१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत १३ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत १३ सोमबार ०६:१०:००

एक किसानको एउटा पुरानो घडी हरायो । घडी महँगो नभए पनि पत्नीले जन्मदिनमा उपहार दिएको हुनाले उनका लागि त्यो निकै प्रिय थियो । त्यसैले उनले यताउता गरेर सबैतिर खोजे । चोटाकोठादेखि आफू पुगेको खेतबारीसम्म सबैतिर खोज्दा पनि नभेटिएपछि उनी निराश भए । तैपनि, उनले घडी भेटाउने आशाले टोलभरिका बालबालिकालाई बोलाएर खोज्न लगाए । उनले घडी भेट्टाउनेलाई सय रुपैयाँ इनाम दिने घोषणा पनि गरे । 

किसानको अनुमति पाएपछि बालबालिकाहरू हल्लीखल्ली गर्दै सबतिर छरिएर खोज्न थाले । तर, लाख कोसिस गर्दा पनि उनीहरूले घडी भेट्टाउन सकेनन् । घरभित्रदेखि बाहिरसम्म सर्वत्र छापा मारिसक्दा पनि घडी नभेटिएपछि उनीहरूले पनि हार माने । उनीहरूले भने– माफ गर्नुहोला काका, हामीले तपाईंको घडी भेट्न सकेनौँ । सायद अब त्यो कहिल्यै भेटिनेछैन । 
त्यति नै वेला भिडबाट एक बालकले भने– काका, एकपटक थप मौका दिनुभयो भने म त्यो घडी भेट्टाउन सक्छु कि भन्ने विश्वास छ । तर, यसपटक म एक्लै घडी खोज्नेछु । किसानले ती बालकलाई अनुमति दिए । बालक घरभित्र प्रवेश गरे । उनी एकएक चोटाकोठा गर्दै खोज्न थाले । उनी कुनै पनि कोठामा पस्थे र चुपचाप शान्त भई एकछिन बस्थे र एकछिनपछि अर्को कोठामा पस्थे । 

अन्तिममा बालक किसान सुत्ने कोठामा पसे । त्यहाँ पसेको केहीबेरमै उनले हातमा किसानको घडी लिएर बाहिर निस्किए । आफ्नो घडी भेटिँदा किसान दंग परे । उनले वाचाअनुसार बालकलाई सय रुपैयाँ इनाम दिए । किसानले बालकलाई उनले घडी कसरी फेला पारे भनेर प्रश्न गरे । 

बालकले भने– म हरेक कोठामा गएर शान्त भएर बसेँ र घडीको टिकटिक सुन्न थालेँ । सुन्दै जाँदा मैले तपाईं सुत्ने कोठाको दराजपछाडिबाट आवाज आइरहेको पत्ता लगाएँ । र, त्यहाँ खोज्दा घडी भेटियो । आखिर मनको शान्तिबाट हामीले भेट्टाउन नसक्ने के नै छ र, काका ?