मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Wednesday, 02 September, 2026
२o७९ चैत १९ आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गार्ड बसेका शिक्षक नै चिट चोराउन संलग्न रहेकाे भेटिएपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १२:oo:oo

महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित रामदेव जनता माध्यमिक विद्यालयमा गार्डका रूपमा खटाइएका शिक्षक बिक्रमकुमार महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

एसइईको दोस्रो दिन गणित विषयको परीक्षामा ह्वाट्सएपबाट प्रश्नपत्र बाहिर पठाएर उत्तर रिसिभ गरेको भेटिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लसहितको अनुगमन टोलीले उनलाई परीक्षा मर्यादाविपरीत कार्य गर्दैगर्दा पक्राउ गरेको हो।

सोही विद्यालयमा खटाइएका अर्का एक गार्डलाई ड्युटीबाट हटाइएको छ। प्रजिअसहितको अनुगमन टोलीले जिल्लाको पिपरा, रतौली, भ्रमरपुरा र महोत्तरीस्थित परीक्षा केन्द्रहरू अनुगमन तथा निरीक्षण गरेको थियो। सबै केन्द्रमा चिट चोरीको अवस्था पाइएको थियो। प्रजिअ पहाडीले परीक्षा अझै मर्यादित नभएको बताउँदै परीक्षार्थी, केन्द्राध्यक्ष, गार्ड र परीक्षामा खटाइएका कर्मचारीसहित सरोकारवाला सबैलाई थप जिम्मेवार हुन आग्रह गरे।

पक्राउ परेका शिक्षक महतो तीन वर्षदेखि सोही विद्यालयमा प्रावि तहका स्थायी शिक्षक हुन्। उनीमाथि परीक्षा सञ्चालन निर्देशिका र मापदण्डका आधारमा कारबाही हुने प्रजिअ पहाडीले बताए।