
महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालय, टोलसुधार समिति र मन्दिरलाई सहयोग गरेको छ । बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो ।
बैंकको बानेश्वर शाखाले सुविधानगरमा रहेको तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको जनाइएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।
वीरगन्ज शाखाले अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्यांकी तथा डस्टबिन हस्तान्तरण गरेको छ । मठमा आउने दर्शनार्थी तथा भक्तजनका लागि खानेपानीको आवश्यकता पूरा गर्ने उद्देश्यले समितिलाई उक्त सहयोग गरेको जनाइएको छ ।
त्यस्तै, बैंकको धादिङमा रहेको बिचबजार शाखाले नीलकण्ठ नगरपालिकाको कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत गरिब तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकामध्येबाट गरिब तथा जेहेनदार पाँचजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाइएको छ ।