१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार १६:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी मृत्युको रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको अभद्र व्यवहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १६:o१:oo

सिराहाको गोलबजार नगरपालिका– ४, गोलबजारमा निजीस्तरमा सञ्चालन गरिएको अस्पतालमा शल्यक्रिया गरिएकी सुकरीको मृत्यु भएको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार सुरेशकुमार रायलाई अस्पतालको सुरक्षामा खटिएका प्रहरीले अभद्र व्यवहार गरेका छन् । 

रिपोर्टिङका लागि आइतबार दिउँसो मोटरसाइकल चढेर बर्धमान अस्पताल पुगेपछि नेपाल प्रहरीका प्रहरी निरीक्षक राज यादवले ‘हेलमेट राम्रोसँग लगाउन आउँदैन, सिकाइदिऊँ’ भन्दै गालीगलौजसहित हेलमेट खोसेको रायले सुनाए ।

समाचार संकलन गरिरहेका वेला प्रहरी निरीक्षक यादवले हेलमेटको विषयमा गालीगलौज गर्दै मोटरसाइकलसमेत नियन्त्रणमा लिन खोजेको उनले बताए । उनका अनुसार ‘कसरी लगाउने हेलमेट ?’ भन्ने प्रश्न गर्दा प्रहरी निरीक्षक झन् आक्रोशित हुँदै ‘अझ मुख–मुखै लाग्छस्, बढी बोल्छस्’ भन्दै धम्क्याएका थिए । 

शल्यक्रियामार्फत छोरा जन्माएकी मिर्चैया नगरपालिका– ११, सीतापुरकी करिब ३० वर्षीया रामकाशी यादवलाई बर्धमानबाट थप उपचारका लागि विराटनगर लैजाने क्रममा शनिबार बिहान मृत्यु भएको थियो । उपचारमा लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै परिवारजनले शव पोस्टमार्टम गरेर फर्किएपछि आइतबार दिउँसो पुनः अस्पतालअगाडि राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । 

दोषी प्रहरीलाई कारबाहीको माग
रिपोर्टिङ गर्न पुगेका पत्रकार रायलाई हेलमेटको विषयमा धम्क्याउने प्रहरी निरीक्षकलाई पत्रकारसम्बद्ध संघसंस्थाहरूले कारबाहीको माग गर्दै भयरहित र सुरक्षित ढंगले पत्रकारिता गर्न पाउने वातावरण बनाउन माग गरेका छन् । 

प्रेस सेन्टर नेपाल सिराहाका अध्यक्ष रामभरोसी यादवले प्रेस विज्ञप्तिमार्फत समाचार संकलनका लागि पुगेका पत्रकार रायमाथि गरिएको दुर्व्यवहारको निन्दा गर्दै निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा पत्रकारहरूको पेसागत सुरक्षाका लागि प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति नदोहोर्‍याउन माग गरिएको छ । 

त्यस्तै, प्रेस चौतारी नेपाल सिराहाका अध्यक्ष शिवकुमार साहले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषी प्रहरी निरीक्षकमाथि कारबाहीको माग गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूतिसहित भविष्यमा यस्ता खालका घटना नदोहोरिने सुनिश्चितताको माग गरेका छन् । 

सेटिङमा ल्याइन्छ बिरामी
तुलनात्मक रूपले भौतिक पूर्वाधार, जनशक्ति रहेका सरकारी अस्पतालबाट रेफर गराएर ल्याइएका बिरामीलाई ‘अवस्था जटिल हुन सक्छ’ भन्दै त्रास देखाएर उपचार गरे पनि अवस्था गम्भीर हुँदै जान थालेपछि मात्र रेफर गर्दा रामकाशीको मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन् ।

प्रसूति बेथा लागेपछि शुक्रबार बिहान मिर्चैया नगरपालिका– ६, स्थित सरकारी अस्पताल पुर्‍याइएकी रामकाशीलाई मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले ‘अस्पतालमा नसा विशेषज्ञ छैन’ भन्दै गोलबजारस्थित बर्धमान अस्पतालमा रेफर गरेको परिवारले जनाएको छ । रामकाशीको शल्यक्रियामा संलग्न बर्धमानका सञ्चालक रहेका डा. तेजशंकर यादव डा. गोइतकी श्रीमान् हुन् । 

बर्धमानमा पुर्‍याइएकी रामकाशीले शल्यक्रिया गरेपछि दुई छोरीपछि तेस्रो सन्तानको रूपमा छोरा जन्माइन् । शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुँदा गल्दै गएपछि परिवारले अन्यत्र रेफर गरिदिन पटक–पटक आग्रह गरे पनि अन्तिम समयमा शनिबार बिहान करिब २ बजेतिर मात्र रेफर गरिएपछि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याएपछि चिकित्सकले बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए ।

सुत्केरीको मृत्युपछि परिवार र आफन्तले शव गोलबजार ल्याएर अस्पतालअगाडि दोषी चिकित्सकमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । त्यही दिन प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

अस्पताल प्रशासनले आइतबार छलफलका लागि बोलाएकाले धरानमा पोस्टमार्टम गरेर फर्किएका आफन्त अस्पतालअगाडि एम्बुलेन्समा शव राखेर रोकिए पनि अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै पुनः अस्पतालअगाडि नाराबाजी भएको थियो । त्यसपछि स्थानीय केही अगुवासहित मृतक परिवारका सदस्यबिच भएको छलफलमा क्षतिपूर्ति दिने मौखिक सहमतिपछि शव गाउँ पुर्‍याएर दहासंस्कार गरिएको जनाइएको छ ।