मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई दशकदेखि अलपत्र क्रिकेट पूर्वाधार

Read Time : > 13 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत ८ बुधबार ०६:३२:००

खेलाडीको लगनले एकपछि अर्को सफलता प्राप्त गरे पनि देशभित्र क्रिकेट पूर्वाधारको अवस्था दयनीय छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एउटा रंगशालासमेत छैन । निर्माणाधीन रंगशाला पनि अलपत्र छन् । नेपाल क्रिकेट संघ आन्तरिक विवादले आफैँ भद्रगोल छ । 

खेलाडीको लगनले क्रिकेटमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । तर, देशभित्र क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एउटा पनि रंगशाला छैन । सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण निर्माणाधीन रंगशाला पनि अलपत्र छन् । देशभित्र र अन्तर्राष्ट्रिय मञ्चमा क्रिकेटको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि पहल गर्ने जिम्मेवारी बोकेको नेपाल क्रिकेट संघ (क्यान) आन्तरिक विवादले आफैँ भद्रगोल छ । 

त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा देशको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, त्यो पनि त्रिविकै स्वामित्वमा । त्यसैले सरकारले १९ वर्षअघि ०६० मा काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– ६ स्थित मूलपानीमा अर्को अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने गुरुयोजना ल्यायो । ०६० मै जग्गा प्राप्तिपछि ०७१ देखि ठेक्का लगाएर रंगशाला निर्माणको काम सुरु भयो । तर, राष्ट्रिय गौरवको आयोजनाभित्र समेटिएको यो क्रिकेट रंगशाला हालसम्म पनि अधुरै छ ।

ठेकेदारलाई पनि समयमै काम सक्न निर्देशन दिएका छौँ : लवराज जोशी, सूचना अधिकारी, खेलकुद मन्त्रालय
रंगशाला निर्माण गरेर व्यवस्थित तरिकाले सञ्चालन गर्ने जिम्मा खेलकुद परिषद्को हो । परिषद्ले लामो समयसम्म पनि रंगशाला निर्माण गरेको छैन । यसमा मन्त्रालयले निगरानी गरिरहेको छ । हामीले ठेकेदारलाई पनि समयमै काम सक्न निर्देशन दिएका छौँ ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई रंगशाला निर्माणको जिम्मा दिएको छ । परिषद्ले प्रतिष्ठा सुनकोसी आर एन्ड सी जेभी कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । ०७३ असारसम्म सक्नुपर्ने पहिलो चरणको ठेक्का तीनपटक म्याद थपेर ०७५ मा मात्रै सकाएको कन्स्ट्रक्सनलाई नै दोस्रो चरणको ठेक्का सुम्पिँदा फेरि पनि ढिलासुस्ती गरेको छ । झन्डै १३ हजार दर्शक अट्ने क्षमताको रंगशालाको दोस्रो चरणमा ३५ प्रतिशत मात्रै काम भएको छ । जब कि १४ मंसिर ०७७ मा लागेको ठेक्का सम्झौताअनुसार आगामी असारसम्म सक्नुपर्नेछ । तर, तोकिएको समयमा निर्माण सकिन असम्भव छ । दुईवटा ब्लक, जनरल प्यारापिट, एउटा भिआइपी कक्ष, खेलाडीको चेन्जिङ रुमलगायत संरचना बनाउन बाँकी छ । त्यस्तै, रंगशालाको पश्चिमतर्फ बाटो निर्माण र पार्किङ व्यवस्थापनको कार्य पनि बाँकी नै छ । पहिलो चरणअन्तर्गत मैदान सम्याउने र तीनवटा प्यारापिट ब्लक निर्माण गर्ने काम भने भइसकेको छ । 

दुई चरणमा गरी रंगशाला निर्माणका लागि सरकारले भ्याटबाहेक २८ करोड बजेट व्यवस्था गरेको छ । पहिलो चरणको ठेक्कामा १७ करोड खर्च भएको थियो । दोस्रो चरणमा नौ करोड सकिएको छ । दोस्रो चरणअन्तर्गत तल्लो रंगशालामा छेउछाउमा पिच गर्ने, दुबो रोप्नेजस्ता काम भइरहेका छन् ।

सरकारले स्थानीयवासी र स्थानीय सरकारसँग समन्वय गर्दा ढिलाइ भएको कागेश्वरी–मनोहरा– ६ का वडाध्यक्ष प्रकाश फुँयालले बताए । ‘रंगशाला निर्माणमा केन्द्रीय सरकारको लापरबाही देखिएको छ, कम्तीमा स्थानीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्थ्यो,’ उनले भने, ‘त्यसैले समयमै सम्पन्न भएन ।’ 

खेलकुद मन्त्रालयका सूचना अधिकारी लवराज जोशीले भने रंगशाला निर्माण गरेर व्यवस्थित तरिकारले सञ्चालन गर्ने जिम्मा परिषद्को रहेको बताए । ‘उहाँहरूले लामो समयसम्म पनि रंगशाला निर्माण गर्नुभएको छैन, यसमा मन्त्रालयले निगरानी गरिरहेको छ,’ उनले भने, ‘हामीले ठेकेदारलाई पनि समयमै काम सक्न निर्देशन दिएका छौँ ।’

आयोजनाका नाममा दुई सय ९४ रोपनी ११ आना दुई दाम जग्गा छ । यो क्षेत्रफलमा दुई रंगशाला बन्दै छन् । माथिल्लो भागमा रहेको दुई हजार चार सय मिनी क्षमताको स्टेडियम भने तयार भइसकेको छ । 

आइसिसीको आर्थिक सहयोगमा ०६८ मा निर्माण सुरु गरिएको माथिल्लो रंगशाला चार करोड लागतमा दुई वर्षअघि निर्माण सकिएको हो, जहाँ टुर्नामेन्टहरू पनि चलिरहेका छन् । यहाँ क्यानको भवन समेत बनिसकेको छ ।

ढिलाइ गर्ने ठेकेदारकै बचाउमा खेलकुद परिषद्

विगतमा १३ घरले क्षतिपूर्ति नपाएको भन्दै रंगशाला निर्माणमा विरोध गरेका थिए । तर, खेलकुद परिषद्ले हाल उक्त विवाद टुंगिएको बताएको छ । यद्यपि, निर्माणमा ढिलाइ गरिरहेको ठेकेदारकै पक्षमा खेलकुद परिषद् छ । पहिलो चरणमा तीनपटक म्याद थपेर काम सकेको ठेकेदार कम्पनीलाई नै दोस्रो चरणको पनि ठेक्का दिएको परिषद्ले कोरोना, आर्थिक अभाव, भूकम्पजस्ता कारणले समयमा काम नसकिएको तर्क गरेको छ । 

‘कोभिड, आर्थिक अभाव र भूकम्पजस्ता कारणले रंगशाला निर्माणको काममा अवरोध भएको हो, अहिले ठेकेदारले तीव्र गतिमा काम गरिरहेको छ । आगामी असारम्म सकिन्छ,’ परिषद्का इन्जिनियर प्रभाव बरालले भने, ‘आर्थिक समस्याकै कारणले एकै ठेकेदार कम्पनीलाई दुईपटक ठेक्का लगाउनुपरेको हो ।’ सरकारले बजेट निकासामा ढिलाइ गर्दा ठेक्का प्रक्रिया ढिला भएको उनको दाबी छ ।

सधैँ विवादमा क्यान

घरेलु क्रिकेटको विकास लागि देशभित्र र अन्तर्राष्ट्रिय मञ्चमा पहल र लबिङ गर्ने दायित्व बोकेको संस्था नेपाल क्रिकेट संघ (क्यान) निरन्तर विवादमा पर्ने गरेको छ । विवादकै कारण १३ वैशाख ०७३ मा क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतिबन्ध लगाएको थियो । क्यानले समयमै अडिट रिपोर्ट नबुझाएको, सरकारी हस्तक्षेप भएको, आन्तरिक विवाद बढेकोलगायत कारण देखाउँदै आइसिसीले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित अवस्थामा नेपाली टोलीले आइसिसीकै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो ।

निलम्बनकै बीच ११ असोज ०७६ मा क्यानको नयाँ नेतृत्व चयन भयो, चतुरबहादुर चन्दले नेतृत्व सम्हाले । लगत्तै २७ असोज ०७६ मा आइसिसीको बोर्ड बैठकले क्यानमाथिको प्रतिबन्ध ससर्त फुकुवा गर्ने निर्णय गर्‍यो । नयाँ नेतृत्व आएपछि पनि क्यानको अन्तरिक विवाद भने यथावत् नै छ । गत वर्ष तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलाडी वर्गीकरणमा क्यानले वैज्ञानिक ढाँचा नअपनाएको भन्दै विरोध जनाए । दुवै खेलाडी क्यानको निलम्बनमा परे । खेलाडीमाथि कारबाही गर्दा पनि क्यान विभाजित भयो । मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइयो । 

दुई महिनाअघि क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० क्रिकेट झन् विवादमा पर्‍यो । दश वर्षका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग आयोजना गर्ने अधिकार क्यानले दियो । प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टस्ले चरणबद्ध रूपमा क्यानलाई १० वर्षभित्र ४२ करोड नेपाली रुपैयाँ दिने भनिएको थियो । तर, भारतीय कम्पनीले बाचाअनुसार नेपाल टी–२० लिगलाई सफलतापूर्वक सञ्चालन गर्न सकेन । बरु, प्रतियोगितामा फिक्सिङ भएको प्रमाणित भयो । जसमा आइसिसी, सिबिआई तथा राष्ट्रिय खेलकुद परिषद्ले अनुसन्धान गरेका थिए । भारतीय कम्पनीले नेपाल टी–२० लिगलाई विवादास्पद बनाएर बीचमै छाडेर गयो । भारतमा समेत विवादित रहेको कम्पनीले नेपाली खेलाडीलाई शतप्रतिशत पारिश्रमिक पनि दिएन ।

जिल्ला–जिल्लामा अलपत्र क्रिकेट रंगशाला

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । ०६० मा गुरुयोजना बनाएर ०७१ मा ठेक्का लगाएको रंगशाला अझै सम्पन्न हुन सकेको छैन । पहिलो चरणअन्तर्गत मैदान सम्याउने र तीनवटा प्यारापिट ब्लक निर्माण गर्ने काम भयो ।

दोस्रो चरणमा वरिपरि वाल लगाउने, जग्गा संरक्षण गर्ने, मुआब्जा विवाद सुल्झाउने र ग्राउन्ड क्लियर गर्ने काम सकिएको छ । पिच गर्ने, दुईवटा ब्लक बनाउने, जनरल प्यारापिट निर्माण गर्ने, एउटा भिआइपी कक्ष, खेलाडीको चेन्जिङ रुमलगायत संरचना बनाउन बाँकी छ ।

रंगशालाको पश्चिमतर्फ बाटो निर्माण र पार्किङ व्यवस्थापनको कार्य पनि बाँकी नै छ । यी काम गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ । तर, ठेकेदारलाई दिइएको म्याद असार ०८० सम्म हो । अहिलेसम्मको भौतिक प्रगति हेर्दा अभैm पनि तोकिएको समयभित्र निर्माण सम्पन्न हुने देखिँदैन । 

०७१ मा निर्माण थालिएको बैतडीको रंगशाला पनि अलपत्र

आठ वर्षअघि निर्माण थालिएको बैतडीस्थित सुन्दरखाली क्रिकेट रंगशाला पनि अलपत्र छ । ०७१ मा राष्ट्रिय खेलकुद परिषद्ले ११ करोड लागतमा निर्माण सुरु गरेको थियो । तर, मैदान कटिङको काम पूरा हुन नपाउँदै विवाद भयो । 

पहिलो ठेक्काको बिल उठाउने वेला ठेकेदार कम्पनी चन्द्रा एन्ड वसन्त कन्स्ट्रक्सन र राखेपबीच विवाद भएपछि थप काम अगाडि बढ्न सकेन् । एक वर्षको अवधिमा एक करोड १९ लाखको काम भए पनि परिषद्ले ३० लाख भुक्तानी रोकेपछि काम गर्न बन्द गरिएको चिन्द्रा कन्स्ट्रक्सनका इन्जिनियर गोविन्द केसीले बताए । तर, राखेपले भने मूल्यांकनका आधारमा भुक्तानी गरेको दाबी गरेको छ । 

पहिलो चरणमा मैदान सम्याउने काममै विवाद भएपछि राखेपले नयाँ टेन्डर आह्वान गरेन । त्यसको दुई वर्षपछि ०७३ कात्तिकमा पुनः डिपिआर गर्ने भन्दै प्राविधिक टोली बैतडी पुगे पनि कुनै काम अगाडि बढेको छैन । रंगशालामा ५५ गेजभन्दा बढीको खेलमैदान, डे«सिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हल हुने भनिएको थियो ।

त्यसपछि पनि दशरथचन्द नगरपालिकाले वेलावेला मैदान सम्याउने काम गर्‍यो, तर ठोस प्रगति भने भएन । ०७६ मा नगरपालिकाले मैदान सम्याउन २५ लाख खर्च गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । ०७७ मा १५ लाख मेयर र १० लाख उपमेयरको कोषबाट खर्च गरिएको तत्कालीन मेयर नरेन्द्र थापाले बताए । कटिङको काम पूरा भएको यो खेलमैदान अधुरै रहँदा स्थानीयस्तरका प्रतियोगिता पनि हुन सकेका छैनन् । क्यान बैतडीका अध्यक्ष विनोद चन्दले मैदान सम्याउन नगरपालिकासँग रकम माग गरिएको बताए । रोलरले सम्याएपछि अभ्यास गर्न मिल्ने उनको भनाइ छ । 

रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरका दुई क्रिकेट रंगशाला निर्माण कछुवा गतिमा

रुपन्देहीमा बनाउने भनिएका दुईवटा क्रिकेट रंगशालाको काम पनि सुस्त छ । सिद्धार्थनगर नगरपालिकामा रहेको रंगशालाको काम कछुवा गतिमा छ भने सैनामैनामा क्रिकेट मैदानका लागि बल्ल गुरुयोजना बनाउने काम थालिएको छ ।

सिद्धार्थनगरमा ३८ करोड लगानीमा सात हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न ०७५ मा गुरुयोजना बनेको थियो । तर, अहिलेसम्म एउटा मैदान र एउटा प्याराफिट मात्र बनेको छ । ०७६ मा चार करोड, ०७७ मा एक करोड, ०७८ मा ५० लाख र ०७९ मा एक करोड ५० लाख बजेट विनियोजन भएको क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले बताए ।

गत शनिबार रुपन्देही सुपर लिग क्रिकेटको समापनमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सिद्धार्थ रंगशालालाई काडमाडौंको वैकल्पिक खेल मैदानका रूपमा विकास गर्ने बताएका थिए । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरिबहादुर थापाका अनुसार ०७५ को गुरुयोजनाअनुसार काम अघि बढे पनि बजेट अभावका कारण गति लिन नसकेको हो ।

सैनामैना नगरपालिकामा दुई अर्ब लागतको क्रिकेट रंगशाला बनाउन जग्गा उपलब्ध भए पनि गुरुयोजना बनिसकेको छैन । अहिले गुरुयोजना बनाउने काम भइरहेको क्यानले जनाएको छ । 

पोखरामा एक अर्ब ६३ करोडको रंगशाला बनाउन डिपिआर तयार, तर ६ वर्ष बित्दा पनि काम भएन

संघीय सरकारको स्वामित्वमा रहेको पोखरा रंगशालाभित्र क्रिकेट मैदान छ । तर, मैदानमा पिच र शौचालयबाहेक अन्य आवश्यक भौतिक संरचना भने छैन । खेल अवधिका लागि अस्थायी संरचना बनाएर यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भने हुँदै आएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले मैदानमा एक अर्ब ६३ करोड लागतमा क्रिकेट स्टेडियम बनाउन ०७३ मै डिपिआर तयार पारेको थियो । तर, डिपिआर बनेको ६ वर्ष बित्न लाग्दासमेत स्टेडियम बन्ने–नबन्ने टुंगो छैन । 

चालू आर्थिक वर्षमा सो मैदानका लागि संघीय सरकारले दुई करोड विनियोजन गरेको छ । सो रकमबाट भिआइपी ब्लकको एउटा खण्ड तयार गर्नका लागि राखेपले टेन्डर आह्वान गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर अनिल अधिकारीले बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले मैदानमा तत्काल अन्य केही संरचना तयार गर्न नसके पनि काठमाडौंको त्रिवि मैदानमा भएजति संरचना बनाउन आवश्यक रहेको बताए । एक अर्ब ६३ करोडको रंगशाला बनाउन डिपिआर तयार गर्ने, तर रकम दुई करोड मात्र विनियोजन हुँदा काम गर्न नसकिएको उनको भनाइ छ । 

प्रदेश सरकारको योजना पनि अलपत्र 
गण्डकी प्रदेश सरकारको ४ फागुन ०७४ मा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले पनि पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । पोखरा महानगरपालिका– १२ स्थित पशुपतिघाटको जग्गा पनि छनोट गर्‍यो । तर, पछि संघबाट मैदान निर्माणका लागि आवश्यक करिब एक सय ४० रोपनी जग्गाको भोगाधिकार पनि प्राप्त गरेको थियो । 

त्यसपछि गण्डकी सरकारले डिपिआर तयार गरेर एक अर्ब २८ करोडको लागत स्टिमेट तयार गर्‍यो । तर, प्रदेश सरकारले ०७७ मा जम्मा दुई करोड बजेट मात्रै विनियोजन गरेपछि कुनै काम अघि बढेको छैन । पशुपतिघाटको जग्गा नदीको कटानका कारण दिनप्रतिदिन घट्दै गएको छ । 

बैजनाथपुर क्रिकेट रंगशालालाई स्पोर्टस् कम्प्लेक्स बनाउने चुनावी मुद्दा मात्र 

मोरङको विराटनगर महानगरपालिका– १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालालाई स्पोर्टस् रंगशाला बनाउने चुनावी मुद्दामा सीमित बनेको छ । प्रदेशदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलका उम्मेदवारले बैजनाथपुर क्रिकेट रंगशालालाई स्पोर्टस् कम्प्लेक्सका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुबाहेक काम अगाडि बढेको छैन ।

०५७ मा सरकारले ८५ लाखमा १५ बिघा जग्गा खरिद गरेर प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण थालेको थियो । तर, हालसम्म त्रिकेट मैदानको सामान्य घेरबार र एउटा दर्शक प्यारापिट बनाउने काम मात्र भएको छ । रंगशालमा अझै प्यारापिट र पेभिलियन निर्माण गर्न बाँकी छ ।

बैजनाथपुर क्रिकेट रंगशाला निर्माणका लागि संरक्षणकर्ता तोकिएका शिरीष रिजाल बजेट अभावमा क्रिकेट मैदानको स्तरोन्नित हुन नसकेको बताउँछन् । पेभिलियनका लागि जग खडा गरे पनि बजेट अभावमा काम अगाडि बढेको छैन । 

यो रंगशाला मोरङ ४ मा पर्छ । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश आचार्य र त्यसपपछि वाम गठबन्धनका अमनलाल मोदीले रंगशालालाई स्पोर्टस् कम्प्लेक्स चुनावी मुद्दा बनाएका थिए । तर, रंगशालाको स्तरोन्नति भएको छैन ।

हाल प्रदेश सभामा विजयी कांग्रेसका सांसद भीम पराजुली, प्रतिनिधिसभामा पराजित उम्मेदवार एमालेका विनोद ढकाल र संघीय समाजवादी फोरमका उमेश यादवले समेत बैजनाथपुर क्रिकेट रंगशालालाई स्पोर्टस् कम्प्लेक्स बनाउने चुनावी मुद्दा बनाएका थिए ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष क्रिकेट खेलका लागि राष्ट्रिय खेलकुद परिषद्ले ६० लाखमा (टर्फ विकेट) क्रिकेटको घाँसेमैदान तयार गरेको थियो । मैदानको ३० र्‍याडमा घाँस रोपिएको थियो । ४० लाखमा सुटिङ भवन र रेन्जको निर्माण गरिएको थियो । यसअघि कोसी प्रदेश सरकारले क्रिकेट मैदानमा पिच बनाउन ३० लाख विनियोजन गरेको थियोे । तर, रकम खाल्डोमा माटो पुर्नमै सकियो । यहाँ क्रिकेट, सफ्ट टेनिस र सुटिङ खेलको पूर्वाधार तयार गरेर गत वर्ष सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारले पूर्वाधार समिति बनायो, डिपिआरका लागि बजेट दिएन

धनगढीको फाप्लामा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणको घोषणा गरिए पनि डिपिआर निर्माणको कामसमेत अगाडि बढ्न सकेको छैन । सुवास शाहीको अध्यक्षतामा पूर्वाधार निर्माण विकास समिति पनि गठन भएको छ । तर, बजेट नपाउँदा डिपिआर निर्माणको प्रक्रिया नै अगाडि बढेको छैन ।

‘सरकारले रंगशाला निर्माण हुनुपर्ने माग सम्बोधन त गर्‍यो, तर डिपिआरका लागि पनि बजेट आएको छैन,’ शाहीले भने, ‘देशको आर्थिक अवस्था कमजोर भएकाले पनि यस वर्ष बजेट नआएको बुझेका छौँ । आगामी वर्ष आउला ।’ डिपिआरका लागि करिब २० करोड आवश्यक पर्ने समितिको अनुमान छ । 

रंगशाला निर्माणका लागि करिब १५ अर्ब लागत आकलन गरिएको छ । जहाँ ७० हजार दर्शक क्षमता हुनेछ । क्रिकेट, फुटबल, कराँतेसहित सातवटा खेल खेल्न मिल्ने रंगशाला बनाउने योजना छ । सुदूरपश्चिम सरकारले आर्थिक वर्ष ०७६/७७ देखि हरेक वर्ष बजेट विनियोजन गर्दै आए पनि संघीय सरकारले गत २६ वैशाखमा मात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो । दशकअघि नै ‘ड्रिम फाप्ला’ अभियान घोषणा गरिएको थियो । रंगशाला निर्माणका लागि सरकारले फाप्लामा साढे ३८ बिघा जग्गा भोगाधिकार दिने निर्णय पनि गरिसकेको छ ।

तत्कालीन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीसमेतको सहभागितामा गत २९ असारमा धनगढीमा बसेको पूर्वाधार निर्माण विकास समितिको बैठकले डिपिआर निर्माणको काम तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको थियो । तर, सरकारी प्राथमिकतामा नपर्दा डिपिआरका लागि बजेट विनियोजन भएन । 

नेपाल क्रिकेट संघका प्रदेश अध्यक्ष हरि रेग्मीले सरकारी प्राथमिकतामा नपर्दा रंगशाला र खेलग्राम निर्माणका प्रारम्भिक काम अगाडि बढ्न नसकेको बताए । ‘एक वर्षसम्म रंगशाला र खेलग्राम कस्तो बन्छ भन्ने नै यकिन छैन । छिट्टै बन्ला भन्ने हामीलाई विश्वास पनि छैन,’ रेग्मीले भने, ‘अहिलेकै गतिमा काम हुने हो भने २० वर्ष लाग्छ ।’ 

यसअघि संघबाट जग्गाको भोगाधिकार नपाउँदा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च नभएर फिर्ता जाने गरेको थियो । समितिको कार्यालय सञ्चालन र व्यवस्थापनका लागि सरकारले यस वर्ष एक करोड विनियोजन गरेको अध्यक्ष शाहीले बताए । धनगढीमा कार्यालय राखिएपछि त्यसअघि काठमाडौंमा राखिएको कार्यालय अहिले समितिको सम्पर्क कार्यालय बनाइएको छ ।

मैदान गौचरन बन्यो
विगतमा धनगढी प्रिमियर लिगजस्ता देशकै ठूला क्रिकेट प्रतियोगिता भएको फाप्ला मैदान गौचरन बनेको छ । सुदूरपश्चिम सरकारको ६० लाख लगानीमा मैदानवरिपरि तारबार गरिए पनि संरक्षण हुन सकेको छैन । ‘मैदान गौचरन बनेको छ । फुटबल त्यहीँ खेलिन्छ । मान्छेले मोटरसाइकल त्यहीँ सिक्छन् । सुरक्षा छैन,’ गत महिना फाप्लामा विद्यालयस्तरीय लिटल फ्लावर राष्ट्रिय प्रिमियर लिग आयोजना गरेको लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले भने, ‘संरक्षण नहुँदा प्रतियोगितापिच्छे मैदान बनाउनुपर्छ ।’  

हेटौँडामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाउन डिपिआर तयार, काम सुरु भएन

हेटौँडामा पनि क्रिकेट रंगशाला बनाउन डिपिआर तयार छ । तर, निर्माण कार्य अलपत्र छ । हेटौँडा उपमहानगरपालिका– ६ गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानभित्रै क्रिकेट रंगशाला पनि बनाउने योजना छ । 

गौरीटार क्रिकेट रंगशालाको डिपिआर तयार भएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले बताए । २३ बिघा क्षेत्रफलमा क्रिकेट रंगशाला निर्माणका लागि ८० करोडको लागत अनुमान गरिएको उनले बताए ।

प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने क्रिकेट रंगशालाका लागि आगामी वर्षको बजेटबाट रकम छुट्टिने र टेन्डर निकालेर साउनबाटै काम सुरु गर्ने सदस्यसचिव भण्डारीको दाबी छ । ‘स्मार्ट इन्जिनियरिङ एन्ड डिजाइन सलुसन प्रालिले तयार पारेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकेका छौँ । सरकारले सोहीअनुसार बहुवर्षीय योजनाअन्तर्गत आगामी बजेटबाट रकम छुट्याउने सहमति भएको छ,’ उनले भने ।

भण्डारीका अनुसार रंगशालामा २५ हजार दर्शक क्षमताका चारवटा प्यारापिट बन्नेछन् भने मैदानमा तीनवटा पिच, भिभिआइपी र भिआइपी कक्ष, प्लेयर बक्स, चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना बन्नेछन् ।

गौरीटार केन्द्रीय खेलकुद प्रतिष्ठान रंगशालाभित्र क्रिकेट रंगशालासँगै फुटबल स्टेडियम, स्विमिङ पुल, एथ्लेटिक्स, कभर्ड हललगायतका संरचना निर्माण कार्य भइरहेका छन् । 

धरानमा बल्ल डिपिआर
सुनसरीको धरानमा निर्माणाधीन क्रिकेट रंगशालाले गति लिन सकेको छैन । धरान उपमहानगरपालिका– १५ स्थित बाझगरा सामुदायिक वन क्षेत्रमा भक्तराज कन्दङ्वा क्रिकेट मैदानको बल्ल डिपिआर बनेको छ । 

एक दशकअघि स्थानीयले सुरु गरेको भक्तराज कन्दङ्वा क्रिकेट मैदान निर्माणको काम कोसी सरकारले ७० लाख विनियोजन गरेर थालेको थियो । तर, पछिल्लोपटक प्रदेश सरकारले बजेट विनियोजन गर्न नै छाडेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार खेलमैदानमा तारजालीले घेरबार, ड्रेन निर्माणलगायत काम मात्र भएको छ । आगामी आर्थिक वर्षमा प्रदेशसँग बजेट माग गर्ने वा नगर सभाबाटै बजेट विनियोजन गर्ने योजना रहेको उनले सुनाए ।

तर, सो मैदानमा बनेको ड्रेन तथा अन्य केही काम पनि मापदण्डअनुसारको नरहेको जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । क्रिकेटसँग सम्बन्धित व्यक्ति तथा प्राविधिकसँग सल्लाह नगरी गरिएका सो काम मापदण्डअनुसारको नरहेको उनको भनाइ छ । उनका अनुसार सो मैदानमा पाँच हजार दर्शक क्षमतासहितको भौतिक संरचना निर्माण गर्न सकिन्छ ।

इटहरीमा क्रिकेट मैदान कि पार्क

इटहरी उपमहानगरपालिका– ९ स्थित डिभिएम स्कुलछेउको मैदानलाई क्रिकेट मैदान बनाउने भनिएको थियो । यहाँ आठ वर्षदेखि क्रिकेट प्रतियोगिता भइरहेका थिए ।

तर, गत मंसिरमा इटहरी नगरपालिकाले जनता पार्क बनाउने भन्दै ठेक्का लगाएपछि विवाद बढेको छ । मैदानको अगाडि पार्कको बोर्ड लगाइएको छ । हाल जिल्ला क्रिकेट संघ, क्रिकेटका सरोकारवालाको अनुरोधपछि क्रिकेट मैदान अन्यत्र नबनुन्जेलसम्म आंशिक पार्क बनाउन सहमत भएको छ । क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपी पौडेलका अनुसार अन्यत्र क्रिकेट मैदान नबनुन्जेल सो मैदानलाई नै क्रिकेटका लागि उपयोग गर्ने र आंशिक पार्कको काम हुनेछ । उपहानगरले जनता पार्क बनाउन ०७८ पुसमा ठेक्का लगाएको थियो । तर, ०८० असारमा सक्नुपर्ने काम अझै अगाडि बढेको छैन ।

कोहलपुरमा क्रिकेट मैदान लागि दुई करोड विनियोजन, तर अझै टेन्डर भएन

बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन खेलकुद मन्त्रालयले दुई करोड विनियोजन गरेको छ । चालू आर्थिक वर्ष ०७९/८० को आठ महिना बित्दा पनि टेन्डर नै आह्वान हुन सकेको छैन । चार बिघा १९ कट्ठामा क्रिकेट मैदान बनाउने भनिए पनि हरेक वर्ष बजेट फ्रिज हुने गरेको छ । 

जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराई भने बजेट विनियोजन भएको जानकारीमा आए पनि संचरना निर्माणका लागि कुनै समन्वय नभएको बताए । 

संघबाट विनियोजन भएको रकमबाट काम हुने सम्भावना नदेखेपछि कोहलपुर नगरपालिकाले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न क्रिकेट मैदानमा पिच बनाउन थालेको छ । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएको पिच भत्काएर अर्को बनाउन थालेको मेयर पूर्णप्रसाद आचार्यले बताए । 

क्यानले राष्ट्रियस्तरको प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा गर्ने आश्वासन दिएपछि त्यसका लागि बजेट विनियोजन गरेको उनले बताए । ‘क्यानले यस आर्थिक वर्षमा छात्र या छात्रा क्रिकेट राष्ट्रिय प्रतियोगिता गर्ने आश्वासन दिएको छ । त्यसका लागि ३० लाख विनियोजन गरेका छौँ । उक्त रकममध्ये १० लाखमा पिच बनाउँदै छौँ,’ उनले भने । 

नगरपालिकाले रकम दिएपछि मध्यपश्चिम क्रिकेट क्लबले क्रिकेट मैदानमा दुईकोठे चेन्जिङ रुम, दुई कोठाको बाथरुम र टिकट घर निर्माण गरेको छ । उक्त क्बले तारजालीले बाउन्ड्री र समरसेल (बोरिङ)समेत गाडेको मध्यपश्चिम क्रिकेट क्लबका उपाध्यक्ष संगीन शर्माले बताए । 

उनले जमिन संरक्षणका लागि तारजाली र खोलाबाट जोगाउन तटबन्धन गरिएको बताए । उक्त क्रिकेट मैदानमा मुख्य प्रवेशद्वारसमेत निर्माण भइसकेको छ । ‘प्यारापिटबाहेक आवश्यक पर्ने संरचना निर्माण भइसकेको छ,’ शर्माले भने । 

कर्णालीमा क्रिकेटको एउटै रंगशाला छैन, बल्ल जग्गा खोज्न समिति गठन
क्रिकेट रंगशाला नभएको कर्णाली प्रदेशमा बल्ल जग्गा खोज्नका लागि समिति गठन गरिएको छ । सातै प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने सरकारी योजनाअनुसार कर्णाली प्रदेश खेलकुद समितिले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा खोज्न थालेको हो । 

जग्गा खोज्न समिति गठन गरिएको कर्णाली खेलकुद विकास समितिका सदस्यसचिव विश्वामित्र सन्ज्यालले बताए । ‘हाम्रो आफ्नै जग्गा छैन, जग्गा खोज्न समिति बनाएका छौँ,’ उनले भने, ‘एक महिनाभित्र जग्गा खोजेर प्रतिवेदन बुझाउन भनिएको छ । त्यसपछि रंगशाला निर्माणको टुंगो लाग्छ ।’ कर्णालीमा क्रिकेटका लागि हाल एउटा सामान्य रंगशाला रहेको त्यसैलाई प्रयोग गरिरहेको उनले बताए । ‘जग्गा नभएकाले रंगशाला बनाउने पहल नै हुन सकेको छैन,’ उनले भने, ‘जग्गा नभएपछि बजेट हुने कुरै भएन ।’ 

हाल कर्णालीमा पुरुष क्रिकेट खेलाडी मात्र छन् । उनीहरू पनि प्रदेशबाहिर गएर प्रशिक्षण लिन बाध्य छन् । नेपाल क्रिकेट संघ (क्यान)ले कर्णालीमा क्रिकेटको विकासका लागि गत १५ र १५ फागुनमा वार्षिक साधारणसभा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गरेको थियो । ‘कर्णालीमा महिला क्रिकेटको टिम नै छैन,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘पुरुष क्रिकेट टिम पनि बाहिर गएर प्रशिक्षण गर्न बाध्य छ ।’

बैतडीमा लोकेश साउद, भैरहवामा दीपेश पछाई, पोखरामा रोहितराज पराजुली, विराटनगरमा गणेश लम्साल, धनगढीमा तेजराज भट्ट, मकवानपुरमा पोष्टराज अधिकारी, इटहरीमा आरबी कटवाल, बाँकेमा विश्वराज पछल्डङ्ग्या, सुर्खेतमा रमेश रावल