Skip This
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई साढे दुई वर्ष कैद सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २८ मंगलबार १८:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई साढे दुई वर्ष कैद सजाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार १८:३६:oo

विशेष अदालतले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कर्णबहादुर विष्टलाई कैदको सजाय सुनाएको छ। विशेषले उनलाई दुई वर्ष ६ महिना कैद तथा जरिवाना तिर्ने सजाय सुनाएको हो। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले २० चैतमा विष्टमाथि कसुर ठहर गरे पनि मंगलबार मात्र सजाय निर्धारण भएको हो। यसै मुद्दामा प्रतिवादी बनाइएका नवराज जोशीले भने सफाइ पाएका थिए। 

फैसलाअनुसार विष्टले ११ लाख ४१ हजार रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्नेछ। उनी उपभोक्ता समितिको अध्यक्ष हुँदा वनको नाममा रहेको सवारीसाधन बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको थियो। त्यसपछि अख्तियारले १८ जेठ २०७७ मा मुद्दा चलाएको थियो। 

विष्टले १२ लाख ९० हजार रुपैयाँ तिरेर वन उपभोक्ता समितिले खरिद गरेको ट्र्याक्टर नवराज जोशीका नाममा रहेको देखिएको थियो। जसपछि उक्त रकमबराबर बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा चलाएकोमा अदालतले विष्टलाई दोषी र जोशीलाई निर्दोष ठहर गरेको हो।

विष्ट यसअघि पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन्। कञ्चनपुरस्थित विष्णुधामको खुड्किला निर्माणमा भ्रष्टाचार गरेको ठहरसहित विशेषले उपभोक्ता समितिका अध्यक्ष रहेका उनलाई ४ लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना तिराउने आदेश दिएको थियो। यस विषयमा विष्टविरुद्ध अख्तियारले १५ फागुन ०७६ मा मुद्दा दर्ता गराएकोमा पछिल्लोपटक उनीविरुद्धका मुद्दा सँगै सुनुवाइ गर्दै २० चैतमा विशेषले फैसला गरेको थियो। 

विष्टले भीमदत्त नगरपालिकाबाट रकम लिई निर्माण कार्य नगरेर उक्त रकम हिनामिना गरेको भन्दै सजाय सुनाइएको थियो। उक्त नगरपालिकाको वडा नं. ३ स्थित साकेतधाम विष्णु मन्दिरमा खुड्किला निर्माण योजनाका लागि आर्थिक वर्ष ०६५/६६ मा साढे चार लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ता समितिका अध्यक्ष रहेका विष्टले न त खुड्किला निर्माण गरे न त रकम फरफारक गरेको भेटिएको थियो।