
भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीको सांसद पद खारेज भएको छ ।
सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्ष जेल सजायको फैसला सुनाएपछि भारतीय लोकसभा सचिवालयले राहुलको सदस्य पद खारेज गरेको हो ।
अदालतले हिजो त्यस्तो फैसला सुनाएको थियो । त्यसको भालिपल्ट आज लोकसभा सचिवालयले एक विज्ञप्ति जारी गर्दै राहुल गान्धीको लोकसभा सदस्य खारेज गरिएको जनाएको हो ।
यसैबीच, राहलले आफू भारतको आवाजका लागि लडिरहेको बताएका छन् । आज केहीबेरअघि सामाजिक सञ्जालमार्फत उनले भारतको आवाजका लागि लडिरहेको बताएका हुन् । उनले त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन् ।
यता, राहुलको सांसद पद खारेज भएको विरोधमा भारतका विभिन्न स्थानमा कंग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत अदालतको सो फैसला र सांसद पद खारेज गर्ने लोकसभा सचिवालयको निर्णयको विरोध जनाएका छन् ।