१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लयमा फर्कियो पर्यटन, अप्रिलमै भित्रिए ९९ हजार

वसन्तकालीन सिजनमा ८० देशका एक हजार ७९ आरोही सगरमाथासहित २४ हिमाल चढ्दै  

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२२:oo

यस वर्षको वसन्तकालीन सिजन सुरु भएसँगै कोभिड महामारीले थला परेको पर्यटन करिब कोभिडअघिकै अवस्थामा फर्किएको छ।

अप्रिल २०२३ मा विभिन्न देशबाट ९८ हजार सात सय ७३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या कोभिडअघि अप्रिल २०१९ को तुलनामा ९०.२८ प्रतिशत हुन आउँछ। उक्त महिना एक लाख नौ हजार तीन सय ३९ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ। 

गत वर्षको अप्रिल (सन् २०२२) सँग तुलना गर्दा यस वर्षको सोही महिनामा ३७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । अप्रिल २०२२ मा ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

कोभिड महामारी सुरु भएपछि सन् २०२० पर्यटक आगमन स्वात्तै घटेको थियो । सो वर्षको अप्रिलमा १४ जना मात्र पर्यटक आएको तथ्यांक छ । कोभिड कम हुँदै गएपछि अप्रिल २०२१ मा २२ हजार सात सय ३२ पर्यटक आएका थिए।

कोभिड महामारी कम हुँदै गएपछि २०२२ देखि नै विदेशी पर्यटक आगमन सुधार हुँदै गएको हो। सन् २०२२ मा कुल ६ लाख १४ हजार पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ। 

हिमाल आरोहण र ट्रेकिङ जाने वसन्तकालीन सिजनमा विभिन्न देशबाट आएका पर्यटकले काठमाडौंदेखि हिमालसम्मको पर्यटन क्षेत्र गुल्जार बनेको छ। 

अप्रिलमा कुन देशबाट कति पर्यटक ?

अप्रिल २०२३ मा पनि सबैभन्दा बढी पर्यटक भारतबाट नै आएका छन् । एक महिनामा ३१ हजार चार सय ३७ भारतीय नेपाल भ्रमणमा आएको तथ्यांक छ । अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक आएर दोस्रो बनेको छ। 

बेलायतबाट पाँच हजार चार सय नाै पर्यटक आएका छन् भने चीनबाट चार हजार सात सय ७० पर्यटक आएको बोर्डले जनाएको छ । चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला गरेपछि चिनियाँ पर्यटक आगमन बढ्दो ट्रेन्डमा छ । अघिल्लो महिना मार्चमा करिब दुई हजार ६ सय चिनियाँ नेपाल आएका थिए।

यस्तै, अस्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार दुई सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार ६ सय ६७, बंगलादेशबाट दुई हजार दुई सय १७ र थाइल्यान्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल भ्रमणमा आएका छन्।

आरोहणको सिजन : सगरमाथा आरोही हालसम्मकै धेरै 

यस वर्षको वसन्तकालीन सिजनमा हिमाली पर्यटन पूरै लयमा फर्किएको छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै ६५ देशका चार सय ६६ आरोहीले पर्यटन विभागबाट अनुमति पाएका छन्, यो संख्या सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै उच्च हो।

सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ (९६) अमेरिकी (८७) र भारतीय ४० जना अरोही रहेका छन्। 

खराब मौसम र बाक्लो हिउँ परेको हुनाले अझै सगरमाथा आरोहण सुरु भएकाे छैन । तर, सगरमाथा आरोहणका लागि आएका पर्यटक पहिलो बेसक्याम्पदेखि तेस्रो आधार शिविरसम्म उपयुक्त मौसमको पर्खाइमा बसेका छन्।

यस सिजनमा सगरमाथासहित विभिन्न दुई दर्जन हिमाल आरोहणका लागि ८० देशका एक हजार ७९ पर्यटकले पर्यटन विभागबाट अनुमति पाएका छन् । हिमाल आरोहीहरूको आकर्षणमा सगरमाथापछि लोत्से (८,५१६ मि.) हिमाल परेको छ। यो हिमाल चढ्न १४ टिमबाट एक सय २६ जनाले अनुमति लिएका छन्। 

त्यस्तै, नुप्त्से (७,८५५ मि.) आरोहणका लागि ६३, अन्नपूर्ण फर्स्ट (८,०९१ मि.) आरोहण गर्न ५४, थोरोङ पिक आरोहण गर्न ४२, धौलागिरि (८,१६७ मि.) आरोहण गर्न ३५, आमादब्लम आरोहण गर्न ७४, मकालु फर्स्ट (८,४६३ मि.) आरोहण गर्न ५८, कञ्चनजंघा मेन (८,५८६ मि.) आरोहण गर्न ४२ जनाले अनुमति लिएको विभागले जनाएको छ । यस्तै, मनास्लु (८,१६३ मि.) आरोहण गर्न १५, बरुनत्सेका लागि १८, हिमलुङ हिमालका लागि १६, अरनिको चुलीका लागि नौ, पुमोरीका लागि १२, थापा पिक (धम्पुस) र जाक्र्या पिकका लागि आठ–आठ, खातुङ खाङका लागि सात, रत्नचुलीका लागि ६, पोङ्ग्री गोल्डुम्बा आरोहणका लागि ६ जना आरोहीले अनुमति लिएका छन्।

अनुमति लिएका कुल आरोहीमध्ये एक सय ६३ जना अमेरिकी नागरिक छन् । यस्तै, चीनबाट एक सय १३ जना, अस्ट्रेलियाबाट ३१, अस्ट्रियाबाट १६, ब्राजिलबाट १४, क्यानडाबाट ५१, फ्रान्सबाट ४६, जर्मनीबाट २१, इन्डियाबाट ९०, इरानबाट १२, जापानबाट ५१, मलेसियाबाट १०, मेक्सिकोबाट १६, नेपालबाट ४९, नेदरल्यान्डबाट १२, पोल्यान्डबाट १९, रसियाबाट ५०, दक्षिण कोरियाबाट १६, स्पेनबाट १४, स्विट्जरल्यान्डबाट २१, युक्रेनबाट १३, युकेबाट ६० जना आरोहीले विभिन्न हिमाल आरोहण गर्दै छन्।

ad
ad