
चार्जिङ स्टेसन नहुँदा सबै बस सञ्चालन गर्न समस्या
साझा यातायात सहकारी लिमिटेडले तीनवटा विद्युतीय बसबाट थप सेवा प्रवाह गरेको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले ललितपुरको पाटनढोकादेखि काठमाडौंको जोरपाटीसम्म सञ्चालन हुने उक्त बसको सोमबार उद्घाटन गरेका हुन् ।
साझा यातायातले यसअघि पनि उपत्यकाका विभिन्न रुटमा ठूला बसमार्फत सेवा प्रवाह गरिरहेको छ । हालै सञ्चालनमा ल्याएको विद्युतीय बस पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–जोरपाटी हुँदै दक्षिणढोकासम्म सञ्चालन हुने जनाइएको छ । यी बस फर्किंदा दक्षिणढोका–जोरपाटी–चाबहिल–गौशाला–रातोपुल–घन्टाघर–जमल–माइतीघर हुँदै पाटनढोकासम्म पुग्नेछन् ।
कनकमणि दीक्षित अध्यक्ष, साझा यातायात सहकारी लिमिटेड
ललितपुर महानगरसँगको समन्वयमा नयाँ बस थप गरेका हौँ, यसबाहेक अन्य नगरपालिकामा पनि उनीहरूसँगको सहकार्यमा बस सेवा थप गर्न सकिन्छ । नयाँ बस थप गरेपछि यात्रुहरूलाई पक्कै पनि सहज हुने विश्वास लिएका छौँ ।
बसको स्टप स्टेसन पुल्चोकमा हुनेछ । साझाले यी नयाँ बसमार्फत सेवा दिन सुरु गरेसँगै यात्रुहरूले राहत महसुस गर्ने विश्वास गरेका छन् । सीमित बस र माइक्रोबस मात्रै सञ्चालन भइरहेको रत्नपार्क–ज्ञानेश्वर–जोरपाटी रुटमा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन् । यो रुटमा थप १५ वटा बस सञ्चालन गर्ने योजना रहेको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।
‘हामीले महानगरसँगको समन्वयमा नयाँ बस थप गरेका हौँ, यसबाहेक अन्य नगरपालिकामा पनि उनीहरूसँगको सहकार्यमा बस सेवा थप गर्न सकिन्छ,’ उनले भने, ‘नयाँ बस थप गरेपछि यात्रुहरूलाई ओहोरदोहोरमा सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।’
चार्जिङ स्टेसन स्थापनामा सरकारको बेवास्ता
उनका अनुसार साझाले सबै गरेर ४० वटा बिजुली बस खरिद गरिसकेको छ । तर, चार्जिङ स्टेसन अभावका कारण तीनवटा बस मात्रै सोमबारदेखि सञ्चालन गरिएको हो ।
साझाले सोमबारदेखि सञ्चालनमा ल्याएका तीनवटा बिजुली बससहित ४० वटा बिजुली बस एकै चरणमा खरिद गरेको थियो । यी बसको मूल्य ६१ करोड ८३ लाख ४५ हजार सात सय ३२ रुपैयाँ हो ।
सबै बस एकै चरणमा सञ्चालनमा ल्याउने भनिए पनि चार्जिङ स्टेसन र रुट पर्मिटबारे सरकारले बेवास्ता गर्दा सबै बस एकै चरणमा सञ्चालन गर्न नसकिएको अध्यक्ष दीक्षितले जानकारी दिए । ‘हामीले उपत्यकाका सार्वजनिक यातायातमा सुधार गर्न र सर्वसाधारणलाई सहजता प्रदान गर्न बस खरिद गरिसकेका छौँ, तर तीन चार्ज गर्ने स्टेसन बनेका छैनन्,’ उनले भने ।
यसअघि ०७६ असारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बिजुली बस खरिदका लागि तीन अर्ब रुपैयाँ दिने निर्णय गरेको अध्यक्ष दीक्षितले जानकारी दिए । उनका अनुसार बस चार्जिङका लागि रातभरि चार्जिङ स्टेसनमा राख्नुपर्ने हुन्छ । तर, चार्जिङ स्टेसन भने बनिसकेका छैनन् ।
उपत्यकामा चार्जिङ स्टेसन राख्ने ठाउँ खोजीका लागि यसअघि सम्भाव्यता अध्ययन पनि गरिएको थियो । भक्तपुरको सल्लाघारी, ललितपुरको खुमलटार, पुल्चोक, काठमाडौंको गुर्जुधारालगायत ठाउँमा चार्जिङ स्टेसन बनाउन सकिने अध्ययनले देखाएको छ । तर, ती ठाउँहरूमा चार्जिङ स्टेसन राख्न दिनेबारे सरकार तयार नभएको साझाले जनाएको छ । चार्जिङ स्टेसन बनेपछि सबै बस सञ्चालनमा ल्याउने साझाले जनाएको छ ।