१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार २०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइजिपी सिंहसहित नौ उच्च प्रहरी अधिकारीको अवकाश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार २०:४५:००

तीस वर्ष सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ उच्च प्रहरी अधिकारीले अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीहरूको शुक्रबार साँझ बिदाइ गरिएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिदाइ गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको भन्दै आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । 

संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतीहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई हस्तान्तरण गरेका छन् । साथै, नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त  भएका महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे । 

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताए । 

प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताए । 

प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेले ३० अवकाश पाएका हुन् ।