मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
दमक– ३ दापगाछीमा निर्माणाधीन १८ तले भ्यु टावर
२०८० बैशाख ६ बुधबार ०७:१४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सञ्चालन कार्यविधि र प्रतिफलको अध्ययनविनै दमक भ्यु टावरको काम ८० प्रतिशत सकियो

Read Time : > 3 मिनेट
२०८० बैशाख ६ बुधबार ०७:१४:००

हचुवाको भरमा निर्माण गरिएको भ्यु टावर कसरी प्रयोग गर्ने भन्ने अन्योल

डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माणाधीन भ्यु टावरको काम लगभग ८० प्रतिशत सकिएको छ । तर, भ्यु टावर सञ्चालन कार्यविधि अझै बनेको छैन । हचुवाका भरमा निर्माण गरिएको भ्यु टावरको प्रयोग सम्बन्धमा अझै अन्योल छ । साथै अर्बौँको लगानीमा बन्दै गरेको भ्यु टावरले दिने प्रतिफलसमेत सुनिश्चित छैन ।

हालसम्म सरकारले दमकको भ्यु टावर बनाउन एक अर्ब १९ करोड खर्च गरिसकेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ । महालेखपरीक्षकको ६०औँ प्रतिवेदनले सय मिटर अग्लो भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नै नभएको ठहर गरेको छ । माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने महालेखाले सुझाव दिएको छ । झापा ५ का प्रतिनिधिसभा सदस्य एवं एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनकै चासोमा पाँच बिघा क्षेत्रफलमा दमक नगरपालिका– ३ स्थित दापगाछीमा १८ तले भ्यु टावर निर्माणका लागि ठेक्का लगाइएको थियो । 

ओलीले यो भ्यु टावर मात्र नभई बिजनेस टावर भएको दाबी गर्दै आएका छन् । यद्यपि, हालसम्म सञ्चालन कार्यविधि नभएको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्यु टावर हर्ने परियोजना इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिए । ‘भ्यु टावरको माथिल्ला दुईवटा तला दृश्यावलोकनका लागि प्रयोग हुन्छ । अरू तला विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । तर, कसरी प्रयोग गर्ने, के राख्ने भन्नेबारे कार्यविधि बनेको छैन । स्थानीय तहलाई सञ्चालनका लागि दिनुपर्छ कि भन्ने छलफल पनि भइरहेको छ,’ उनले भने, ‘आन्तरिक कार्यविधि बनाउन जुटेका छौँ । सम्बन्धित स्थानीय तहको समन्वयमा परामर्शदाता नियुक्ति गरेर कार्यविधि बनाउने हो कि भन्ने छलफल हुँदै छ ।’ निर्माण सुरु हुँदादेखि नै भ्यु टावरमा बिजनेस गर्ने योजना नै रहेको यादवले बताए । यद्यपि, कस्तो व्यापार गर्ने भन्ने योजना नरहेको उनको भनाइ छ । चुनावका समयमा दमकमा क्रियाशील केही राजनीतिक दलले भ्यु टावरमा सरकारी अस्पताल स्थापना गर्ने घोषणापत्रमै राखेका थिए । एमाले अध्यक्ष ओलीले भ्यु टावर मात्र नभई यहाँ व्यापार हुने पनि बताउँदै आएका छन् । 

दुईपटक म्याद थप्दा पनि ८०% मात्र काम
केपी ओली प्रधानमन्त्री हुँदा सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लाग्यो । २७ पुस ०७८ मा सक्ने गरी चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । हाल यो योजनाको लागत बढेर एक अर्ब ७० करोड पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्यु टावर हर्ने परियोजना इन्जिनियर यादवले जानकारी दिए । आगलागीसम्बन्धी सुरक्षाका काम थपिँदा यसको लागत पनि वृद्धि भएको उनको भनाइ छ । भ्यु टावर निर्माणको काम समयमा नसकिएपछि दुईपटक म्याद थपियो । तर, काम भने ८० प्रतिशत मात्र सकिएको यादवले  बताए । 

समयमा काम नसकिएपछि पहिलोपटक ०७८ पुसबाट ०७९ असार मसान्तसम्म म्याद थपिएको थियो । त्यसपछि गत असारबाट ०८० असार मसान्तसम्मलाई म्याद थपिएको थियो । यसपटक समयमा बजेट नआएका कारण काम नसकिएको यादवले बताए । ‘भ्यु टावर १८औँ तलासम्मको संरचनाको काम सकियो । अब २८ मिटरको स्टिलको टावरको काम हुँदै छ । हालसम्म ८० प्रतिशत काम सकियो,’ उनले भने, ‘बजेटका कारण असारसम्म काम सकिँदैन होला भन्ने छ । यस वर्ष १० करोड बजेट विनियोजन भएको थियो । त्यो खर्च गरेर सक्यौँ । पछि सात करोड आयो । त्यो पनि सकियो । फेरि बजेटचाहिँ मगाएका छौँ । असारभित्र काम सकिएन भने पनि तीन महिना म्याद थपिन्छ ।’ हालसम्म भ्यु टावरको वित्तीय प्रगति ७०.१८ प्रतिशत अर्थात् एक अर्ब १९ करोड रहेको यादवले बताए । हालसम्म संरचना निर्माणको काम सकिएको र अब २८ मिटर अग्लो स्टिलको टावर निर्माण, भित्री तलाहरूको काम, भ्यु टावरको बाहिरी सजावट र वरिपरि सडक निर्माणलगायत काम रहेको उनको भनाइ छ । 

निर्माण कम्पनीले भने बजेट अभावका कारण आगामी असारसम्म काम नसकिने जनाएको छ । जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीका फिल्ड इन्जिनियर सर्जल बिडारीले असारमा काम नसकिने बताए । ‘आउने असारमा काम सकिँदैन । जेठदेखि बर्खा सुरु हुन्छ । बर्खामा काम गर्न सकिँदैन,’ उनले भने, ‘सामान्य काम हुने हो भने पनि असोजसम्म जान्छ । तर, बजेट नभएकाले योजना बनाउन पाएको छैन । बजेट विनियोजन भएपछि योजना बनाउँछौँ । त्यसपछि मात्र कति समय लाग्छ भन्न सकिन्छ ।’

संरचनाको सुरक्षामा ध्यान गएन 
महालेखाले ललितपुरको गोदावरीमा निर्माण भएको सहभाहलको संरचना संरक्षणमा ध्यान नगएको निष्कर्ष निकालेको छ । ८० करोड २७ लाखभन्दा बढी खर्च गरेर निर्माण गरिएको सभाहलको जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । तीन हजार सिट क्षमताको सभाहलमा सुरक्षा अभावमा जग्गा अतिक्रमण भई घरटहरा निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । सभाहलको भवनमा क्यान्टिन, सुरक्षा गार्ड बस्ने भवनहरूको निर्माण नगरेको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएका कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज भएको, छानोबाट पानी चुहिएको, फल्स सिलिङ भत्किएकोलगायत समस्या प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, बुटवलमा पनि ९६ करोड ४० लाख खर्चेर सभाहल निर्माण गरिएको र उद्घाटन भइसक्दा पनि सञ्चालनका लागि व्यवस्था नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त हलमा एक हजार ७० जना अट्ने बताइएको छ । सभाहल निर्माण, सञ्चालन, हस्तान्तरण एवं व्यावसायिक दिगोपनासम्बन्धी कार्यविधि एवं योजना तर्जुमा गरी सभाहलको पूर्ण रूपमा उपयोग हुने व्यवस्था हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।