मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०६:२२:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा ट्राफिक जामले वार्षिक एक खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति

जामका कारण इन्धन खपत बढ्ने मात्रै होइन, सवारीसाधनको आयु घट्नेदेखि ट्राफिक व्यवस्थापनसम्ममा अतिरिक्त खर्च

Read Time : > 6 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०६:२२:००

उपत्यकामा धेरै जाम हुने काठमाडौंको कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्धारा, चाबहिल, कलंकी, त्रिपुरेश्वर, नयाँ बसपार्क, ललितपुरको एकान्तकुना, लगनखेल, सातदोबाटो तथा भक्तपुरको जगातीलगायतका सडक क्षेत्रको अध्ययन गरेर तयार गरिएको प्रतिवेदन खरिद गरेर रणनीति बनाउँदै काठमाडौं महानगर

काठमाडौं उपत्यकामा सडक जामकै कारण बर्सेनि एक खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति हुने गरेको छ । जामको समयमा हुने इन्धन खपत, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मत लागत, ट्राफिक व्यवस्थापन खर्च, वायु तथा ध्वनि प्रदूषण, सवारीसाधनको इन्जिनमा पर्ने भार, चालक र यात्रुको स्वास्थ्यमा पर्ने समस्या, दुर्घटनाजस्ता कारणलाई आधार मानेर क्षतिको यो हिसाब निस्किएको हो । 

सरकारलाई जागरुक गराउन अध्ययन गरेका हौँ : शेरजंगबहादुर चन्द, अध्ययनकर्ता 
नेपालमा ट्राफिक समस्या पहिलेदेखिकै हो । यसमा कसैले पनि अध्ययन गरेको देखेनौँ । अरू देशमा यसबारे धेरै अध्ययन भएका छन्, तर हामीकहाँ अध्ययन भएको थिएन । यसले देशको अर्थतन्त्रमा पनि असर पारिरहेको छ । नीति निर्माण तह अर्थात् सरकारलाई सचेत, जिम्मेवार र जागरुक गराउन हामीले यो अध्ययन गरेका हौँ ।

शेरजंगबहादुर चन्द नेतृत्वको प्राविधिक टोलीले २०१९ नोभेम्बरदेखि २०२० मेसम्म ६ महिना लगाएर यसबारे अध्ययन गरेको थियो । उपत्यकामा खास जाम हुने काठमाडौंको कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्धारा, चाबहिल, कलंकी, त्रिपुरेश्वर, नयाँ बसपार्क, ललितपुरको एकान्तकुना, लगनखेल, सातदोबाटो तथा भक्तपुरको जगातीलगायत सडक क्षेत्रमा पुगेर अध्ययन गरेको थियो । अध्ययनमा डा. कृष्णभक्त दुवाल र डा. अरुण कुँवर तथा इन्जिनियरिङ अध्ययनरत १५ विद्यार्थी सहभागी थिए । 

काठमाडौं महानगरपालिकाले यो प्रतिवेदन अमेजन डटकमबाट खरिद गरेर ट्राफिक व्यवस्थापनको रणनीति बनाउँदै छ । ‘अध्ययनलाई विश्वसनीय ठानेर ट्राफिक व्यवस्थापनका लागि आधार मानेका छौँ, यसमा मेयरसाबले पनि विशेष चासो दिनुभएको छ,’ महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले भने, ‘प्रतिवेदनका आधारमा अब महानगरभित्र ट्राफिक जाम व्यवस्थापनको खोजी गरिन्छ । यसबारे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभागलगायतसँग छलफलको तयारी भएको छ ।’

जामका कारण वार्षिक दुई अर्ब ८२ करोड ७८ लाख २६ हजार पाँच सय ५० रुपैयाँबराबरको अतिरिक्त इन्धन खर्च हुने अध्ययनको निष्कर्ष छ । जामका क्रममा चालकले सवारीसाधन स्टार्टमै राख्छन् र बिस्तारै गुडाउँछन्, जसकारण इन्धन बढी खपत हुने अध्ययनले जनाएको छ । त्यस्तै, सवारीसाधनको आयु घटेर वार्षिक ३३ अर्ब १८ करोड ८१ लाख ५२ हजार तथा प्रदूषणले सात अर्ब ५० करोड ७० लाख ५० हजारको क्षति निम्त्याउने अध्ययनले देखाएको छ । जाम व्यवस्थापनका ट्राफिक जनशक्ति परिचालनमा १९ करोड १९ लाख तीन हजार तीन सय ६०, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मतमा ३५ करोड ९७ लाख ४४ हजार र जामका क्रममा हुने घटना–दुर्घटनाबाट १२ करोड २१ लाख खर्च हुने पनि अध्ययनले देखाएको छ । 

अध्ययनको नेतृत्व गरेका अर्थविद् शेरजंगबहादुर चन्दले सामान्य आँखाले हेर्दा सडक जामबाट प्रत्यक्ष रूपमा यात्रामा ढिलाइ भएको समस्या मात्रै देखिने भए पनि अप्रत्यक्ष रूपमा देशको अर्थतन्त्रमै ठूलो असर पारिरहेको बताए । ‘नेपालमा ट्राफिक समस्या पहिलेदेखिकै हो । यसमा कसैले पनि अध्ययन गरेको देखेनौँ । अरू देशमा यसबारेमा धेरै अध्ययन भएका छन् । तर, हामीकहाँ अध्ययन भएको थिएन । यसले देशको अर्थतन्त्रमा पनि असर पारिरहेको छ,’ उनले भने, ‘नीति निर्माण तह अर्थात् सरकारलाई सचेत, जिम्मेवार र जागरुक गराउन हामीले यो अध्ययन गरेका हौँ ।’

सडक जामले नदेखिने गरी ठूलो क्षति भइरहेको हुन्छ : आशिष गजुरेल, यातायात तथा पूर्वाधारविद् 
विदेशी मुलुकका कुनै मानिस केही समय जाममा पर्‍यो भने खर्च भएको त्यो समयलाई मूल्यसँग जोडिन्छ । तर, हामीकहाँ सवारीसाधन जाममा पर्दा भएको क्षति र समस्याबारे सरकारले खासै चासो राख्दैन । वास्तवमा सडकमा सवारी जाम र अवरोधका कारण नदेखिने गरी ठूलो क्षति भइरहेको हुन्छ । त्यो क्षति राज्यले भन्दा नागरिकले भोगेका छन् । यदि राज्यको क्षति भएको भए राज्यले थाहा पाउने थियो । तर, आमनागरिकले भोगेको सास्ती र समस्याबारे राज्यले चासो दिएको छैन । जामका कारण आमसर्वसाधारणले ठूलो मार खेप्नुपरेको छ । यो बेहिसाब छ । 

यातायात जामका क्रममा नदेखिने घाटा र मार ठूलो भएकाले यसतर्फ नीति निर्माण तहले ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । यातायात तथा पूर्वाधारविद् आशिष गजुरेल विदेशी मुलुकका कुनै मानिस केही समय जाममा पर्दा उनीहरूको खर्च भएको समयलाई मूल्यसँग जोडिने बताउँछन् । तर, नेपालमा त्यस्तो क्षति र समस्या समाधानबारे सरकारले खासै चासो नदिएको उनको आरोप छ । ‘हामीकहाँ सवारीसाधन जाम हुँदा निम्तिने क्षतिलाई खासै वास्ता गरिँदैन,’ उनले भने, ‘सहरी क्षेत्रमा ट्राफिक जाम र सडक अवरोध हुँदा त्यसले ठूलो असर पारेको हुन्छ ।’

यही अध्ययनलाई आधार मानेर ट्राफिक व्यवस्थापनको रणनीतिक योजना बनाउँदै काठमाडौं महानगर
प्राविधिक टोलीले गरेको अध्ययनलाई आधार मानेर काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि रणनीतिक योजना बनाउँदै छ । ‘हामीकहाँ ट्राफिकको अत्यधिक समस्या छ । यसबारेमा थप अध्ययन गरी रणनीतिक योजना बनाउन अर्थविद् चन्द नेतृत्वको प्राविधिक टोलीले गरेको अध्ययनको तथ्यांक लिएका छौँ । विज्ञ टोलीले गरेको अध्ययन विश्वसनीय होला भनेर हामीले आधार मानेका छौँ, यसमा मेयरसापले पनि विशेष चासो दिनुभएको छ,’ महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले भने, ‘त्यही तथ्यांकका आधारमा अब महानगरभित्र ट्राफिक जाम कम गर्ने उपायको खोजी गरिनेछ । यसबारे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभागलगायतसँग पनि छलफलको तयारी भएको छ ।’ अमाजन डटकममार्फत बिक्रीमा राखिएको उक्त अध्ययन प्रतिवेदन महानगरले एक डलरमा खरिद गरेको उनले बताए । 

यसअघि सरकारले सहरी यातायात र ट्राफिक जाम कम गर्न ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन । उपत्यकाका अधिकांश सडकमा पिकआवरमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्न ट्राफिक लाइटसमेत जडान हुन सकेको छैन । हातको इसारामा ट्राफिक नियन्त्रण गर्दा जाम थप बढ्ने गरेको छ ।

ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सीताराम हाछेथू उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ठाउँ–ठाउँमा आकासे पुल निर्माण गर्नुपर्ने, आवश्यक मात्रामा जेब्राक्रसिङ कोर्नुपर्ने, घुम्ती र साँघुरा सडकलाई फराकिला पार्नुपर्ने बताउँछन् । सडक संरचना व्यवस्थित भए ट्राफिक जाम पनि कम हुने उनको सुझाव छ । 

दुई हजार किमि सडकमा एकैपटक गुड्छन् नौ लाख सवारीसाधन 
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उपत्यकामा दैनिक १३ लाख सवारीसाधन छन् । तीमध्ये झन्डै नौ लाख सवारीसाधन बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ७ बजेको बीचमा गुड्छन् । पिक आवरमा एकैपटक धेरै सवारी गुड्दा उपत्यकामा जाम बढ्छ । त्यस्तै, हाल उपत्यकामा दुई हजार किमि सडकमा सवारीसाधनको संख्या बढी हुन्छ । यो मुख्य तथा सहायक पिच सडकको क्षेत्रफल हो । 

सुन्धारा–रत्नपार्क क्षेत्रमा एक मिनेट सडक अवरोध भए २० मिनेट जाम
पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले दुई वर्षअघि गरेको अध्ययनले सुन्धारादेखि रत्नपार्कसम्म बिहान ९ देखि ११ बजेको अवधिमा मात्रै ११ हजार एक सय ८२ मोटरसाइकल गुड्छन् । सोही समयमा सोही ठाउँमा ७ हजार सात सय ३७ चारपांगे्र गाडी गुड्छन् । 

त्यस्तै, बेलुकीको पिक आवर ४ देखि ६ बजेको अवधिमा सोही ठाउँमा १२ हजार सात सय २९ मोटरसाइकल र ६ हजार पाँच सय सात चारपांग्रे गाडी गुड्छन् । त्यहाँ एक मिनेटमा ९९ मोटरसाइकल र ५९ चारपांगे्र वा ठूला सवारीसाधन गुड्छन् । यस क्षेत्रमा एक मिनेट मात्रै सडक अवरोध भयो भने २० मिनेट जाम पर्छ । 

त्यस्तै, सोही समयमा पुरानो बसपार्कदेखि भद्रकालीतर्फ जाने सवारीसाधनको संख्या पनि गणना गरिएको थियो । सो क्षेत्रमा बिहान ९ देखि ११ बजेसम्म ९ हजार तीन सय ९७ मोटरसाइकल र पाँच हजार सात सय ५९ चारपांग्रे गुड्छन् । पूर्वट्राफिक प्रहरी निरीक्षक हाछेथूले वैकल्पिक सडक र वान वेलाई व्यवस्थित गर्ने हो भने जाम कम गर्न सकिने बताए । 

ट्राफिक जाम हुँदा वार्षिक केमा कति क्षति ? 

ढिलाइ : नौ अर्ब ८२ लाख २० हजार ४४० 
सडक जाममा परेर सवारीचालक र त्यसमा सवार यात्रुको काम बिग्रिँदा भएको आर्थिक घाटालाई ढिलाइबाट हुने क्षति शीर्षकमा मूल्यांकन गरिएको छ । यस्तो ढिलाइले वार्षिक नौ अर्ब ८२ लाख २० हजार चार सय ४० रुपैयाँ आर्थिक क्षति हुने गरेको अध्ययनको हिसाब छ । कोही मानिस महत्वपूर्ण काममा समयमै पुग्नुपर्ने थियो, तर सवारी जामका कारण पुग्न सकेन भने त्यसबापत उसलाई पुग्ने घाटाको हिसाब हो यो । त्यस्तै, सवारीसाधन ढिलो गुड्दा त्यसको घर्षण पनि बढी हुने भएकाले सवारीसाधनमा क्षति पुग्छ । 

इन्धन : २ अर्ब ८२ करोड ७८ लाख २६ हजार ५५०
सवारीसाधन कम गतिमा गुड्दा सम्बन्धित ठाउँमा पुग्ने समय लम्बिन्छ र त्यसले इन्धन खपत बढाउँछ । जाममा परेका वेला पनि अधिकांशले सवारीसाधन स्टार्ट गरिरहेकै हुन्छन् । अगाडि बढ्न सवारीसाधनलाई कहिले दायाँ त कहिले बायाँ मोड्दा पनि इन्धनको अनावश्यक खर्च भइरहेको हुन्छ । जामका कारण इन्धनमा वार्षिक दुई अर्ब ८२ करोड ७८ लाख २६ हजार पाँच सय ५० रुपैयाँ खर्च हुने अध्ययनको निष्कर्ष छ । 

सवारीसाधनको मूल्य ह्रास : ३३ अर्ब १८ करोड ८१ लाख 
जाममा फस्दा उपत्यकाभित्र वार्षिक ३३ अर्ब १८ करोड ८१ लाख ५२ हजार रुपैयाँबराबर सवारीसाधनको मूल्य ह्रास खर्च निस्किने अध्ययनमा देखिएको छ । जामका क्रममा बिस्तारै गुडाउँदा सवारीसाधनमा भार बढी पर्छ । त्यसले इन्जिन र पार्टपुर्जामा समस्या देखिन्छ । जसले सवारीसाधनको मूल्य ह्रास हुन्छ । 

प्रदूषण : ७० अर्ब ५० करोड ७० लाख 
सवारीसाधन गुड्दाभन्दा जाममा परेको वेला बढी प्रदूषण हुने अध्ययनले देखाएको छ । अध्ययनअनुसार सडकमा जाम पर्दा वा सवारी नगुड्दा सवारीसाधनले बढी धुवाँ तथा प्रदूषण फ्याँक्ने गर्छ । जाममा परेको वेला अधिकांश सवारीसाधनको स्टार्ट बन्द नहुँदा त्यसले प्रदूषण फैलाउँछ भने तापक्रम बढाउँछ । होहल्लाका कारण ध्वनि प्रदूषण हुन्छ । प्रदूषणले मानव स्वास्थ्यमा असर पुर्‍याउँछ । यस्ता कारणले वार्षिक ७० अर्ब ५० करोड ७० लाख ५० हजार रुपैयाँबराबरको आर्थिक क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ । 

ट्राफिक व्यवस्थापन : १९ करोड एक लाख 
सडकमा सवारी जाम हुँदा ट्राफिक व्यवस्थापनमा वैकल्पिक सडक अपनाउनेदेखि अतिरिक्त ट्राफिक प्रहरी तत्काल खटाउनेसम्मका काम गर्नुपर्छ । वैकल्पिक सडक प्रयोग गर्नेक्रममा साँघुरा सडकमा ठाउँ–ठाउँमा प्रहरी कटाउनुपर्छ । यसले अतिरिक्त आर्थिक भार पर्न आउँछ । यस्तो खर्च वार्षिक १९ करोड एक लाख ९३ हजार तीन सय ६० हुन आउने अध्ययनले देखाएको छ । 

सडक मर्मत : ३५ करोड ९७ लाख
सडकको पनि भारवहन क्षमता र आयु हुन्छ । सडकको भारवहन क्षमताभन्दा धेरै सवारीसाधन एकै समय एकै ठाउँमा रहँदा सडक र पुल जीर्ण बन्ने, सडक धसिने, कालोपत्रमा बढी घर्षण पर्नेजस्ता समस्या हुन्छन् । यही कारण गर्नुपर्ने सडक मर्मतमा वार्षिक ३५ करोड ९७ लाख ४४ हजार खर्च हुने अध्ययनको निष्कर्ष छ ।

दुर्घटना खर्च : १२ करोड २१ लाख 
सडक जाम हुँदा वा रोकिँदा कोही बिरामीको सडकमै ज्यान जाने गर्छ । जाममा बस्दा सवारी हुत्तिने, इन्जिन बिग्रिनेजस्ता कारणले पनि दुर्घटना हुन्छ । यस्ता दुर्घटनामा अतिरिक्त खर्चको भार पर्न जान्छ । यो शीर्षकमा वार्षिक १२ करोड २१ लाख खर्च हुने अध्ययनले देखाएको छ ।