१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७९ चैत १३ सोमबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नोटको बिगबिगी, ‘प्रिन्टेड’देखि हस्तलिखितसम्म

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ चैत १३ सोमबार १६:३५:००

सर्लाहीका बजारहरूमा खुलेआम नक्कली नोट फेला पर्न थालेको छ । केही दिनयता हजार र पाँच सय दरका नक्कली नोट फेला पर्न थालेको हो ।

प्रिन्ट गरिएको मात्र होइन, हस्तलिखित नोटबाट समेत सर्लाहीको लालबन्दी नगरपालिका– ९ मा आचार्य खाजाघरकी सञ्चालक सिर्जना आचार्य ठगिएकी हुन् । शनिबार साँझ साढे ८ बजेतिर छोटो कद भएका एक व्यक्तिले सानो एक पाकेट गुट्खा खरिद गरी हतारहतार गुटुमुटु पारेको पाँच रुपैयाँको नोट दिएर हिँडे । आइतबार बिहान नोट गन्ने क्रममा मात्र उक्त नोट हातले कोरेर बनाएको नक्कली रहेको थाहा पाइन् ।

त्यसअघि, शुक्रबार पसल बन्द गर्न लागेको अवस्थामा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले एक हजारको एउटा नोट दिएर बियर किनेका थिए । ‘उनले दिएको नोट पनि नक्कली थियो,’ आचार्यले भनिन् ।

सोही वडाको एसियन डिपार्टमेन्ट स्टोरकी सञ्चालक आशा पौडेल पनि यसैगरी ठगिएकी छिन् । ठगले विभिन्न सामान हेर्ने, मोलमोलाइ गरेपछि सय रुपैयाँको सामान खरिद गरेर एक हजारको नक्कली नोट दिएर नौ सय सक्कली रुपैयाँ फिर्ता लिएर गएको उनले बताइन् । आफ्नो स्टोरको सिसिक्यामेरामा ठगको तस्बिर कैद भएको उनले जानकारी दिइन् ।

केही दिनअघि मलंगवा नगरपालिका– १ भेडैया सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको व्यक्तिको साथबाट नक्कली रुपैयाँ बनाउन प्रयोग हुने कागज र कागज काट्न प्रयोग हुने मेसिन बरामद भएको थियो । उनीहरूको साथबाट नक्कली रुपैयाँ कारोबार गरेको बहीखाता, डायरी र चार थान मोबाइल सेटसमेत बरामद भएको थियो । उनीहरू ०७५ सालदेखि नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेको बहीखाताबाट खुलेको थियो ।