
भरतपुर– ११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुनः सुरु भएको छ ।
रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११ः१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा दिउँसाे सवा ३ बजेदेखि पुनः मतदान सुरु भएको हो । यो मतदानस्थलमा यसअघि ४० प्रतिशत मत खसिसकेको छ ।
‘रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,’ दलहरूबीच भएको सहमतिमा उल्लेख छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ।
त्यस्तै, मतदानस्थलमा शान्तिसुरक्षा कायम गर्न तीन सय मिटरवरिपरि कुनै गतिविधि नगर्ने सहमति पनि भएको छ।