१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २३ बुधबार १५:३२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चितवन १ मा कसको पल्ला भारी ?

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २३ बुधबार १५:३२:००

चितवनमा तीनवटा निर्वाचन क्षेत्र छन् । तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि घमासान प्रतिस्पर्धा देखिन्छ । तीनमध्ये क्षेत्र नम्बर १ मा अर्थशास्त्रका दुई ज्ञाता सुरेन्द्र पाण्डे र डा. विश्व पौडेल चुनावी मैदानमा छन्  । 

सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेसका  डा. पौडेल उम्मेदवार छन् । एमालेले पार्टी उपाध्यक्ष पाण्डेलाई पुनः यही क्षेत्रबाट उठाएको छ । पाण्डे तेस्रो जितको खोजीमा छन् । पौडेल भने चुनाव लड्न योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर आएका हुन् ।

प्रतिस्पर्धामा यी दुई मात्र छैनन्, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एमालेका पूर्वविद्यार्थी नेता हरि ढकाल उम्मेदवार छन् । सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. पौडेल दुईपटक सम्म चुनावमा विजयी भएका नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग चुनाव लड्न योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर आएका हुन् । पहिलो संविधानसभामा समानुपातिक सूचीबाट सभासद् बनेका पाण्डे ०७२–७३ मा करिब २० महिना अर्थमन्त्री भएका थिए । त्यसअघि उनी दुई कार्यकाल राष्ट्रिय सभा सदस्य थिए । ०७० मा भएको दोस्रो संविधानसभामा पहिलोपटक निर्वाचन लडेका उनी त्यससँगै ०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि विजयी भए ।

विगतमा एमाले यो क्षेत्रमा बलियो भए पनि पार्टीको फुट तथा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावले उनलाई यसपटक सहज छैन ।  यो क्षेत्रमा पाँच वर्षअघि भएको संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्राणालितर्फ एमालेले सर्वाधिक ३९ हजार नाै सय तीन भोट ल्याएको थियो । 

कांग्रेसले ३० हजार सात सय ५० र माओवादी केन्द्रले आठ हजार ७८ भोट ल्याएका थिए । ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ एमालेले कांग्रेस र माओवादी केन्द्रले पाएकोभन्दा एक हजार बढी भोट पाए पनि यसपटकको स्थानीय तह निर्वाचनको परिणाम फरक आयो । 

चितवन– १ को स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनका वडाध्यक्ष उम्मेदवारले ४६ हजार पाँच सय ७७ भोट ल्याउँदा एमालेका उम्मेदवारले ३९ हजार ६ सय ६ भोट मात्र ल्याए । राप्रपाका वडाध्यक्ष उम्मेदवारले तीन हजार नाै सय १८ भोट ल्याएका थिए । उक्त निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई हेर्दा चितवन क्षेत्र नम्बर १ मा एमालेभन्दा सत्ता गठबन्धन करिब सात हजार मतले अघि देखिन्छ । 

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका तीनवटै स्थानीय तहमा एमाले विजयी भएकोमा यसपटक पालिका प्रमुखमा एमालेका तीनै उम्मेदवार पराजित भएकाले पनि पाण्डेलाई गाह्रो हुने देखिन्छ । 

एमालेको फुटले पनि यहाँको राजनीतिक अंकगणित फेरिएको प्रस्ट  देखिन्छ । यो क्षेत्रमा मतदाता संख्या अहिले एक लाख ३९ हजार आठ सय ४५ छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल छ । जुन एमाले उम्मेदवार पाण्डेको चुनौती र कांग्रेसका उम्मेदवार पौडेलको  अनुकूलता हो ।  

तत्कालीन नेकपाका चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल खनाल यसपटक क्षेत्र नम्बर १ (ख) मा एकीकृत समाजावादीबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार छन् । उनी बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत बनेका छन् ।  

०७० र ०७४ का निर्वाचनमा पाण्डेलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका खनाल यसपालि विपक्षी गठबन्धनको उम्मेदवार बनेकाले पाण्डेलाई भोट तान्न विगतको जस्तो सहज छैन । 

पहिलोपटक चुनाव लड्न लागेका विश्व पौडेलसामु पनि गठबन्धनका सबै पार्टीहरूको मत जोगाउनुपर्ने चुनौती छ । केही समय अघिसम्म वागी उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । 

उनी ०७० र ७४ को निर्वाचनमा कांग्रेसबाट उठेर पाण्डेसँग पराजित भएका थिए । एकीकृत समाजवादीको मत यहाँ दुवै उम्मेदवारका लागि निकै महत्वपूर्ण हुने देखिन्छ । 

यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ । उनी पहिले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा थिए । उनको उम्मेदवारीले पनि एमालेलाई धक्का लाग्ने निश्चित छ ।

पुराना दलबाट आजित भएका जनताको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ भएकाले विगतको निर्वाचनको आधारमा यहाँको निर्वाचन परिणाम अनुमान गर्न कठिन छ । 

चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका किरणभूषण ओली, एमालेबाट जेएन थपलिया, (ख)मा गठबन्धनबाट एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, एमालेबाट प्रकाश खनाल उम्मेदवार छन् । माओवादीका खनाल नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमा नै सक्रिय छन् ।