मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार १७:४५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विमलको ‘दि डिपार्टेड डाउन’ भारतमा थिएटर अवार्डको चार विधामा मनोनीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १७:४५:oo

विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ ।

विमलकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी र लाइट गरी ४ विधामा मनोनयनमा परेको हो । विमल स्वयं पनि निर्देशन विधामा मनोनयनमा परेका छन् । 

भारतभर मञ्चन हुने नाटकहरूमध्ये उत्कृष्ट नाटकका विभिन्न विधामा प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४९५ मध्येबाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका १० नाटक यही मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुनेछन् ।
 
जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको बताएका छन् । ९ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको, तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रुपान्तरण गरेको उनको भनाइ छ ।

नाटककार सुवेदीले नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको र आफूले लेखन तथा निर्देशन गरेको नाटक भारतभरका नाटकमध्ये उत्कृष्ट १० मा पर्नाले आफू त्यो अभियानमा एक कदम अघि बढेको महसुस भएको बताएका छन् । 

‘यो उपलब्धि समग्र नेपाल र नेपाली रंगमञ्चका लागि गर्वको विषय हो । नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ विमल भन्छन् ।

पर्फमिंग आर्टका विभिन्न विधामध्ये विश्वभर नै सिनेमाका विधामा प्रशस्त अवार्ड हुने गरेका छन् । तर नाटकमा भने यस्ता कार्यक्रम न्यून हुन्छन् । यसरी न्यून हुने प्रतियोगितामा नेपाली कथा अन्तिम प्रतिस्पर्धामा पुग्नु दुर्लभ अवसर भएको पनि उनको ठम्याइ छ ।

नेपाली भाषी भुटानीको पीडा बोल्ने नाटक अन्तर्राष्ट्रिय मञ्चमा मञ्चन हुनुले यो समुदायको दबाइएको आवाजलाई अझ बुलन्द गर्नेमा उनी विश्वस्त सुनिए ।  

विमलले यो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन् । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदैछ ।

विमल सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामाको हलमा मञ्चन भएको थियो । विमलले लेखन तथा निर्देशन गरेका नाटक नेपाल भारत, चीन, पाकिस्तान, थाइल्यान्डसहित बेलायत र युरोपका विभिन्न देशमा मञ्चन भइसकेका छन् ।

विमलले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए । उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन् । उनले सन् २०२२ मा मलेसियामा  इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका छन् ।