मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ७ मंगलबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैदीबन्दीलाई तीनमहिने सीप विकास तालिम 

Read Time : < 1 मिनेट
२०७९ चैत ७ मंगलबार १०:२२:००

ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकास तालिम दिएको छ । कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महानगरले तालिम दिएको हो । 

पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दीमध्ये ६० जनाले तालिम लिँदै छन् । उनीहरूलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम तीन महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ । सोमबार तालिमको उद्घाटन गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले नख्खु कारागारमा रहेका सबैलाई चरणबद्ध रूपमा तालिम दिने बताए ।

तालिमपछि आर्थिक रूपमा अत्मनिर्भर बन्दै कारागारबाट बाहिरिँदा उनीहरूले सीपसहित निस्कने विश्वास व्यक्त गरे । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले घटना वा दुर्घटनाका कारण कैदमा रहे पनि आत्मविश्वास बढाउन तालिमले सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘हातमा सीप भए परनिर्भरता हट्छ, सीपलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सकिन्छ ।’

कारागार प्रशासकका अनुसार नख्खुमा एक हजार चार सय ५६ जना कैदीबन्दी छन् । यो संख्या स्थानान्तरणका कारण दिनैपिच्छे थपघट भइरहन्छ । कारागारमा भएकामध्ये एक सय एकजना विदेशी कैदी छन् ।

ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले हिजो, आज र भोलिको जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कैदीबन्दीको बाँकी जीवनलाई उल्लासमय र रचनात्मक बनाउन महानगरले तालिम आयोजना गरेको बताए ।