१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
उपेन्द्र यादव
२o८१ बैशाख १९ बुधबार o६:४९:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन विभाजित छ मधेस आन्दोलन ?

विचार र मुद्दामा नजिक हुन नसक्नेहरू विभाजित देखिए पनि मधेस आन्दोलनका सहयात्रीहरू अहिले पुनः एकै ठाउँमा उभिने अवस्था बनेको छ

Read Time : > 4 मिनेट
उपेन्द्र यादव
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४९:oo

हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने मिसनमा छौँ । संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता र धर्मनिरपेक्षतालाई संस्थागत गर्दै उत्पीडनमा परेका समुदायको मुक्तिका लागि हामी क्रियाशील छौँ । सुशासन, आर्थिक विकास र समृद्धिद्वारा गरिबी र बेरोजगारी अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्ने हाम्रो उद्देश्य हो ।

शताब्दीऔँदेखि मधेसी, आदिवासी, जनजाति, दलित, पीछडावर्ग, थारू, मुस्लिम, अल्पसंख्यक समुदायमाथि राज्यको तहबाटै विभेद र असमानता छ । त्यसलाई अन्त्य गर्न पनि आर्थिक विकास, सुशासन र समृद्धिको बाटोमा देशलाई लैजानैपर्छ । अर्कातर्फ, पिछडिएको वर्ग, जो छुट्टै जीवन बाँच्न बाध्य छ, उसको जीवनमा देखिने तहको रूपान्तरण ल्याउनु जरुरी छ । ऊ जुन समाजमा बस्छ, त्यसलाई उन्नत, विकसित र सुसंस्कृत समाजमा रूपान्तरण गर्नुपर्ने अवस्था छ । 

लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति यहाँ धेरै छन् । मधेसका मुद्दालाई कमजोर पार्ने शक्तिहरू पनि सक्रिय छन् यहाँ । मधेसी समुदायलाई फुटाऊ र राज गर, जातजातलाई एकअर्कासित लडाउ, एकअर्को जातप्रति घृणा फैलाउजस्ता धन्दामा पनि केही संस्थागत तथा व्यक्तिगत रूपमा लागेका छन् । प्राप्त उपलब्धिप्रति कुनै पनि प्रकारको योगदान नै नभएकाहरू घृणा फैलाउने काममा लागेका देखिन्छन् ।

उनीहरू मधेसलाई जातजातमा बाँड्ने र एक जातलाई अर्को जातविरुद्ध लडाएर एकअर्कामा घृणा फैलाउने कोसिसमा छन् । समाजलाई कमजोर पार्ने असामाजिक राजनीतिक चिन्तनका उपज जताततै देखिन्छन् । जब मानिस राजनीतिमा सिद्धान्तविनै लाग्छन्, उनीहरूले अराजकता मात्रै फैलाउने हुन् । तिनको काम जनताबीच एकता होइन, विभाजन ल्याउनु हो । तिनीहरूले विभिन्न खालका षड्यन्त्र गर्छन् नै । सबैका मिसन अलग–अलग छन् । जनताले दूघको दूघ पानीको पानी छुट्याउने नै छन् । 

हिन्दीमा एउटा भनाइ छ– हात्ती चले बजार, कुत्ता भोँके हजार । अब त्यसरी भुक्नेहरूले के नै अर्थ राख्छन् र ? कसले के भन्यो होइन, कसले के गर्‍यो भन्ने हेर्नुपर्छ । भन्न त कसैले आकाशको तारा नै झारिदिन्छु पनि भन्ला । के त्यो पूरा हुन्छ र ? 

विभाजित मधेस आन्दोलन 
राजनीतिमा विचार, आस्था, सोच र मुद्दा हुन्छन् । त्यसलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ । मानिसहरूको अनुहारले होइन, विचारले कुनै पनि आन्दोलन एकताबद्ध हुन्छ । विचार, चरित्र र सिद्धान्तप्रतिको निष्ठाले मानिसहरूलाई एक–अर्कासित नजिक बनाउँछ ।

जब मानिस राजनीतिमा सिद्धान्तविनै लाग्छन्, उनीहरूले अराजकता मात्रै फैलाउने हुन् । तिनको काम जनताबीच एकता होइन, विभाजन ल्याउनु हो । तिनीहरूले विभिन्न खालका षड्यन्त्र मात्र गर्छन् ।
 

राजनीतिक दलहरूका अलग–अलग विचार हुनु स्वाभाविकै हो । यो खास भूगोलमा मात्र होइन, सबै क्षेत्रमा हुन्छ । अहिले मधेसमा पनि देखिएको त्यही हो । हिजो मधेस आन्दोलनका क्रममा सहयात्री दलहरू आज निर्वाचनको समयमा पनि एउटै मोर्चामा उभिएका छौँ । जसले गर्दा विगतमा विभाजितजस्तो देखिएका मधेस आन्दोलनका सहयात्रीहरू अहिले पुनः एकै ठाउँमा उभिने अवस्था बनेको छ । विचार र मुद्दामा नजिक हुन नसक्नेहरूचाहिँ अलग हुनु स्वाभाविक हो । 

गठबन्धनको समन्वय 
पाँचदलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा म चुनावी मैदानमा खटिएको छु । उम्मेदवारका रूपमा म जसपा नेपालको अध्यक्ष भए पनि पाँचै दलको साझा उम्मेदवार हुँ । गठबन्धनमा रहेका सबै घटकका साथीहरू दिनरात प्रचार–प्रसारको मैदानमा खटिराख्नुभएको छ । सबै दल मिलेर अगाडि बढिरहेका छौँ । गठबन्धन घटक सबै मिलेर काम गरिरहेका छौँ । जनता उत्साहित छन् । जनतामा उत्साह र उमंग निकै बढेर गएको छ । 

खास समस्या मधेसी समुदायमाथि सयौँ वर्षदेखि विभेद, असमानता रहँदै आयो । मधेसमा विकास निर्माणमा न्यून लगानीका कारण गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ्योपचारलगायत समस्या छन् । यहाँको जमिन राम्रो छ, माटो उर्वर छ, तर सिँचाइ र मलखादको अभाव छ । अझै पनि गाउँमा सडकको हालत अत्यन्त खराब छ । बाटोघाटोको अभाव छ । स्वच्छ र शुद्ध खानेपानीको अभाव छ । विद्यालयमा स्तरीय शिक्षाको अभाव छ । हेल्थपोस्ट ठाउँठाउँमा देखिन्छन्, तर भरपर्दो तथा सर्वसुलभ उपचार सेवाको अभाव छ ।

मानिसहरू बडो शालीन र मिहिनेती छन् । तर, घरबारविहीनको संख्या ठूलो छ । व्यवस्थित बसोवासको अभाव छ । मानिसहरू कारोबार अलिअलि गर्छन्, तर साहु–महाजनको ऋणबाट पीडितको संख्या ठूलो छ । यहाँको मूल समस्या गरिबी र बेरोजगारी नै हो । यी र यस्ता समस्या समाधान गर्न धेरै काम गर्नुपर्नेछ । हामीले जनताका समस्या समाधान गर्न सिलसिलाबद्ध रूपमा काम गर्दै आएका छौँ । किसानलाई मलखादको व्यवस्था गर्नुपर्नेछ । ग्रामीण भेगसम्म सडक, शिक्षा र स्वास्थ्यलाई सुधार गर्नु छ । सडक, शिक्षा, स्वास्थ्य र कृषिमा सुधार भयो भने यहाँका जनताको जीवनस्तरमा सुधार हुन्छ । 

मधेस आन्दोलन 
संघीयता ल्याउनेबारे राजनीतिक दलहरूले सोचेकै थिएनन् । मधेस आन्दोलनको जगमा संघीयता आएको हो । संघीयतासँगै हाम्रै आन्दोलनको बलमा मधेसी जनतालगायत आदिवासी, जनजाति, खसआर्यलाई आरक्षण दिलाउन हामी सफल भएका छौँ । 

यो सबै उपलब्धि मधेस आन्दोलनकै देन हो । मधेस आन्दोलन नभएको भए खसआर्यले पनि आरक्षण पाउने थिएनन् । नेपाली राजनीतिक आन्दोलनमा जुन उपलब्धि मधेस विद्रोहले दिएको छ, त्यति उपलब्धि कुनै पनि आन्दोलनबाट प्राप्त भएको छैन । मधेस विद्रोह नभएको भए संघीय गणतन्त्र नेपाल पनि हुने थिएन । मधेस प्रदेश बन्ने त कल्पनै थिएन । सेवा र राजनीतिक प्रतिनिधित्वमा आरक्षण या कोटा प्रणाली नै हुने थिएन । 

आज जुन समावेशीकरण हामी देख्दै छौँ, त्यो मधेस आन्दोलनकै देन हो । मधेसको मुद्दा राष्ट्रको मुद्दा बनेको छ । मधेसी जनताले परिवर्तनका लागि जुन बलिदान दिए, त्यसरी बलिदान दिने सहिदहरूको एउटा सपना पूरा भएको छ । मधेस प्रदेश बनेको छ । राजनीतिक रूपमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि लाग्नुपर्ने अवस्था छ । यसका साथै सुशासन, विकास र समृद्धिका पक्षमा हामीले धेरै काम गर्न बाँकी छ । अबको हाम्रो लक्ष्य यही हो । अपमान र असमानता तथा विभेद र शोषणको अन्त्य गर्दै समतामूलक समाज निर्माणको अभियानमा हामी होमिएका छौँ ।

एजेन्डा हेरौँ 
कतिपयले नयाँ र पुरानाको कुरा पनि गर्ने गरेको सुनिन्छ । के आधारमा नयाँ ? के आधारमा पुरानो ? जसले नयाँ र पुरानाको कुरा गरिरहेको छ, उसको एजेन्डा के हो ? नेपालको सार्वभौमसत्तालाई टुक्र्याउने, भौगोलिक अखण्डता खण्डित गर्ने, बाहिरी शक्तिको इसारामा आफ्नो मुलुक टुक्र्याउने ? अगाडि बढेकाहरूले त्यो एजेन्डा छाडे कि छाडेनन् ?

छाडेका छैनन् भने हामीले कसरी तिनलाई विश्वास गर्ने ? अनि छाडेका हुन् भने कहिले, कहाँ र कसरी छाडे, त्यसको प्रस्ट जानकारी जनतालाई दिएको खै त ? जसले आफ्नो मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि नै प्रहार गर्छन्, तिनका बाँकी कुरा के सुन्नु ? उनीहरूले गरेका ठूला कुराले के अर्थ राख्छ र ? जसको आन्तरिक एजेन्डा नै मधेसको विखण्डन छ, त्यो लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छ । त्यस्ता शक्तिलाई जनताले वेलैमा पहिचान 
गर्न सक्नुपर्छ । 

हामी त प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै थप उपलब्ध प्राप्तिका लागि निरन्तर संघर्षको मैदानमा छौँ । बच्चा जन्माउने चिन्ता आमालाई जति अरूलाई हुँदैन । अहिलेको उपलब्धि मधेस आन्दोलनको जगमा प्राप्त भएको हो । स्थिरताका साथै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेर जनताको जीवनस्तर उकास्नुपर्नेछ । त्यो अभियानमा हामी लागेका पनि छौँ ।

एमालेसँग हाम्रो एजेन्डा नमिलेकै कारण सहकार्य होइन, तालमेल गरेका थियौँ । अहिले हामी गठबन्धनका दलहरूले तालमेल मात्रै होइन, सहकार्य नै गरेका छौँ । एमालेले आफ्नो स्वार्थमा राष्ट्रपति पदको दुरुपयोग गरी दुईपटक संसद् विघटन गर्दा हामी सडक संघर्षमा थियौँ । गलत कुराको हामीले जहिले पनि विरोध गर्दै आएका छौँ । उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । चुनावमा स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ । त्यसलाई अन्यथा भन्नुहुँदैन । लोकतन्त्रमा एक्लै चुनाव लड्छु भन्ने कुरा आउँदैन । हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र भनेको प्रतिस्पर्धा गर्नकै लागि हो । 

मतदाता उत्साहित हुनुहुन्छ, उहाँहरू जिम्मेवारी दिन तयार भएर बस्नुभएको छ । मतदाताले नै उल्टै आग्रह गरिरहनुभएको छ । उहाँहरूले भन्नुभएको छ– चुनाव हामी जिताउँछौँ, चुनाव जितेपछि जिल्लाको, क्षेत्रको, मधेस प्रदेशको र देशको समस्यालाई समाधान गर्न प्रयत्न गर्नुपर्छ । बेरोजगार र विपन्न वर्गका जनताको अभावलाई अन्त्य गर्न नेतृत्व लिनुपर्छ भनिरहनुभएको छ । हामीलाई जनताप्रति पूर्ण विश्वास छ ।
(यादव जसपाका अध्यक्ष हुन्)

ad
ad