
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले एसिसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन्।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एसिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताएका हुन्।
मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आपूm उत्साहित रहेको बताए।
प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए।
भारतीय मूलका प्रशिक्षकको देसाईको आगामनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ। दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ।
आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धराशयी भएको नेपालको एकदिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो।
यस्तै, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतीक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताए।
फाइनल खेलमा युएईविरुद्ध सम्हालिएर प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्सन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए।