मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
फ्रन्ट पेज प्रिन्ट संस्करण

अभियानकर्ताले हात झिकेपछि खण्डहर बन्दै गौतमबुद्ध रंगशाला 

Read Time : > 2 मिनेट
२०७९ चैत ८ बुधबार ०६:२६:००

धुर्मुस–सुन्तली फाउन्डेसनले गरेको निर्माणमा भरतपुर महानगरको लेखापरीक्षण प्रतिवेदन : रंगशालामा खर्च ६३ करोड, ऋण १८ करोड

धुर्मुस–सुन्तली फाउन्डेसनले देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थाले पनि आर्थिक अभाव देखाउँदै डेढ वर्षदेखि काम रोकिएर अलपत्र छ । २० माघ ०७५ मा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले भरतपुर– १५ स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा डोजर चलाउँदै रंगशालाको डिपिआर प्रक्रिया सुरु गरेका थिए । उनीहरूले ६ महिनाभित्र डिपिआर सकेर दुई वर्षभित्र रंगशाला तयार गर्ने उद्घोष पनि गरेका थिए । तर, अभियानकर्ताले नै हात झिकेपछि ३० हजार दर्शक क्षमताको रंगशाला खण्डहर बन्दै गएको छ ।

प्यारापिटका लागि तयार गरिएका पिलरका फलामे छडमा खिया लागेको छ । केही रड भुइँमा लतारिएका छन् । प्यारापिटका लागि भुइँमा राखिएका रड पनि काम नलाग्ने भएका छन् । मैदान झाडीमा बदलिएको छ । घामपानीले संरचना बिग्रिएका छन् । निर्माणस्थलनजिकै रहेको नमुना रंगशालाको अवस्था पनि बिजोग छ । फाउन्डेसनले रंगशालाका लागि उधारोमा किनेका सामग्रीको १८ करोडभन्दा बढी रकम तिर्न बाँकी छ । 

कोरोनाका कारण आर्थिक स्रोत जुटाउन नसकेको भन्दै फाउन्डेसनले निर्माणकै क्रममा सम्झौताअनुसार भरतपुर महानगरपालिकालाई २ पुसमा स्वामित्व हस्तान्तरणका लागि पत्राचार गरेको थियो । महानगरले केन्द्र सरकारबाट सञ्चालन होस् भनेर संघीय मामिला मन्त्रालयलाई पत्र पठायो । खेल पूर्वाधारसँग सम्बन्धित परियोजना भएकाले खेलकुद मन्त्रालय पुगेको फाइल अध्ययनका लागि भन्दै मन्त्रिपरिषद्ले कार्यदल बनायो । कार्यदलले रंगशालाको अध्ययनसमेत सकायो । 

डेढ वर्षदेखि मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाइरहेका फाउन्डेसनका अध्यक्ष कट्टेल हस्तान्तरण छिट्टै टुंगिने आशामा छन् । ‘बिदाको दिनबाहेक अधिकांश समय सिंहदरबारभित्रै हुन्छु । कहिले खेदकुद, कहिले अर्थ त, कहिले सहरी विकास मन्त्रालयको ढोकामा पुग्छु । उनीहरूले प्रधानमन्त्री कार्यालयदेखि जहाँ–जहाँ जान भन्छन्, ज–जसलाई भेट्न भन्छन्, त्यही गरिरहेको छु,’ उनले भने, ‘नराम्रो गरेको छैन, आशा गरौँ छिट्टै टुंगिनेछ । रंगशाला अलपत्र बन्नुहुँदैन ।’ मंगलबार मात्रै कट्टेलले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’को फेसबुक पेजमा एक भिडियो सेयर गर्दै आफूले कतैबाट सहयोग नपाएको र मानसिक यातना भोगिरहेको गुनासो गरेका छन् । आर्थिक अभावका कारण काम गर्न नसकेको भन्दै उनले अझै पनि आसमै बसेको र कतै नभागेकोसमेत स्पष्ट पारेका छन् । यद्यपि, धुर्मुस–सुन्तली फाउन्डेशनको पारदर्शितामाथि पनि प्रश्न उठिरहेको छ । उक्त रंगशाला निर्माणका लागि संघीय सरकारले बजेट छुट्याए पनि मन्त्रिपरिषद्बाट निर्णय नहुँदा प्रस्ट टुंगो लागेको छैन । 

के–के बनेको छ ?

रंगशालाको ३५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । ३० हजार दर्शक क्षमताको रंगशालामा तीन हजार दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट पहिलो चरणमा बनेको छ । प्यारापिटका दुई सय ८३ पिलर उठाइएको छ । प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको देखिन्छ । टावर ‘वान’को पिलर उठाई सकेर बिम ढलान भएको छ । टावर ‘टु’को अगाडिको जग सम्पन्न भएको छ । ९० प्रतिशत काम सकिएको मैदानको पिच गर्न मात्रै बाँकी छ । पिच बनेको भए खेल खेलाउन सक्ने मैदान बन्थ्यो । गत २३ साउनदेखि रंगशालाको काम पूर्ण रूपमा ठप्प छ । २ पुसदेखि आधिकारिक रूपमै रंगशालाको काम रोकिएको छ । 

भरतपुर महानगरको लेखापरीक्षण प्रतिवेदन : अहिलेसम्म खर्च ६३ करोड, ऋण १८ करोड
महानगरले गरेको रंगशालाको स्वतन्त्र लेखापरीक्षणमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको २० माघसम्म कुल खर्च ६३ करोडभन्दा बढी छ । जसमध्ये चार प्रतिशत कार्यालय व्यवस्थापन खर्च, १५ प्रतिशत बोलपत्रदाताको ओभरहेड र १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश गर्दा कुल खर्च ६३ करोड २२ लाख पाँच हजार दुई सय ८० रुपैयाँ पुग्ने प्रतिवेदनमा उल्लेख छ । रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार पाँच सय ८८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ । रंगशाला परियोजना १८ करोड १२ लाख ४७ हजार एक सय ५० रुपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । रंगशाला निर्माणमा आर्थिक अभाव भएपछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो तथा अन्य केही व्यक्तिको नाममा सहकारी र व्यक्तिगत रूपमा रुपैयाँ ऋण लिएको देखिन्छ । रंगशाला बनाउन साढे तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो ।

भरतपुरकी मेयर रेनु दाहाल भन्छिन्– केही दिनमा खुसीको खबर सुन्न पाउनुहुनेछु

एकदिवसीय क्रिकेटमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेपछि मैले खेलाडीको हैसलाका लागि ‘ढुक्क हुनुस्, भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ, केही दिनमा खुसीको खबर सुन्न पाउनुहुनेछ’ भनेर सामाजिक सञ्जालमा पनि लेखेको थिएँ । हामी रंगशाला बनाउने प्रक्रियामा रातदिन लागिरहेका छौँ । यसबारे धेरै चरणमा बैठक भएको छ । रोकिएको कामको समन्वय गरेर अघि बढ्न लागेका छौँ । आउने मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय गर्छ होला । ऋणका कारण समस्या भएको हो । अब जहाँ समस्या हो, त्यो गाँठो फुकाउने गरी काम हुन्छ । फाउन्डेसनलाई केन्द्र सरकारबाट एकमुस्ट ऋण तिर्न अनुदान दिएर भए पनि काम अघि बढाउने तयारी छ । क्रिकेटप्रतिको आकर्षण र चर्चाले मात्र होइन, रंगशाला अति आवश्यक छ ।