव, कानुनको कुरा आउँदा विदेशी, वित्तको कुरा आउँदा विदेशी यी सबै कुरामा विदेशीको इन्ट्रेसमा आइरहेका छन् अनि कसरी हुन्छ सुशासन ?’ उनले प्रश्न गरे ।