१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पुटिन हेगको कठघरामा उभिने सम्भावना कति ?

सन् २००६ मा युगोस्लाभियाको युद्ध अपराधमा मुद्दा चलिरहँदा सर्बियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिकको हेगस्थित जेलमा नै मृत्यु भएको थियो । पूर्वबोस्नियाली सर्ब नेता राडोभान काराड्जिक अन्ततः सन् २००८ मा गिरफ्तार भए र हेगद्वारा दोषी ठहरिए । 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o४:oo

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेन युद्धमा अपराध गरेको आरोपमा केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । यसलाई लिएर विश्व तरंगित भएको छ । धेरैले आइसिसीको यस कदमको प्रशंसा गरेका छन् । तर, रुसलगायत केही देशले भने आइसिसीको कदमलाई मन पराएका छैनन् ।

चीनले आइसिसीले आफूलाई राजनीतिक हतियार बनाउनु नहुने टिप्पणी गरेको छ । यस परिदृश्यमा युक्रेनी बालबालिकालाई तिनका घरबाट बलजफ्ती अपहरण गरेर रुस लगेर मानवताविरुद्धको अपराध गरेको आरोपमाथिको सुनुवाइका लागि पुटिनलाई आइसिसीले हेगमा उपस्थित गराउन सक्ला वा पुटिनको उपस्थितिविनै उनीमाथिको मानवताविरुद्धको अपराधको मुद्दा अघि बढाउला ? केही सम्भावना यस्ता छन् :

रोम विधानअनुसार आइसिसीका सदस्य राष्ट्रहरूले हेगको आदेश कार्यान्वयन गर्नुपर्ने हुन्छ । यदि पुटिन र रुसी राष्ट्रपतिका बालअधिकार हेर्ने आयुक्त मारिया एलभोभा–बेलोभाले आफ्नो देशको भ्रमण गरे आइसिसीका सदस्य राष्ट्रहरूले पक्राउ पुर्जीलाई कार्यान्वयन गर्नुपर्ने दायित्व हुन्छ ।

तर, बहालवाला राष्ट्रपतिले प्राप्त गर्ने कूटनीतिक उन्मुक्तिका कारण उनलाई अहिले कुनै आइसिसी सदस्य राष्ट्रमा यात्रा गरे पनि पक्राउ गर्न सकिनेछैन वा गरिनेछैन । तर, आइसिसीका अभियोजक करिम खानले रोम विधान अनुमोदन गरेका आइसिसीका १२३ सदस्य राष्ट्रमध्ये कुनैमा पुटिन र मारियाले पाइला राखे उनीहरूलाई गिराफ्तार गर्नु उनीहरूको कर्तव्य हुने बताउँछन् । यसले पुटिनलाई यात्रामा निस्किन कठिन बनाउन सक्छ । यद्यपि, वारेन्ट कार्यान्वयन गर्न हेगसँग आफ्नै प्रहरी बल भने छैन । यो कामका लागि ऊ पूर्णरूपमा आइसिसीका सदस्यहरूमा निर्भर छ ।

कोलम्बिया ल स्कुलका प्राध्यापक म्याथ्यु वाक्सम्य आइसिसीले चालेको यो निकै महत्वपूर्ण कदम भएको तर पुटिन गिरफ्तार हुने सम्भावना ज्यादै न्यून रहेको ठान्छन् । पूर्वसुडानी नेता ओमार अल–बसिरलाई पनि आइसिसीले पदमै रहँदा वारेन्ट जारी गरेको थियो । वारेन्टपछि पनि बसिरले दक्षिण अफ्रिका, जोर्डनलगायत आइसिसी सदस्य राष्ट्रहरूको भ्रमण गरेका थिए । सन् २०१९ मा सत्ताच्युत भएपछि पनि सुडानले अझै आइसिसीलाई आफ्ना पूर्वराष्ट्रपति हस्तान्तरण गरेको छैन ।

के हुन् मुख्य बाधा ?
पहिलो त संयुक्त राज्य अमेरिका र चीनजस्तै रुस पनि आइसिसीको सदस्य छैन । रुसले आइसिसी स्थापना गर्ने रोम विधान अनुमोदन गरेको छैन । त्यसैले रुस आइसिसीको क्षेत्राधिकारबाहिर छ । पहिले रोम विधानमा हस्ताक्षर गरेको भए पनि आइसिसीले जर्जियामा सन् २००८ मा भएको युद्धको छानबिन सुरु गरेपछि पुटिनको आदेशमा सन् २०१६ मा रुसले उक्त हस्ताक्षर फिर्ता लिएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले यो अदालतको अधिकार क्षेत्रलाई मान्यता नदिने र कानुनी दृष्टिकोणले यो आदेश अमान्य भएको बताइसकेका छन् ।

बहालवाला राष्ट्रपतिले प्राप्त गर्ने कूटनीतिक उन्मुक्तिका कारण पुटिनलाई अहिले कुनै आइसिसी सदस्य राष्ट्रमा यात्रा गरे पनि पक्राउ गर्न सकिने छैन । तर, आइसिसीका अभियोजक करिम खान रोम विधान अनुमोदन गरेका आइसिसीका १२३ सदस्य राष्ट्रमध्ये पुटिनले कुनैमा पाइला राखे उनलाई गिरफ्तार गर्नु ती देशको कर्तव्य मान्छन् ।

युक्रेनले हालको परिस्थितिमा आइसिसीको क्षेत्राधिकारलाई स्वीकार गरेको भए पनि किभ पनि उसको सदस्य होइन । पुटिनले युद्ध अपराध गरे भनेर युक्रेन आइसिसी गुहार्न गएकाले मात्रै ऊ यो आरोप दायर गर्न सक्षम भएको हो । तर, मस्कोले पुटिनविरुद्धको वारेन्टलाई अर्थहीन भन्दै खारेज गरिसकेको छ । पुटिन मात्र होइन, आइसिसीको सदस्य नरहेको अवस्थामा रुसले आफ्ना कुनै पनि नागरिक हेगलाई सुपुर्दगी गर्नेछैन ।

‘रुसमा शासन परिवर्तन नभएसम्म पुटिन युद्ध अपराधका लागि कठघरामा उभिने सम्भावना छैन,’ लिडेन विश्वविद्यालयका सार्वजनिक अन्तर्राष्ट्रिय कानुनका उप–प्राध्यापक सेसिली रोज भन्छन् ।

कुनै राष्ट्रप्रमुख वा सरकार  प्रमुखलाई हेगमा उभ्याइएको छ ? 
‘इतिहासमा थुप्रै हस्तीहरू अनेकन् अवरोधका बाबजुद युद्ध अपराधमा दण्डका भागी बनेका छन्,’ आइसिसीका खानले भने, ‘यस्ता थुप्रै उदाहरण छन्, जहाँ उनीहरूले आफूलाई कानुनको पहुँचभन्दा बाहिर सोचेका थिए । तर, केही समयपछि उनीहरूलाई अदालतको कठघरामा उभिन पुगे । उदाहरणमा मिलोसेभिक, चाल्र्स टेलर, कराडजिक वा म्लाडिकलाई नै हेर्न सकिन्छ ।’ पूर्वलडाकुबाट राष्ट्रपति बनेका लाइबेरियाका टेलरलाई आइसिसीले सन् २०१२ मा युद्ध एवं मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको थियो ।

सर्बियाका पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिक युगोस्लाभियाको युद्ध अपराधमा आमसंहारको मुद्दा चल्दै गर्दा सन् २००६ मा हेगमा थुनामा नै मरेका थिए । पूर्वबोस्नियाली सर्ब नेता राडोभान काराड्जिक अन्ततः सन् २००८ मा गिरफ्तार भए र हेगद्वारा दोषी ठहरिए । यस्तै, उनका सेना प्रमुख रयाट्को म्लाडिक सन् २०११ मा गिरफ्तार भए र उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।

अन्य विकल्प ? 
आइसिसीले आरोपितहरूलाई उपस्थितिविना मुद्दा चलाउन सक्दैन । तर, खानका अनुसार अदालतमा मुद्दा अगाडि बढाउन ‘अन्य विकल्प’ पनि छन् । उनले युगान्डाका लर्ड्स रेसिस्टेन्स आर्मीका नेता जोसेफ कोनीविरुद्धको मुद्दाको उदाहरण लिए । कोनी फरार रहे पनि उनीविरुद्धको मुद्दा अगाडि बढेको थियो । ‘यो प्रक्रिया अन्य केसमा पनि उपलब्ध हुन सक्छ । पुटिनको केसमा पनि हुन सक्छ,’ खानले थपे ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आइसिसीको निर्णय रुसका लागि रद्दी कागज भएको बताइन् । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पनि ट्विटरमा उक्त वारेन्टलाई ट्वाइलेट पेपरसँग तुलना गरेका छन् । रुसी विपक्षी दलका सदस्यहरूले भने आइसिसीको कदमको प्रशंसा गरेका छन् । ‘अनुपस्थितिका बाबजुद गिरफ्तार भएकोमा भ्लादिमिर भ्लादिमिरोविचलाई बधाई ! यो पहिलो कदम मात्र हो,’ जेलमा एक दशक बिताएका क्रेमलिनका आलोचक मिखाइल खोडोरकोभस्कीले सामाजिक सञ्जालमा भनेका छन् । ‘पुटिनको खोजी गर्नुहोस्,’ जेलमा रहेका विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीका सहयोगी भ्लादिमिर मिलोभ ट्विट गर्छन् ।

 

ad
ad