१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Saturday, 28 September, 2024
दीपक भट्ट रामेछाप
२o७९ चैत ३० बिहीबार १o:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१५२ जना भैँसीपालक किसानलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १o:४८:oo

एक सय ५२ जना किसानले पालेका एक सय ७० वटा भैँसीका लागि प्रतिभैँसी दु हजार पाँच सयका दरले सुत्केरी स्याहार प्रोत्साहन भत्ता वितरण

मन्थली नगरपालिकाले व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक सय ५२ जना भैँसीपालक किसानलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । 

मन्थली नगरले आफ्नो पालिकाभित्र व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका किसानको मनोबल वृद्धि गरी उनीहरूको आर्थिक स्तर बढोस् भन्नका खातिर चालू आर्थिक वर्षमा एक सय ५२ जना किसानले पालेका एक सय ७० वटा भैँसीका लागि प्रतिभैँसी दुई हजार पाँच सयका दरले कुल चार लाख २५ हजार रुपैयाँ रकम प्रदान गरिएको मन्थली पशु विकास शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए । 

उनले भने, ‘पालिकाभित्र व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका किसानलाई गत साउनदेखि असोज महिनासम्म निवेदन पेस गर्न  सार्वजनिक रूपमा सूचना नै प्रकाशन गरिएको थियो । सोही सूचनाका आधारमा निवेदन पेस गरेका किसानलाई उक्त रकम उपलब्ध गराएका हौँ । पुनः कात्तिक महिनापछि सुत्केरी भएका भैँसीलाई प्रोत्साहन भत्ताबापतको रकम किसानले माग गरेपछि थप पाँच लाख रुपैयाँ विनियोजन भएको र त्यो रकम पनि किसानलाई वितरण गर्ने तयारीमा छौँ ।’

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा सुत्केरी भैँसीको प्रोत्साहन रकम लिनेमा सदरमुकाम मन्थलीआसपासका वडा मात्रै बढी रहेका छन् । अहिले सुत्केरी भत्ता रकम लिनेमा वडा नम्बर १, २, ५, ६ र ७ का किसान बढी छन् । 

नगरपालिकाले निकालेको सूचना टाढाका वडाका किसानले थाहा नपाउँदा पालिकाआसपासका किसानले मात्रै आवेदन दिएका हुन् । नगरपालिकाले निकालेको सूचना आफ्नो गाउँमा कुनै पनि भैँसीपालक किसानले थाहा नपाएको मन्थली नगरपालिका– १४ का किसान जगतबहादुर भुजेलले बताए । 

भैँसीपालक किसानलाई प्रोत्साहनस्वरूप सुत्केरी रकम प्रदान गरेर नगरपालिकाले राम्रो काम गरेको मन्थली नगरपालिका– १ का किसान विष्णुप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले थालनी गरेको यो अभियान किसानका लागि अत्यन्तै राम्रो छ । नगरले सीमित वडामा मात्रै नभई समग्र नगरभित्रका किसानलाई यो अभियानमा सामेल गराउनुपर्ने र यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’