
पोखराका पर्यटन व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको रिक्त सदस्यमा पोखरामा प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमध्येबाट नियुक्त गर्न माग गरेका छन्।
पोखरेली पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई अनुरोध-पत्र पठाउँदै सो माग गरेका हुन्।
हाल बोर्डमा दुई सदस्य रिक्त छन्। रिक्त सदस्य नियुक्त गर्दा पोखराको प्रतिनिधित्व हुने गरी पोखरामै प्रत्यक्ष लगानी गरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमध्येबाट नियुक्त गर्न मन्त्रीसँग माग गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।
‘६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा देशकै पर्यटकीय राजधानीको रूपमा घोषणा भइसकेको यस क्षेत्रबाट नेपाल पर्यटन बोर्डको हाल रिक्त रहेको कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमध्येबाट पोखराको प्रतिनिधित्व सुनिश्चितताका लागि आवश्यक पहल तथा निर्णय लिइदिनुहुन विनम्र अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ।
परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार हाल बोर्डमा दुई सदस्य रिक्त छ। त्यसमध्ये एक पोखराले पाउनुपर्छ भन्ने पोखरेली व्यवसायीको माग हो। पोखरामै लगानी गरी बसेका व्यवसायीलाई नियुक्त गर्दा पोखरा र व्यवसायीको समस्यासँगै अन्तर्राष्ट्रिय जगतमा पोखराको प्रबर्द्धनमा समेत सहयोग पुग्ने भएकाले बोर्ड सदस्य माग गरिएको उनले बताए।