१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २२ शुक्रबार १०:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा मन्त्री शर्माको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २२ शुक्रबार १०:५१:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रिय सूचना आयोगको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सूचना हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनआवश्यक रहेको बताइन् । 

सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु भएको उल्लेख गर्दै उनले जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट उनीहरू सशक्त बन्ने धारणा राखिन् । सशक्त र सचेत जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । 

सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकोमा जोड दिँदै मन्त्री शर्माले सार्वजनिक निकायले सम्पादन गरेका कामबारे प्रश्न उठाउन पाइन्छ भन्ने जानकारीसमेत धेरैमा नभएको बताइन् । कुन निकायबाट के सेवा सुविधा प्राप्त हुन्छन्, कसको जिम्मेवारी के हो भन्नेसमेत जनस्तरमा पर्याप्त जानकारी नहुँदा जनताले सरकारसँग धेरै आशा गर्ने, आशा पूरा नभएमा निराश हुने र सार्वजनिक रूपमा आक्रोश पोख्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यसलाई कम गर्न पनि सूचनाको हकको प्रयोगलाई व्यापक बनाउनु आवश्यक रहेकोमा जोड दिइन् । 

सूचनाको हकसम्बन्धी ऐनले प्रत्याभूत गरेका कानुनी व्यवस्था कार्यान्वयनका लागि सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी दिँदै उनले हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारी र सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको बताइन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले समेत यो अभ्यासलाई अघि बढाएको उल्लेख गर्दै उनले सकेसम्म सबै सरकारी सूचना एउटै माध्यमबाट प्रवाह गर्ने गरी तयारी अघि बढाइएको पनि बताइन् । 

सूचनाको हकको महत्वपूर्ण उद्देश्य पारदर्शिता हो भने पारदर्शिताको उद्देश्य सुशासन भएको औँल्याउँदै मन्त्री शर्माले वर्तमान सरकारको मुख्य जोड सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको पनि स्पष्ट गरिन् ।  जनताले सरकारी निकायमा पुगेर कानुनी रूपमा माग गरेका सूचना मात्र होइन, सडक वा सञ्चारमाध्यमबाट अभिव्यक्त गरेका अवाजलाई समेत सार्वजनिक सूचनाकै रूपमा लिएर सम्बन्धित पक्षसँग संवाद गरी जाजय मागको सुनुवाइ गर्ने कामलाई समेत सरकारले प्राथमिकता दिएको उनले जानकारी दिइन् ।

‘पछिल्ला केही घटनाक्रमलाई हेर्नुभयो भने सडक र सञ्चारमाध्यममार्फत प्राप्त सार्वजनिक सूचनालाई गहिरो रूपमा अध्ययन गरी सरकारले कारबाही प्रक्रिया अघि बढाउने तदारुकता देखाएको छ । यसले सुशासन र सेवा प्रवाहको सरकारी प्राथमिकता कार्यान्वयन गर्न महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भनिन्, ‘सरकारले सोझै प्राप्त गर्न नसक्ने जनताका गुनासा, बेथिति र अनियमितताका सूचनाहरू सञ्चारमाध्यमबाट सार्वजनिक भए भने त्यसलाई आधार मानेर कारवाही अघि बढाउन सरकारलाई सजिलो हुनेछ । लुकेका यस्ता कतिपय सूचना सार्वजनिक गरी सरकारलाई सुशासनतर्फ अघि बढ्न सहयोग गरेकोमा म आम सञ्चारका माध्यमहरूलाई धन्यवाद पनि दिन चाहन्छु ।’ 

सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाहरूले दिने गरेका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री शर्माले सार्वजनिक सूचनाको अद्यावधि र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।  सूचनादाताको सुरक्षाको सवालमा पनि सरकार संवेदनशील उल्लेख गर्दै उनले  जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीहरूलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउन भएको र जनताले चाहेको सूचना सहज रूपमा प्राप्त नगरेमा सम्बिन्धत अधिकारीहरू दण्डित हुने कानुनी व्यवस्थासमेत भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न पनि उनले सबैमा अपिल गरिन् ।