
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छिन् । मन्त्री शर्मा देशबाहिर रहेकाले उनको तर्फबाट सञ्चारविज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरे। ताम्राकारको ८७ वर्षको उमेरमा बिहीबार राति काठमाडौंमा निधन भएको थियो ।
रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचारवाचक ताम्राकार नेपाली सञ्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उनको स्वर र योगदानलाई नेपाली जनताले युगयुगसम्म सम्झिरहने बताइन् ।
नयाँ पुस्ताले उनको योगदानबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले सञ्चार क्षेत्रबाट एउटा युगको अगुवाइ गर्ने ताम्राकार महत्त्वपूर्ण व्यक्तित्वको रूपमा रहेको बताइन् । मन्त्री शर्माले ताम्राकारका छोरीहरू हिमा चापागाईं, ब्योमा ताम्राकार, गृष्मा राजभण्डारीलगायत परिवारजनमा समवेदना पनि दिएकी छिन् ।
ताम्राकारको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई माइली छोरी ब्योमा ताम्राकारले दागबत्ती दिइन् । ०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले ०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । उनलाई ०७४ सालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।