पर्यटन प्रवद्र्धनका लागि आयोजित १२औँ सिउरुङ महोत्सवका अवसरमा साहसिक मह सिकार (हनी हन्टिङ) गरिएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह सिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रूपमा प्रवद्र्धन गर्न महोत्सवको अवसरमा स्थानीयले मह सिकार गरेका हुन् ।
महोत्सवको पहिलो दिन स्थानीयले गाउँनजिकै रहेको कोइरेखोला भिरमा मह सिकार गरेको स्थानीय पूर्णसिं गुरुङले बताए । उनले भने, ‘मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि पछिल्ला वर्षहरूमा ‘हनी हन्टिङ फेस्टिभल’का रूपमा पनि मह सिकार हुँदै आएको छ ।
भिरमाहुरीको मह निकाल्ने काम आफैँमा साहसिक भएको र त्यसप्रति धेरै पर्यटकको आकर्षण हुने भएकाले महोत्सवको अवसरमा मह सिकार गरिएको सिउरुङ पर्यटन विकास समितिका अध्यक्ष नन्द घलेले बताए । महोत्सवमा आएका पाहुनाले हनि हन्टिङको मज्जा लिएको अध्यक्ष घलेले बताए ।
लमजुङका ग्रामीण क्षेत्रका स्थानीय अहिले भिरमा रहेका भिरमह सिकार गरिरहेका छन् । परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर, अहिले त्यस्ता महसिकारी भेट्टाउनै मुस्किल हुन्छ ।
मह सिकारको सिजन लागेसँगै जिल्लाका भिरपहरामा मह सिकार सुरु भएको छ । लमजुङमा सामान्यतया प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिर महिनामा भिरमाहुरीको मह सिकार गर्ने गरिन्छ । मह सिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेसा पनि हो । सामग्री उपलब्ध गराए सिप हस्तान्तरण र भिरपहरामा रहने मौरीको संरक्षण गर्न सकिने मह सिकारी बुद्धिबहादुर गुरुङको बुझाइ छ ।
ज्यानको बाजी थापेर महसुर सिकारीहरूले गर्ने मह सिकार स्थानीयलाई आयआर्जन र साहसिक पर्यटकका लागि गन्तव्यको रूपमा स्थापित हुँदै गएको घनपोखराका महसिकारी भक्तबहादुर गुरुङ बताउँछन् । ‘हनी हन्टिङ’ अर्थात् मह सिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि ‘हनी हन्टिङ फेस्टिभल’का रूपमा पहिलोपटक ०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रे भिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा मह सिकार हुने गरेको थियो । गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै मह सिकार धान्दै आएका छन् ।