विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को १६औँ संस्करण सुरु भएको छ । भारतको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भव्य आयोजनाबीच सुरु भएको आइपिएल लगातार ५९ दिनसम्म चल्नेछ । रोमाञ्चकताले भरिने आइपिएलमा सधैँको जसो युवा, सिनियर तथा उदीयमान खेलाडीको प्रदर्शन हेर्नलायक हुनेछ । प्रतियोगितामा पाका खेलाडीको उपस्थितिले पनि आइपिएल थप रोचक बनाउनेछ । भारतीय मिडियाले त्यस्ता पाका खेलाडी सम्भवतः अर्कोपटक आइपिएलमा देख्न नसकिने अनुमान लगाएका छन् । भारतीय मिडियाको तथ्यांकअनुसार पाँच क्रिकेटर अर्को वर्ष देखिनेछैनन् ।
१. महेन्द्रसिंह धोनी (चेन्नई सुपर किंग्स, ४१ वर्ष)
सन् २००९ को पहिलो संस्करणदेखि निरन्तर रूपमा आइपिएलमा सहभागी भएका खेलाडीमध्ये चेन्नईका कप्तान धोनी पहिलो नम्बरमा आउँछन् । गत वर्ष अन्य खेलाडीलाई कप्तानीको जिम्मेवारी र अनुभवी बनाउनुपर्ने जनाउँदै उनले कप्तान छाडेका थिए । तर, रवीन्द्र जडेजाको कप्तानीमा धेरै विवाद आयो । यसपटक स्वयं धोनीले चेन्नईको कप्तानी गरिरहेका छन् । पछिल्ला तीन सिजनमा धोनीले १३० को स्ट्राइकमा ब्याटिङ गरेका थिए । यसपटक उनको फिटनेस राम्रो छ । टोलीलाई पुनः उपाधि दिलाउने लक्ष्य उनले राखेका छन् । अन्तिमपटक उनकै कप्तानीमा चेन्नईले सन् २०२१ मा उपाधि हात पारेको थियो । धोनीले आइपिएलमा २३४ खेलबाट चार हजार सात सय ७८ रन बनाएका छन् । उनले २४ पटक अर्धशतकीय इनिङ्स खेले । उनले ३४६ चौका र २२९ छक्का प्रहार गरेका छन् । उनको कप्तानीमा चेन्नईले २०१०, २०११ र २०१८ मा उपाधि हात पारेको थियो ।
२. अमित मिश्रा (लखनउ सुपर जायन्ट,४० वर्ष)
गत वर्षको संस्करणमा मिश्राले लखनउबाट खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । गत वर्ष उनले केवल चार खेलमा ६ विकेट मात्र लिए । पछिल्ला चार सिजनको उनको बलिङ इकोनोमी रेट सात रनभन्दा माथि रहेको थियो । भारतीय क्रिकेट टोलीकै अनुभवी स्पिनर मिश्राले यसपटक लखनउका लागि राम्रो गर्ने बताएका छन् । तर, ४० वर्षका मिश्राको फिटनेस त्यति राम्रो छैन । अहिले लखनउले उनलाई खेलाडीसँगै युवा स्पिनरलाई प्रशिक्षणको समेत जिम्मेवारी दिएको छ । मिश्राले आइपिएलमा १५४ खेलबाट १६६ विकेट लिएका छन् । उनले एकपटक मात्र पाँच विकेटभन्दा माथि लिएका छन् । उनले आइपिएलमा तीनपटक ह्याट्रिक लगाएका छन् ।
३. दिनेश कार्तिक (रोयल च्यालेन्जर्स बेंग्लोर, ३९ वर्ष)
आइसिसी टी–२० विश्वकपमा खराब प्रदर्शन गरेपछि विकेटकिपर ब्याट्सम्यान कार्तिक भारतको टोलीबाट बाहिरिएका छन् । टोलीमा नपरेपछि उनी अहिले कमेन्टेटर र विश्लेषकका रूपमा व्यस्त छन् । आइपिएलमा बेंग्लोरमा रिटेन भएका कार्तिक ३८ वर्षका भएका छन् । गत सिजनमा उनी फिनिसरको भूमिकामा देखिएका थिए । उनले १८३ को स्ट्राइकमा ३३० रन जोडेका थिए । यसपटक पनि उनीबाट बेंग्लोरले यस्तै प्रदर्शनको अपेक्षा राखेको छ । गत सिजनमा दश क्याच र दुई स्टम्पिङ गरेका कार्तिकले सन् २०१३ मा मुम्बई इन्डियन्सबाट उपाधि उचालेका थिए । आइपिएलमा २२९ खेलबाट ४३ सय ७६ रन बनाएका कार्तिकले २० अर्धशतक जोडेका छन् । उनले आइपिएलमा १३३ क्याच र ३४ स्टम्पिङ गरेका छन् ।
४. फाफ डु प्लेसिस ( रोयल च्यालेन्जर्स बेंग्लोर, ३८ वर्ष)
दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसिसले रोयल च्यालेन्जर्सको कप्तानी गरिरहेका छन् । आइपिएलमा सहभागीमध्ये पाका खेलाडीमा रहेका डु प्लेसिसको ब्याटबाट रन आइरहेको छ । प्लेसिसले सन् २०२० को सिजनमा १४० को स्ट्राइकमा ब्याटिङ गरी ४४९ रन बटुलेका थिए । सन् २०२२ को सिजनमा उनले १२७ स्ट्राइकमा ४६८ रन जोडे । दक्षिण अफ्रिकाका यी ब्याट्सम्यान ३८ वर्षका भएका छन् । गत वर्ष विराट कोहलीले कप्तानी छाडेपछि उनको काँधमा यो जिम्मेवारी आएको हो । गत वर्ष बेंग्लोर क्वालिफायर २ मा पराजित भएको थियो । आइपिएलमा डु प्लेसिसले ११६ खेलबाट ३४ सय तीन रन बनाएका छन् । उनको नाममा २५ अर्धशतक छ । आइपिएलमा उनले ३१४ चौका र १०९ छक्का प्रहार गरेका छन् । प्लेसिसले २०१८ र २०२१ को सिजनको उपाधि हात पारे ।
५. रिद्धिमान साह (गुजरात टाइटन्स, ३८ वर्ष)
विकेटकिपर ब्याट्सम्यान रिद्धिमानले फरक दुई टोलीबाट आइपिएल उपाधि हात पारेका छन् । ३८ वर्षीय रिद्धिमानले सन् २०११ मा चेन्नई र २०२२ मा गुजरातबाट उपाधि जितेका थिए । उमेर छिप्पिए पनि उनको प्रदर्शनमा कुनै कमी आएको छैन । विकेटपछाडि रिद्धिमानको प्रदर्शन अब्बल छ । गत सिजनमा उनले दुई खेलाडीलाई स्टम्पिङ र ११ क्याच समाते । गुजरात पहिलोपटक च्याम्पियन हुँदा रिद्धिमानको प्रदर्शन बिर्सन हुँदैन । सन् २०२२ को सिजनमा उनले तीन अर्धशतकसहित ३१७ रन बनाए । उनले १४४ खेलमा २४ सय २७ रन बटुलेका छन् । विकेटपछाडि उनले ७९ क्याच र २२ पटक स्टम्पिङ गरेका छन् ।