१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज आइसिपी निर्माण अन्तिम चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४६:oo

नेपालगन्जमा निर्माणाधीन एकीकृत जाँचचौकी (आइसिपी) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा पाएको भारतीय राजदीप बिल्डकन कम्पनीले ९० प्रतिशत काम सकेको हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले उक्त कम्पनीले निर्माणको काम डिसेम्बर २०२२ मा सक्नुपर्नेमा कोरोनाका कारण पाँच महिना म्याद थप गरिएको बताए ।

थपिएको म्याद ३० मे २०२३ मा सकिँदै छ । आइसिपी क्षेत्रमा ब्लक बिछ्याउने र स्टिल स्ट्रक्चर संरचना निर्माण सकिएको र अधिकांश पक्की भवन निर्माण पूरा भइसकेको खनालको भनाइ  छ । उनले पानीका लागि ओभरहेड ट्यांकी, शौचालय भवन र सुरक्षाकर्मीका लागि भवन बनाउन बाँकी रहेको जानकारी दिए ।

‘अहिलेसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ । बाँकी संरचना निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘थप भएको समयभित्र निर्माण सम्पन्न हुने आशा छ ।’ निर्माण कम्पनीले थप भएको समयभित्र काम सक्ने जानकारी गराएको छ । खनालले भने, ‘ठूला काम सकिएका छन् । अब सानातिना बाँकी छन् । यसले आइसिपी सञ्चालनका लागि ढोका खुलेको छ ।’ प्रशासनिक भवन, गोदामघर, पशुपक्षी तथा प्लान्ट क्वारेन्टिनलगायतका भवन निर्माण पूरा भइसकेको उनले बताए । पर्खाल लगाउने काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकको व्यवस्था रहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारत सरकारबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भए पनि विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

ad
ad