Skip This
दुर्गम गाउँका नागरिकको उपचारका लागि डा. केसी निसीखोला पुगे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख ८ शुक्रबार o९:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गम गाउँका नागरिकको उपचारका लागि डा. केसी निसीखोला पुगे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार o९:oo:oo

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बागलुङको पश्चिम निसीखोला गाउँपालिका पुगेका छन्। केसीले निसीखोला गाउँपालिका– ३ मा रहेको बोहोरागाउँ स्वास्थ्यचौकीमार्फत सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएका छन् । बुधबार स्वास्थ्यचौकी पुगेका केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेको बोहोरागाउँ स्वास्थ्यचौकीमा प्रमुख कसिन्द्र शाहीले जानकारी दिए ।

शाहीका अनुसार कुनै खबरविना नै स्वतस्फुर्त रूपमा केसी स्वास्थ्यचौकी पुगेका थिए । ‘स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ । डा.साब टुप्लुक्क आउनुभयो । यहाँको इन्चार्ज को हो ? भन्नुभयो,’ शाहीले भने, ‘म हो भनेर मैले जवाफ दिएँ । टेलिभिजनमा देखेको भएर मैले उहाँलाई सहजै चिनेँ,  उहाँले म डा. गोविन्द केसी हो, तीन दिनसम्म यहीँ बस्छु, यस क्षेत्रमा सबै नागरिकलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ । उहाँहरूको स्वास्थ्य जाँच गर्छु ।’ डा. केसीले यसो भनेपछि कसिन्द्रले गाउँपालिकामा खबर गरे र केही आवश्यक औषधिको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । 

गाउँपालिकाले स्वास्थ्य संस्थामा भएकाबाहेक अन्य केही आवश्यक औषधि उपलब्ध गराएको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले जानकारी दिए । ‘डा. केसी आएर बिरामीको उपचार गर्न लागेको थाहा पाएपछि हामीले केही आवश्यक औषधि पठायौँ,’ स्वास्थ्य शाखा प्रमुख चन्दले भने, ‘अहिले उहाँले विशेषतः हाडजोर्नीको समस्या भएको बिरामी हेर्नुभएको छ । सामान्य समस्या भएका बिरामीको पनि स्वास्थ्य जाँच गरेर औषधि लेखिदिनुभएको छ । स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीले उहाँलाई सहयोग गरेका छन् । डाक्टर साब आएसँगै यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ ।’ केसी आगमन यहाँका  नागरिकलाई ‘सप्राइज’ भएको चन्दले बताए । 

केसी एक्लै बोहोरागाउँ स्वास्थ्यचौकी पुगेका थिए । उनले दैनिक झन्डै ५० देखि ६० जना बिरामीको उपचार गराएको स्वास्थ्यचौकीका प्रमुख शाहीले बताए । स्वास्थ्यचौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको शाहीले बताए ।  लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका छन । केसी पुगेको ठाउँ जिल्लाको दुर्गम गाउँ हो । स्वास्थ्य सेवामा निकै पछाडि रहेको यो क्षेत्रमा डाक्टर केसी त्यहाँ पुगेर सेवा दिँदा बिरामीलाई ठूलो राहत भएको छ । यहाँका नागरिक खुसी रहेका छन् ।

‘डा. केसी यहाँ आउनुहोला र हामीले सेवा पाउँला भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ,’ निसीखोला गाउँपालिका– ३ बोहोरागाउँका ४६ वर्षीय लक्ष्मण सुनार भने, ‘मेरो घुँडाको समस्या थियो, नियमित दुखाइ थियो, धेरै अस्पताल धाएँ, तर निको भएको थिएन । घुँडामा पानी जमेको रहेछ, डाक्टर साबले खै कसरी पानी निचोरेर फालिदिनुभयो, दुखाइ कम भइसकेको छ । निको हुन्छ भन्नुभएको छ, आशा गरौँ ।’ उनले अन्य बिरामीको पनि लामो समयसम्मको समस्या समाधान भएको बताए । केसीले बिरामीको उपचारसँगै गाउँपालिकाले उपलब्ध गराएको औषधि पनि दिएका छन ।

डा. केसीले बोहोरागाउँ स्वास्थ्यचौकीमा शुक्रबारसम्म बिरामीको उपचार गर्ने बताए । अघिल्लो वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारमा आएका केसी यसपालि निसीखोला क्षेत्रमा आएको बताउँछन् ।  केसीले पहाडी जिल्लामा पुगेर त्यहाँका नागरिकको स्वास्थ्य अवस्था बुझ्दै र उपचार गर्दै आएका छन् । यसअगाडि पनि बाजुरा, बझाङ, दार्चुला, बैतडीलगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । वेलावेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै आएका उनी पटक–पटक अनशन बस्दै आएका छन् ।