मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राजुरमण पौडेल
२०७९ चैत ५ आइतबार १०:२८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मर्जरले बिमा क्षेत्रलाई दिने लाभ

Read Time : > 4 मिनेट
राजुरमण पौडेल
२०७९ चैत ५ आइतबार १०:२८:००

धेरैवटा बिमा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेकोमा मर्जरपछि कम्पनीको संख्या घट्न गई अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुनेछ 

साढे सात दशकको इतिहास बोकेको बिमा क्षेत्रमा जीवन बिमा कम्पनी संख्या १९ र निर्जीवन बिमा कम्पनीको संख्या २० पुगेको थियो । ००४ सालमा नेपाल बैंकले नेपाल माल चलानी तथा बिमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बिमा व्यवसाय सुरु गरेको थियो । हाल त्यो नेपाल इन्स्योरेन्स कम्पनीको नाममा सञ्चालित छ । ०२५ मा राष्ट्रिय बिमा संस्थान स्थापना भएपछि जीवन बिमा व्यवसाय पनि सुरु भयो । त्यसलगत्तै बिमा क्षेत्रको नियमन गर्ने गरी बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) पनि स्थापना भयो । 

यसरी सुरु भएको बिमा क्षेत्र हालसम्म आउँदा अर्थतन्त्रकै अभिन्न अंग बनेको छ । तर, भौगोलिक र बजारको आधारमा भने नेपालमा बिमा कम्पनीको संख्या धेरै भएको महुसस भइसकेको थियो । भारतलगायत देशको तुलनामा नेपालमा बिमा कम्पनीको संख्या बढी नै थियो । यसैगरी, बढ्दो व्यवसायसँगै बिमा कम्पनीहरूको चुक्तापुँजी पनि बढाउनुपर्ने दबाब थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै नियामक निकाय नेपाल बिमा प्राधिकरणले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी बढाउने नीति ल्यायो । हाल जीवन बिमा कम्पनीको २ अर्ब रूपैयाँ र निर्जीवन बिमा कम्पनीको १ अर्ब रूपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी चैत मसान्तभित्र जीवन बिमा कम्पनीले ५ अर्ब रूपैयाँ र निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने हाम्रो निर्देशन छ । 

व्यवसायको आकार बढ्दै गएका वेलामा पुँजी बढाउनुपर्ने समयको आवश्यकता थियो । साथै, कम्पनीको संख्या बढी हुँदा मर्जर गराउनुपर्ने पनि दबाब थियो । त्यसपछि हामीले पुुँजी वृद्धि गर्ने र मर्जर गर्ने नीतिसँगसँगै अगाडि बढायौँ । त्यसपछि बिमा कम्पनीहरूले मर्जर भएर एकीकृत कारोबार थालेका छन् । 

मर्जर बिमामा नयाँ अभ्यास थियो । साथै, बिमा कम्पनीहरू मर्ज गर्न अन्य कम्पनीजस्तो सहज थिएन । फरक–फरक जोखिमको व्यवसाय गर्दै आएका बिमा कम्पनी मर्ज गर्न चुनौती भए पनि त्यो सफल भइरहेको छ । हालसम्म १२ निर्जीवन बिमा कम्पनी ६ वटा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । त्यसमा ८ निर्जीवन बिमा कम्पनी ४ वटामा कायम भएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । यसका अलावा अन्य ४ कम्पनी मर्जरको प्रक्रियामा छन् ।

यस्तै, जीवन बिमातर्फ नौ कम्पनी चारवटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । प्रक्रियामा रहेका सबैको मर्जर सफल भएपछि जीवन र निर्जीवन बिमा कम्पनीको संख्या १४–१४ वटा हुनेछ । साथै, अन्य कम्पनी पनि मर्जरको योजनामा छन्, त्योअनुसार बिमा कम्पनीको संख्या थप घट्नेछ । 

मर्जरपछि पुँजी र लगानीयोग्य रकम पनि बढेको छ । त्यसअनुसार अब बिमा कम्पनीहरूले बढी प्रतिफल दिने क्षेत्र पूर्वाधार, ऊर्जा या घरजग्गामा लगानी बढाउन सक्छन् । त्यसपछि कम्पनीहरूको आम्दानी पनि बढ्छ र लगानीकर्ताले पाउने प्रतिफलका साथै बिमितले पाउने बोनस दर पनि बढ्नेछ । 

नेपालमा कम्पनीको संख्या बढी हुँदा बजारमा अस्वाभाविक रूपमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको थियो । बिमा कम्पनी बढी सहरकेन्द्रित थिए । त्यसमाथि सीमित क्षेत्रमा सीमित व्यवसायको पछि लाग्दा सस्तो मूल्यमा समेत बिमा गर्न थालेका थिए । सस्तो मूल्यमा बिमा गर्दा विदेशी पुनर्बिमा कम्पनीले हाइड्रोपावर आयोजनाको पुनर्बिमा लिनै मानेका थिएनन् । अन्त्यमा प्राधिकरणले हाइड्रोपावर बिमाका लागि न्यूनतम मूल्य नै तोक्नुपर्ने अवस्था आयो । यो एउटा अस्वस्थ प्रतिस्पर्धाको उदाहरण थियो । यसरी कम्पनीको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढी भइरहेको थियो । अब कम्पनीको संख्या घट्ने भएसँगै अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित हुने अपेक्षा गरिएको छ । 

यस्तै, मर्जरपछि कम्पनीको चुक्तापुँजीसँगै बिमा कोष, जगेडा कोषलगायतका अन्य सूचकको आकार पनि बढेको छ । त्यसले समग्र बिमा क्षेत्रमा बहुआयामिक रूपमा फाइदा हुनेछ । बिमा व्यवसाय गर्न ब्याकअपका लागि चुक्तापुँजी महŒवपूर्ण हुन्छ । किनकि, हामीकहाँ जोखिममा आधारित चुक्तापुँजी हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छैन । तर, बिमा व्यवसाय बढी रहँदा बिमा कम्पनीहरूसँग त्योअनुसार चुक्तापुँजी भने बढेको थिएन । मर्जरसँगै बिमा कम्पनीको चुक्तापुँजी बढ्दै छ भने व्यवसाय क्षमतासमेत बढेको छ । बिमा कम्पनीको पहुँच सबै जिल्लामा र अभिकर्ताको पहुँच सबै स्थानीय तहमा पुगेको छ । तर पनि दुर्गम ठाउँमा आवश्यकताअनुरूप बढ्न सकेको थिएन । एउटा कारण कम्पनीको पुँजीगत क्षमता पर्याप्त नहुनु पनि थियो । किनकि, दुर्गम ठाउँमा व्यवसाय विस्तार गर्दा लागत बढी लाग्छ । त्यो अवस्थामा पहिला बिमा कम्पनीलाई दुर्गम ठाउँमा सेवा विस्तार गर्न पुँजीगत रूपमा चुनौती थियो । तर, मर्जरपछि कम्पनीको पुँजीगत क्षमता र विस्तार बढेको छ । 

यसैगरी, बिमा कम्पनीको जोखिम धारण गर्ने क्षमता पनि बढ्छ । बिमा कम्पनीहरूले आफूले लिएको सबै जोखिम आफैँले धारण गर्न सक्दैनन् । बिमाको सिद्धान्तअनुसार सबै जोखिम आफैँले राख्न पनि हुँदैन । भविष्यमा भूकम्प, महामारीजस्ता कारणले ठूलो दाबी परे कम्पनी एक्लैले भुक्तानी गर्न सक्दैनन् । त्यसो भएमा कम्पनी टाट पल्टिने सम्भावना पनि हुन्छ । सोहीअनुसार कम्पनीहरूले आफूले धारण गर्न सक्ने जोखिम राखेर बाँकीको पुनर्बिमामार्फत स्वदेशी तथा विदेशी पुुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । अब कम्पनीको जोखिम धारण गर्ने क्षमता बढेसँगै कम्पनीहरूले पुनर्बिमालाई हस्तान्तरण गर्ने जोखिमको अनुपात पनि घटाउँछन् । त्यसले बिमा कम्पनीकै व्यवसाय बढाउन सहयोग पुग्छ । साथै, पुनर्बिमामार्फत बाहिरिने रकमसमेत घट्छ । यसका अलावा नेपाली बिमा क्षेत्रप्रति विदेशी पुनर्बिमाको विश्वास पनि बढ्छ । 

नेपाली बिमा कम्पनीहरूले पुनर्बिमा कम्पनीलाई बढी अनुपातमा जोखिम हस्तान्तरण गर्दा उनीहरूको नेपालप्रति त्यति राम्रो दृष्टिकोण छैन । उनीहरूले नेपाललाई बिमा व्यवसायका लागि जोखिमयुक्त देश मानिरहेका हुन्छन् । तर, अब हाम्रो जोखिम धारण गर्ने क्षमता बढ्दा विदेशी पुनर्बिमा कम्पनीको विश्वास पनि बढ्ने अनुमान छ । 

यस्तै, दुईभन्दा बढी कम्पनी एकै ठाउँ हुँदा वित्तीय सूचक पनि बढ्छन् । साथै, फरक–फरक सिप तथा क्षमता भएका कर्मचारी (जनशक्ति) पनि एकै ठाउँमा आउन पाउँछन्, जसले गर्दा नयाँ ढंगले कम्पनीले काम गर्न सक्छन् । अनुसन्धानात्मक र इनोभेटिभ काम गर्न सक्छन् । फलस्वरूप बिमा क्षेत्रमा नयाँ सिनर्जी आउँछ ।

मर्ज भएपछि कुनै न कुनै रूपमा जनशक्ति बढी हुन सक्छ । तर, हामीले तत्काल कर्मचारी कटौती गर्न नदिने नीति ल्याएका छौँ । अब कम्पनीले त्यो जनशक्तिलाई अनुसन्धानमूलक तथा इनोभेटिभ काममा परिचालन गर्न सक्छन् । साथै, बजारको आवश्यकता तथा भौगोलिक बनावटलाई सुहाउँदो इनोभेटिभ प्रडक्ट ल्याउन पनि सक्नेछन्, जसबाट ग्राहकले पनि भनेजस्तो सेवा पाउनेछन् । 

चुुक्तापुँजी, बिमा कोषलगायतका सूचक बढेसँगै अब कम्पनीको लगानी गर्ने क्षमता बढ्नेछ । हालसम्म बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजी बढी मात्रामा बैंकको मुद्दती निक्षेपमा राख्दै आएका छन् । जोखिमको व्यवसाय गर्ने भएकाले कम्पनीहरूले चाहेर पनि अन्य क्षेत्रमा लगानी बढाउन सकेका थिएनन् । किनकि, कुनै पनि दाबी पर्दा कम्पनीले भुक्तानी त दिनैपर्छ । 

त्यो अवस्थामा कम्पनीले जोखिम कम हुने र तत्काल प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्ने बाध्यता थियो । तर, अब कम्पनीहरूको पुँजी बढेसँग लगानीयोग्य रकम पनि बढेको छ । त्योअनुसार अब बिमा कम्पनीहरूले केही केही न अनुपातमा बढी प्रतिफल दिने क्षेत्र (पूर्वाधार, ऊर्जा, घरजग्गा) मा लगानी बढाउन सक्छन् । त्यसपछि कम्पनीहरूको आम्दानी पनि बढ्छ । र, लगानीकर्ताले पाउने प्रतिफलका साथै बिमितले पाउने बोनस दर पनि बढ्नेछ । 

सूचना प्रविधि (आइटी)मा समेत कम्पनीको लगानी गर्ने क्षमता बढेको छ । सूचना प्रविधिमा स्वाभाविक रूपमा लगानी बढी लाग्छ । लगानी बढी लाग्ने भएकै कारण बिमा क्षेत्रमा अझै ग्राहकमैत्री प्रविधिको विकास भइसकेको छैन । तर, अब कम्पनीको क्षमता बढेसँगै ग्राहकमैत्री प्रविधिको विकास हुने अपेक्षा गरेका छौँ । समग्रमा मर्जरका कारण बिमा क्षेत्रको जोखिम धारण गर्ने क्षमता बढ्ने, प्रतिफल बढ्ने, बोनस दर बढ्ने, प्रविधिको विकास हुने, बजार विस्तार हुने, अस्वस्थ प्रतिस्पर्धा निरुत्साहन हुने विश्वास गरिएको छ । नेपालप्रति विदेशी पुनर्बिमा कम्पनीहरूको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । 

खासमा, पुँजीगत तथा वित्तीय रूपमा मात्रै नभएर कम्पनी प्राविधिक रूपमा पनि बलियो हुँदै छन् । मर्जरले बिमा कम्पनीलाई धेरै पाटोबाट फाइदा दिन्छ । तर, अब कम्पनीहरूले आफूलाई कसरी अगाडि बढाउने, त्यो उनीहरूकै हातमा छ । हामीले नीतिगत रूपमा मार्गदर्शन मात्रै गरेका हौँ । 

पौडेल नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक हुन् ।