
ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोकको बाह्रबिसेमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । हस्पिटल र हरिमाया बाह्रबिसे फाउन्डेसनको संयुक्त आयोजनमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा बाह्रबिसे नगरपालिकाले सहकार्य गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको सो शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत उपलब्ध गराएको ॐ हस्पिटलले बताएको छ ।
बाह्रबिसेवरपरका स्थानीयलाई विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, छाती तथा श्वासप्रश्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक, कान, घाँटी, स्त्री क्यान्सर परीक्षण, मनोरोग तथा फार्मेसी सेवालगायतका विषयहरूमा ३० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकसहित शिविर सञ्चालन गरेको बताएको छ ।
ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण शिविरमा वरिष्ठ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परीक्षण र परामर्श गर्न सकिने व्यवस्था मिलाइएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य केन्द्रमा तत्काल आवश्यक उपकरणहरू उपलब्ध गराउने र निकट भविष्यमा केन्द्रलाई स्तरोन्नति गरी १० देखि १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको हस्पिटलले जानकारी दियो । शिविरमा चर्म तथा यौनरोगका एक सय एकजना, मनोरोगका ५० जना, इसिजीका ३९ जनासहित अन्य थुप्रै बिरामीले सेवा लिएको हस्पिटलले जनाएको छ ।