
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठसदस्यीय संसदीय प्रतिनिधि मण्डल बुधबार रुस प्रस्थान गरेको छ।
रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका लागि बुधबार बिहान रुस प्रस्थान गरेको हो।
अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी रावल थापा ‘पार्वती’, महेशकुमार महरा र शेखरकुमार सिंह तथा संघीय संसद् सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन्।
भ्रमण टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभ र संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसबाहेक रुसी सरकारका पदाधिकारीहरू, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरूसँग पनि भेटघाट गर्नेछन्।
उनले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरासँग पनि भेटभाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनका विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
अध्यक्ष तिमिल्सिनासहितको प्रतिनिधि मण्डल भ्रमण पूरा गरी वैशाख १२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।