जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गरिनुपर्ने बताएका छन्। १८औँ बलिदानी दिवसको अवसरमा सिराहामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली धेरै महँगो भएकाले फेर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘गरिब देशमा निर्वाचन प्रणाली यति महँगो भयो कि सामान्य व्यक्तिले निर्वाचन नै लड्न सक्दैन। वौद्धिक व्यक्तित्व, जनताले आशा भरोसा गरेका व्यक्ति संसदमा चुनिएर जनताको पक्षमा काम गरिदिए हुन्थ्यो भन्ने जनताको चाहना यही प्रणालीका कारण सम्भव हुँदैन।’
उनले यो प्रणाली फेर्न कांग्रेस–कम्युनिस्ट गठबन्धनको सरकार गम्भीर नरहेको आरोप पनि लगाए। उनले त्यसका लागि पनि सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए। राज्यले आफ्ना नागरिकलाई गुणात्मक शिक्षा, स्वास्थ्य सेवा, रोजगारीजस्ता आधारभूत अधिकार दिन पनि कन्जुस्याइँ गरिरहेको चर्चा गर्दै उनले भने, ‘गठबन्धन सरकारले यो क्षेत्रलाई चासो नै दिएको छैन।’
‘वार्षिकी मात्र होइन, थप अधिकारका लागि लडौँ’
मधेश विद्रोहमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झानामा मनाइने बलिदानी दिवस केवल वार्षिकी मात्र नरहेको चर्चा गर्दै उनले दासत्वपूर्ण जीवनबाट मुक्तिका लागि सहिदले देखाएको अधिकार प्राप्तिको कठिन बाटोमा अगाडि बढिरहन प्रेरणा दिने दिनका रूपमा लिनुपर्ने उल्लेख गरे। ‘जसका लागि सहिद भए, तिनको सपना साकार पार्ने अभिभारा हाम्रो काँधमा आएको छ,’ उनले भने।
अध्यक्ष यादवसहित जसपाका नेता कार्यकर्ताले सभा हुनुअघि शनिबार बिहान लहानस्थित सहिद स्मारकमा पाँच सहिदको शालिकमा माल्यार्पण गरेका थिए।
जसपा अध्यक्ष यादव जनसभामा सहभागी हुन सिराहा फर्किएलगत्तै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोसहित नेता कार्यकर्ताले सहिदको शालिकमा माल्यार्पण गरेका थिए। त्यसपछि सहिद स्मारकपरिसरमै सहिद परिवारसँग भेटघाट गरी संयोजक महतो सिराहा विकास मञ्चले लहानमा आयोजना गरेको ‘सिराहा, माघे मधेश जनविद्रोह र मधेशवाद’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विश्लेषक डा. महादेव साहले कार्यपत्र प्रस्तुत गरेका थिए।
यसरी भएको थियो मधेश विद्रोह
०६२/०६३ को जनआन्दोलनपछि १ माघ ०६३ देखि लागू भएको अन्तरिम संविधानमा मधेशीलाई उपेक्षा गरिएको, संघीयता नराखिएको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागितालगायत मागसहित सुरु भएको आन्दोलन ५ माघमा लहानका विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा चर्किएको थियो।
आन्दोलनको क्रममा सिराहाका ग्रामीण क्षेत्रबाट आएकामध्ये पाँचजना सहिद भएका थिए। मधेश आन्दोलनमा महतोसहित लहान–१५ ढोढना मोहनपुरका बेचन यादव, लहान–४ का विजय सहनी, सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुरका प्रमोद सदाय र ५ महेशबारीका मोहम्मद अनिश सहिद भएका थिए।