१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय वार्ता हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo

नेपाल र चीनका परराष्ट्रसचिवहरूबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक शुक्रबार बेइजिङमा बस्ने भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रसचिव भरतराज पौड्याल चीन पुगेका छन् । 

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा चीनका परराष्ट्र मन्त्रालयका उपमन्त्री (जो परराष्ट्रसचिवसरह मानिन्छन्) सुन वेइदोङसँग परराष्ट्रसचिव पौड्यालको वार्ता हुनेछ । वार्तामा उत्तरपूर्वी महाशाखा प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायत नेपाली अधिकारी सहभागी हुनेछन् । गत वर्ष यो बैठक भिडियो माध्यमबाट भएको थियो । गत वर्ष परराष्ट्रसचिव पौड्याल र चीनबाट तत्कालीन सहायकमन्त्री वु जियाङघाओले बैठकको नेतृत्व गरेका थिए । नेपाल र चीनबीच सञ्चालनमा आएका नाकाहरूमा कार्गो र मानिसको दोहोरो आवतजावत खुला गर्ने निर्णय भएलगत्तै परराष्ट्रसचिवस्तरीय वार्ता हुन लागेको छ । चिनियाँ सहयोगका परियोजनाको समयबद्ध कार्यान्वयनमा पनि यो बैठकमा छलफल हुने कार्यसूची छ । 

बैठकमा दुई देशबीच राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयनमा भएका प्रगतिको समीक्षा हुने कूटनीतिक अधिकारीहरू बताउँछन् । ‘मुख्य रूपमा उच्चस्तरीय भ्रमणमा भएका सहमतिहरू कार्यान्वयनमा भएका प्रगति समीक्षा हुने र कार्यान्वयन अघि बढाउने प्रतिबद्धता हुन्छ,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । व्यापार, वाणिज्य, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको आदान–प्रदानका विषयमा छलफल हुनेछ ।

परराष्ट्रसचिव पौड्यालले नेपाल र चीनबीच हवाई सेवा निरन्तर हुनुपर्नेमा जोड दिनेछन् । गत साता ल्हासामा वाणिज्यसचिव मधुकुमार मरासिनीले चिनियाँ अधिकारीलाई काठमाडौं–ल्हासा हवाई सेवा सुरु गर्न आग्रह गरेका थिए । परराष्ट्रसचिव पौड्यालले पनि यो एजेन्डा उठाउने गरी तयारी भएको परराष्ट्र स्रोतले जनाएको छ । चिनियाँ पक्षले ल्हासा विमानस्थलको दोस्रो टर्मिनल भवन बन्दै गरेको उल्लेख गर्दै निर्माण सम्पन्न भएपछि काठमाडौं–ल्हासा उडान सुरु हुने जनाउ दिएका थिए । नेपालले विगतमा झैँ यसपटक पनि तिब्बतसँग सीमा जोडिएका नेपाली जिल्लाहरूमा जनताको जीविकोपार्जनका लागि सहयोग बढाउनुपर्ने एजेन्डा राख्नेछ । 

ad
ad