१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Sunday, 11 May, 2025
सौरभ यादव सप्तरी
२o७९ चैत १६ बिहीबार o६:३७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एउटै सडकमा दुई निकायबाट बजेट

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार o६:३७:oo

सप्तरीको राजविराज नगरपालिका–१४,जिरियाचोकदेखि पुरानो पर्साही मुसर्निया नहर हुँदै राजविराज हनुमाननगर रोड जोड्ने सडक निर्माणका लागि संघीय सरकार र राजविराज नगरपालिकाले दोहोरो बजेट विनियोजन गरी निर्माण कार्य अघि बढाएका छन् ।

यो सडक निर्माणका लागि ९ असार ०७९ मा संघीय सरकारमातहतको पूर्वाधार विकास कार्यालय, सिराहाले पाँच करोड २५ लाख ७७ हजार ३८ रुपैयाँमा ओसिस इन्जिनियर्स एन्ड बिल्डर्सलाई ठेक्का प्रदान गरेको थियो । यो सडक आगामी ८ मंसिरसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

ठेक्का पाएको कम्पनीले निर्माण सुरु गरिसकेको भने छैन । तर, यही सडकमा राजविराज नगरपालिकाले गठन गरेको उपभोक्ता समितिमार्फत ग्राभेल गर्ने काम सकिएको छ । नगरपालिकाले ४६ लाख रुपैयाँ बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत सडक ग्राभेल गरेको हो । 

केन्द्रीय सरकारबाट ठूलो बजेटमा निर्माण हुन लागेको सडकमा नगरपालिकाले उपभोक्ता समितिमार्फत ग्राभेल गरी बजेटको दुरुपयोग गरेको स्थानीय नारायण यादवको भनाइ छ । होर्डिङ बोर्ड राखेर योजनाबारे जानकारी दिनुपर्नेमा उपभोक्ता समितिले हतारमा ग्राभेल सकाएको छ, योजनाको प्रकृति र बजेटबारे स्थानीयलाई जानकारी दिइएको छैन ।

‘उपभोक्ता समिति कसरी गठन भयो र बजेट के–कति खर्च भयो भन्ने जानकारी नै हामीलाई भएन,’ यादवले भने, ‘संघीय सरकारले ठेक्का लगाइसकेको सडकमा नगरपालिकाले बजेट हाल्नु नै गलत भयो ।’

अर्का स्थानीय नुनु मण्डलले निर्माणाधीन सडकको माटोमाथि गुणस्तरहीन ग्राभेल प्रयोग भएको गुनासो गरे । राजविराज नगरपालिकाका प्राविधिक अशोककुमार दासले आफूहरूसँग सहकार्य गरेर सडक निर्माण अघि बढाउनुपर्नेमा केन्द्रीय सरकारले जानकारी नै नदिएका कारण एउटै सडकमा दुई निकायबाट बजेट परेको बताए । त्यस्तै, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले पूर्वाधार विकास कार्यालय, सिराहाबाट सो सडक निर्माण हुनुअघि नै टेन्डर गरी नगरपालिकाबाट ग्राभेलको काम सकिएको दाबी गरे । उनले उपभोक्ता समितिबाट काम सकिएकाले अहिले भुक्तानीको प्रक्रिया अघि बढाएको समेत बताए ।