१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १९ आइतबार १०:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविको पठनपाठन र परीक्षा प्रक्रिया अस्तव्यस्त : नतिजा एक वर्षमा, सर्टिफिकेट पाँच महिनामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १९ आइतबार १०:३४:००

एकजना कर्मचारी नआउँदा परीक्षा शाखाको सेवा नै बन्द, पदाधिकारी आश्वासन त दिन्छन्, तर कर्मचारी दिँदैनन् 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भद्रगोल अवस्थाले लाखौँ विद्यार्थीले हैरानी भोगिरहेका छन् । एक वर्षसम्म परीक्षाको नतिजा नआउने, कतिपय विषयमा ट्रान्सक्रिप्ट लिन पाँच महिनासम्म धाउनुपर्ने, एकजना कर्मचारी नआउँदा परीक्षा शाखाको सेवा नै बन्द गर्नुपर्ने अवस्थाले विद्यार्थी हैरान बन्ने गरेका छन् । 

त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउने भाषण दिन नलजाउने त्रिविका पदाधिकारी परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक कर्मचारी भने उपलब्ध गराउँदैनन् । यसको मार विद्यार्थीले भोग्नुपरिरहेको छ । जसका कारण विद्यार्थीमा निराशा, बीचैमा पढाइ छाडेर विदेश जाने दर बढिरहेको छ । 

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्

स्नातक तह तेस्रो वर्षको बिबिएसएस, बिएस्सी र बिएडको परीक्षा सम्पन्न भएको करिब एक वर्ष भइसक्यो, तर परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गर्न सकेको छैन । पर्याप्त जनशक्ति नहुँदा समयमै नतिजा निकाल्न सकेका छैनौँ । अब छिट्टै नतिजा सार्वजनिक गर्छौँ ।

स्नातक तह तेस्रो वर्षको बिबिएसएस, बिएस्सी र बिएडको परीक्षा सम्पन्न भएको करिब एक वर्ष भइसके पनि परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा सार्वजनिक गर्न सकेको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमै नतिजा निकाल्न नसकेको बताए । अब छिट्टै नतिजा सार्वजनिक हुने उनले बताए ।

पनिकामा दरबन्दीभन्दा आधा कर्मचारी
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा दरबन्दीभन्दा करिब आधा कर्मचारी कार्यरत छन् । नियन्त्रक जोशीका अनुसार पनिकामा दुई सय ४४ जाना कर्मचारीको दरबन्दी छ । तर, अहिले एक सय २८ जना कार्यरत छन् । भएका कर्मचारीले पनि धमाधम अवकाश पाइरहेका छन् । सिनियर कर्मचारी नहुँदा परीक्षाका गोप्य काममा समस्या भएको छ । आइटीमा १० जना र सिनियर कर्मचारी १० जना अत्यावश्यक रहेको उनको भनाइ छ । कर्मचारी कम भएर कहिलेकाहीँ कुनै शाखामा सेवा प्रवाह गर्न नसकेको भन्दै सूचनासमेत टाँस्ने गरेको उनले बताए । 

कर्मचारी नहुँदा परीक्षामा पास भएका विद्यार्थीलाई समेत समयमै ट्रान्सक्रिप्ट दिन नसक्ने अवस्था छ । ट्रान्सक्रिप्टमा पनिकाको रेकर्ड तथा प्रमाणीकरण शाखाका सहप्रशासक (पहिलो श्रेणी) तहको कर्मचारीले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ । सहप्रशासनक नहुँदा उपप्रशासकले हस्ताक्षर गर्दै आएका छन् । उनी कुनै कारणले कार्यालय नआउँदा उक्त शाखाबाट सेवा प्रवाह गर्न नसकेको सूचना टाँस्ने गरिएको छ । नियन्त्रक जोशीले भने, ‘कहिले बिरामी, कहिले के समस्या हुन्छ, कर्मचारी अभावले महिनाको दुई–तीन दिन शाखाबाट सेवा दिन नसकिएको सूचना टाँस्नुपरेको छ ।’

बिसिएका विद्यार्थीले पाए पाँच महिनापछि ट्रान्सक्रिप्ट 
त्रिभुवन विश्वविद्यालयबाट बिसिए सकेका विद्यार्थीले पाँच महिनापछि बल्ल ट्रान्सक्रिप्ट पाउन थालेका छन् । चार वर्षमा आठ सेमेस्टर अध्ययन गरेका उनीहरूले नतिजा आएको पाँच महिनापछि ट्रान्सक्रिप्ट हात पार्न थालेका हुन् । 

सेमेस्टर प्रणालीमा सञ्चालन भएको बिसिए कार्यक्रमको परीक्षा तथा नतिजा डिन कार्यालयले सञ्चालन गर्ने र ट्रान्सक्रिप्ट परीक्षा नियन्त्रण कार्यालय बल्खुले दिने व्यवस्था छ । यी निकायबीचमा समन्वय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको गुनासो छ । त्रिविले पहिलो वर्ष त्रिविका दुईवटा आंगिक क्याम्पस (पाटन संयुक्त र पद्मकन्या क्याम्पस)बाट बिसिए कार्यक्रम सुरु गरेको थियो । पहिलो ब्याचमा करिब डेढ सय विद्यार्थी थिए । मानविकी तथा सामाजिक संकायअन्तर्गत ‘प्राइभेट’ कार्यक्रमका रूपमा सञ्चालित बिसिए विद्यार्थीमाझ आकर्षण रहेको छ । परीक्षा नियन्त्रक जोशीले अहिले ७० विद्यार्थीले ट्रान्सक्रिप्ट लगेको बताए । 

एकवर्षे कार्यक्रमलाई झन्डै दुई वर्ष, विद्यार्थी निराश
त्रिभुवन विश्वविद्यालयमा शैक्षिक कार्यक्रमको समय लम्बिँदा विद्यार्थीमा निराशा छाएको छ । एक वर्षमा सकिनुपर्ने कोर्सका लागि दुई वर्ष लाग्ने र चार वर्षमा सकिनुपर्ने कार्यक्रम पाँच वर्षभन्दा बढी समय लाग्ने स्थिति छ । यसले नेपालमै अध्ययन गर्ने विद्यार्थीमा निराशा बढेको हो । वार्षिक प्रणालीका प्रायः सबै परीक्षा पछाडि धकेलिएका छन् । 

अहिले त्रिविको स्नातक तह प्रथम वर्षमा दुई ब्याचका विद्यार्थी अध्ययनरत छन् । एउटा ब्याचको भर्खरै पढाइ सुरु भएको छ भने अर्को पुरानो प्रथम वर्षका विद्यार्थी भर्ना भएको १७ महिना भइसकेको छ । फागुनमा हुने भनेको प्रथम वर्षको परीक्षा सरेर वैशाखमा पुगेको छ । 

बिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी भर्ना भएको चार वर्ष बितिसकेको छ । उनीहरूले केही महिनायता तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । उनीहरूको परीक्षा र नतिजाबारे टुंगो छैन । स्नातक तह दोस्रो वर्षका विद्यार्थीको हालत पनि उस्तै छ । अघिल्लो माघ महिनामा भर्ना भएका विद्यार्थी अहिलेसम्म दोस्रो वर्षमै छन् । उनीहरूको परीक्षा कहिले हुने भन्ने टुंगो छैन ।