भ्रष्टाचारको आरोप लागेकालाई अमेरिकामा बहिष्कार गरिने

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई अमेरिकामा सार्वजनिक रूपमा बहिष्कार गरिने भएको छ । प्रवासी नेपाली एकता मञ्च नेपालले न्युयोर्कमा पत्रकार सम्मेलन गरी यस्तो अभियानको घोषणा गरेको हो ।

मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको भन्दै अब नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीहरूलाई बहिष्कार गरिनुपर्ने बताएको हो । 

नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गिरेको भन्दै मञ्चले यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी  प्रकरणले  भ्रष्टचार अर्थात् आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन, देशको  स्वाभिमान र शिरसमेत निहुर्याएको छ । निश्चय पनि संस्थागत भ्रष्टाचारलाई अन्त्य गर्न धेरै चुनौतीको सामना गर्नुपर्छ । तैपनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको सुरुवाती पहलप्रति हामी सम्मान  व्यक्त गर्दछौँ ।’ 

मञ्चले भ्रष्टाचारको आरोप लागेका जो–कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागी कार्यक्रम बहिष्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थालाई आग्रहसमेत गरेको छ । त्यस्तै, यो अभियानमा ऐक्यबद्धता जनाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मूर्तरूप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।

सुझावित समाचार