
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् ।
उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रवीण पौडेलले बताए । उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयको तर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए ।
उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यादव यही ३ चैतमा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । त्यसैबीच उपराष्ट्रपति यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् । उपराष्ट्रपति धनखरले सामाजिक सञ्जाल ट्विटरमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् ।