१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सुरेन्द्र पाण्डे
२o८१ बैशाख १९ बुधबार o६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

पार्टीभित्रका समस्या पहिचान भएका छन्, उपचार बाँकी छ

Read Time : > 1 मिनेट
सुरेन्द्र पाण्डे
२o८१ बैशाख १९ बुधबार o६:४७:oo

एमालेले चलाएको मिसन ग्रासरुट अभियान लगभग सकिएको छ । मूलतः कार्यकर्ताबाट के–कस्ता सुझाव आएका छन् ? 
हामीले सबै प्रदेशमा अलग्गै टिममार्फत प्रतिवेदन बनाएर तलका सुझाव लिइरहेका छौँ । भद्दा ठूला कमिटीलाई चुस्त बनाउनुपर्ने सुझाव छ । पार्टी कमिटीमा बसेर, पार्टी सदस्य भएर अर्को पार्टीलाई भोट हाल्नेलाई के गर्ने भन्ने समस्या पनि छन् । पार्टी सामूहिक नेतृत्वमा चलेन, एकल नेतृत्वमा चल्यो, तोकुवा कमिटीका कारण समस्या भए भन्ने पनि गुनासा छन् । सामूहिक नेतृत्वको सुझाव आएको छ । प्रदेशहरूबाट कस्ता सुझाव आए छलफल गर्न बाँकी नै छ । अभियानबाट पार्टीभित्रका समस्या पहिचान भएका छन्, तर उपचार बाँकी छ । ग्रासरुटले पार्टीलाई माथिदेखि तलसम्म हल्लाउने काम गर्‍यो । बल्ल तलसम्म पार्टी गतिमा देखिएको छ । 

उपचारचाहिँ कहिले गर्नुहुन्छ ? 
हामीले एउटा जिल्लाका केन्द्रीय सदस्यलाई अर्कै जिल्लामा अभियानमा खटायौँ । सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य त्यहाँ नहुँदा समस्याका विषय खुलेर आएका छन् । नेतासमेत जोडिएको अन्तरविरोधका विषय पनि आएका होलान् । तर, उससमेतको उपस्थितिमा सबै धोइपखाली गर्ने, आलोचना/आत्मालोचनाको विधिबाट समाधान गर्नेजस्ता काम बाँकी नै छन् ।

सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहितको उपस्थितिमा बैठक गर्ने बाँकी नै छ । सबैतिर सदस्यता नवीकरणको अवस्था ५० प्रतिशतकै आसपास हुने र बनेकामध्ये १० प्रतिशतजति फेक सदस्य देखिने अवस्था हुन सक्छ । तर, राम्रो कुरा नयाँ सदस्य पनि अभियानमा थपिएका छन् । उम्मेदवार बन्न नपाइएको, कमिटीमा पदमा बस्न नपाएको गुनासा आएका छन् । समाधान खोज्नकै लागि २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठकमै सबै विषयमा छलफल हुन्छ । जे–जे भएन भन्ने आएको छ, उपचार त गरेपछि नै हुने हो । 

ग्रासरुट अभियानबाट एमालेले के शिक्षा लियो ? 
माथिदेखि तलसम्मको निष्क्रियता हटाएर पार्टीपंक्तिलाई सक्रिय र चलायमान बनाऊँ, समग्र कमजोरी सच्याऊँ, सुधार गरौँ भनेर अभियान चलाएका हौँ । समस्याको पहिचान गरिसक्यौँ, अब त्यसलाई छिटो समाधान खोज्नुपर्छ, उपचार गर्नुपर्छ भन्ने शिक्षा लिएका छौँ । 

ad
ad