मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३२ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ जेठ ३२ शुक्रबार o८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रीय समिति छनोट गर्ने अधिकार अध्यक्ष यादवलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३२ शुक्रबार o८:४o:oo

पार्टी विभाजनको एक महिनापछि नै महाधिवेशन भएको र यस्तो अवस्थामा पार्टीका सक्रिय नेता पराजित भएमा पार्टीलाई क्षति पुग्ने उद्देश्यले अध्यक्ष उपेन्द्र यादवले आफ्नो हातमा अधिकार लिएको बताइएको छ ।

जनता समाजवादी पार्टी नेपालको प्रथम महाधिवेशन पदाधिकारीसहित केन्द्रीय कार्यसमिति गठन गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिँदै सम्पन्न भएको छ । महाधिवेशनमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय कार्यसमितिका लागि ३७२ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा यादवको विपक्षमा कसैले उम्मेदवारी नदिएपछि उनी बुधबार नै निर्विरोध निर्वाचित भएका थिए । बाँकी पदमा बुधबार बिहान ९ बजेदेखि सहमति खोज्ने प्रयास भएको थियो । तर, आकांक्षी बढी रहेकाले तत्काल सहमति हुने सम्भावना नदेखेपछि अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारलाई सम्बोधन गरेका थिए ।

यादवले वर्तमान परिवेशमा सर्वसहमति पदाधिकारी छनोटको विकल्प नरहेकाले त्यसमा सहयोग गर्न आग्रह गरे । निर्वाचन प्रक्रियाबाट सक्षम, समावेशी तथा क्रियाशील टिम बन्न नसक्ने भएको भन्दै उनले सर्वसहमतिमै पदाधिकारी र सदस्यहरू टुंगो लगाउन सहयोग माग गरेका थिए ।

त्यसपछि अध्यक्ष यादवको प्रस्तावलाई स्वीकार गर्दै सबै उम्मेदवार आफ्नो उम्मेदवारी त्याग गर्न सहमत भएका थिए । केन्द्रीय कमिटी छनोट गर्ने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिँदै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता मनीष सुमनले बताए ।

पार्टी विभाजनको एक महिनापछि नै महाधिवेशन भएको र यस्तो अवस्थामा पार्टीका सक्रिय नेता तथा सक्षम नेता हारेमा पार्टीलाई क्षति पुग्ने उद्देश्यले अध्यक्ष यादवले आफ्नो हातमा अधिकार लिएको बताइएको छ ।